CMAT

काठमाडौंले मानविकी र शिक्षामा छात्रवृत्ति दिने विद्यार्थी नपाउने निश्चित

काठमाडौं महानगरपालिकाले  शैक्षिक सत्र २०८१–८२ मा प्रदान गर्ने छात्रवृत्ति मध्ये मानविकी र शिक्षा विषयमा सिट अनुसार विद्यार्थी नपाउने निश्चित देखिएको छ ।

महानगरको कुल छात्रवृत्ति सिट ४ हजार ६२९ मध्ये शिक्षा विषयका लागि ७०  वटा सिट छुट्याएको छ । तर आज लिएको छात्रवृत्ति छनोट परीक्षामा सो समूहमा परीक्षा दिने विद्यार्थी  ३७ जना मात्र पाइएको छ ।

१७३ जनाले मानविकी विषयमा छात्रवृत्ति पाउँने गरी सिट विभाजन गरिएको छ । यो विषयमा आवेदन दिनेको संख्या भने १३ जना मात्र रहेको महानगरपालिका प्रमुख बालेन शाहको सचिवालयले जनाएको छ । मानविकीमा १६० र शिक्षामा ३३ सिट खाली हुने देखिएको छ ।

त्यसैगरी १३६ जनाले कानुन विषयमा छात्रवृत्ति पाउँछन् । यो विषयका लागि  लागि १५३ जनाले आवेदन दिएका छन् ।

सवैभन्दा धेरै सिट व्यवस्थापनमा

यो वर्ष सबै भन्दा धेरै अर्थात् २४ सय ९३ जना विद्यार्थीले व्यवस्थापन विषयमा छात्रवृत्ति पाउनेछन् । यो  विषयका लागि २ हजार ५८१,जना विद्यार्थीले परीक्षा दिएका छन् ।

यस्तै १ हजार ७५७ जनाले विज्ञान विषयमा छात्रवृत्ति पाउँछन् सो  विषयमा परीक्षा दिनेको संख्या ८ हजार ४९७, रहेको महानगरपालिका  प्रमुखको सचिवालय सल्लाहकार सस्मित पोखरेलले जानकारी दिए ।

९० प्रतिशत परीक्षामा सहभागी

तस्विर : विनय शाक्य 

काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको कक्षा ११ को छात्रवृत्ति छनोट  परीक्षामा ९० दशमलव शून्य २ प्रतिशत विद्यार्थी सहभागी भएका छन् ।

आज विहान ३८ वटा परीक्षा केन्द्रमा सञ्चालन गरिएको परीक्षामा आवेदक ११ हजार ८७१ जना विद्यार्थीहरू मध्ये सो मात्रामा परीक्षामा सहभागी भएका हुन् । आवेदक मध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो । छात्रवृत्ति प्राप्त गर्ने योग्यता देखिने कागजपत्र प्राप्त नभएका आवेदन अस्वीकृत भएका हुन् । 

आज भएको परीक्षा दुई जना विद्यार्थीको परीक्षा रद्द गएिको  २ जनाको परीक्षा रद्द गरिएको महानगरले जानकारी दियो ।  नतिजा आइतबार नै सार्वजनिक गर्ने महानगरले जानकारी दियो ।

महानगरपालिका भित्रका शिक्षण संस्था

महानगरपालिका क्षेत्रभित्र ३९० वटा संस्थागत शिक्षण संस्था सञ्चालनमा छन् । जसमध्ये १०४ वटा विद्यालयमा विज्ञान विषय, १७० वटामा व्यवस्थापन, ४७ वटामा कानुन, १८ वटामा शिक्षा र ५१ वटा विद्यालयमा मानविकी विषय अध्यापन हुने गरेको छ ।

परीक्षाको पाठ्यक्रम

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अङ्ग्रेजी विषयबाट ३०–३० नम्बरका प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधेको थियो ।

अनलाइन आवेदन

छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवेदन दिन महानगरपालिकाले असार १५ गते विहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको थियो । सो प्रणालीबाट असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन लिइएको थियो ।

पोखरेलका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीले प्रवेश परीक्षा प्राप्त गर्दा जुन विधि अपनाएका थिए, त्यही विधिबाट नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ । महानगरपालिकाले समग्र योग्यताको सूची पनि प्रकाशन गर्ने जनाएको छ । 

Thuprai - Books and E-books