After SEE Portal

धमाधम नयाँ कार्यक्रम भित्र्याउँदै केयु

Bridge Course

नेपालका विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दै गइरहेकाे अवस्थामा काठमाडौं विश्वविद्यालय (केयु) ले भने धमाधम नयाँ कार्यक्रम भित्र्याइरहेकाे छ ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनले चालु शैक्षिक सत्रमा नै  स्नातकोत्तर तहमा मास्टर अफ इन्डिजिनियस एजुकेसन एण्ड डेभलपमेन्ट (एआइइडी)  कार्यक्रम सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रम सुरु भएको घोषणा केयुले गत वैशाख २० गते मात्र गर्यो । त्यसको केही दिन अगाडि मात्र एएलएम र एमईआइएलको कक्षा सञ्चालनमा ल्याएको थियो ।

धमाधम नयाँ कार्यक्रम भित्र्याइ रहेको केयुले  स्कुल अफ एजुकेसनमा  चालु शैक्षिक सत्रमा नै अर्को नयाँ कार्यक्रमका लागि भर्ना आवेदन माग गरेको छ । 

केयुले धेरैओटा कार्यक्रमलाई एकीकृत गर्दै मास्टर इन राइटिङ एण्ड लिट्रेसी स्टडिज (एमडब्लुएलएस) कार्यक्रम सुरु गरेको छ । भाषा शिक्षा विभागद्वारा यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

एमडब्लुएलएस कार्यक्रम् साक्षरताको सिद्धान्त र अभ्यासको लागि ठोस तालिम प्राप्त जनशक्ति उत्पादनका लागि अभिमुखीकरण गर्दै लेखनमा विशेषज्ञ उत्पादन गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको विभागीय प्रमुख सह प्राडा हेमराज काफ्लेले बताए ।

शिक्षामा फराकिलो आधारको अवधारणाको विकास गर्दै एमडब्लुएलएसले मानविकी, सामाजिक विज्ञान, व्यवस्थापन, लगायतका विषयवस्तुलाई एकीकृत गर्दै  प्रविधिमा लेखन र साक्षरता अभ्यासमा विषय एकीकृत गर्दछ।

यो कार्यक्रमबाट उत्पादित जनशक्तिले लेखक र सञ्चारकर्मीको रूपमा व्यावसायिक दक्षता र सिप विकास  हुने केयुको विश्वास छ ।

शिक्षा, अनुसन्धान, मिडिया, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, र सार्वजनिक सेवाहरू जस्ता विभिन्न क्षेत्रमा रोजगारी  पाउने गरी पाठ्यक्रम तयार गरिएको छ ।

एमडब्लुएलएस  कोर, विशेषज्ञता, व्यावसायिक, ऐच्छिक, र व्यावहारिक पाठ्यक्रमहरू समावेश गरी कुल ५४ क्रेडिट आवरको दुई वर्से कोर्स हो । यसभित्र कोर (दुई विषय)  ६, स्पेसलाइजेसन (६विषय) १८, प्रोफेसनलन (६ विषय) १८, इलेक्टिभ (१ विषय)  ३, प्राक्टिकल ३ कोर्सेस) का लागि ९ क्रेडिट आवर छुट्याइएको छ ।

यसका कोर्समा इन्टर्नशिप, अनुसन्धान परियोजनाहरू र शोध प्रबंध लेखन समावेश गरिएको छ। लिखित र साक्षरतामा दक्ष जनशक्ति बजारमा अभाव देखिएको हुँदा यो डिग्रीको तयारी गरेको विश्वविद्यालयले जानकारी दियो ।

शिक्षा, पत्रकारिता, आमसञ्चार, अनुसन्धान, अनुवाद, सामग्री लेखन र प्रकाशन गृहहरूका लागि सम्पादन जस्ता विषयहरूमा विस्तृत लेखन क्षेत्रमा यसले विषषज्ञता प्रदान गर्छ । यो कार्यक्रममा भर्ना हुनका लागि स्नातक तहका जुनसुकै विषयमा पनि २.५ सीजीपीए ल्याएको हुनुपर्ने छ । 

A Levels MA
Thuprai - Books and E-books