‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल, सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल’ भने जस्तै अनेकौं प्रतिकुलताका बाबजुद सोलुखुम्बुको एउटा विद्यालय हिमालको लालिगुरास जस्तै ढकमक्क फूलेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका –४ मा अवस्थित खुम्जुङ माध्यमिक विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयमा गनिन्छ ।
प्रतिकूल मौसम तथा भौगोलिक विकटताका बिच विद्यालय नियमित लाग्छ । ल्होसार र शनिवार बाहेक यो विद्यालयमा कहिल्यै बिदा हुँदैन तर कोरोना भाइरसको विश्वव्यापी स्क्रमणका कारण विगत ५० दिन अघिदेखि विद्यालय बन्द छ । विद्यार्थी तथा अभिभावकले विद्यालय कहिले खुल्छ भनेर बारम्बार सोधिरहेका छन् । हिमालय ट्रस्ट र अन्य मध्यवर्ति संस्थाको सहयोगमा विद्यालयका भवन भूकम्प प्रतिरोधी तथा न्यानो कक्षाकोठा निर्माण गरिएको छ ।
२०१८ सालमा स्थापना भएको विद्यालयमा २०६८ देखि अङ्ग्रेजी भाषामा पठनपाठन हुँदै आएको छ । स्थानीय मातृभाषा अन्तर्गत शेर्पा भाषाको पढाइ हुन्छ । कक्षाकोठा प्रविधिमैत्री छन् । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पढ्नका लागि पर्याप्त सहयोगी तथा शैक्षिक सामग्रीहरु कक्षाकोठामा नै राखिएको छ । विद्यालयमा सुविधा सम्पन्न इ–लाइबे्ररी छ । त्यहाँ झन्डै ४ हजार पुस्तक छन् । पुस्तकालय भवन छुट्टै बनाइएको छ । सो भवनमा ४० हजारभन्दा बढी पुस्तकहरु छन् । दाता तथा शिक्षक स्वयंले विद्यालयमा पुस्तक व्यवस्थापन गर्ने गर्छन् ।
राजधानीका निजी विद्यालयमा पढ्दै गरेका विद्यार्थीसमेत यहाँ भर्ना हुन गएका छन् । ‘बाहिर हिमपात हुन्छ, हामी कक्षामा पढाइ रहन्छौँ, इसीडीमा दुई–तीन वटा हिटर छन् । माथिल्लो कक्षामा त्यसको पनि व्यवस्थापन हुन सकेको छैन,’ प्रधानाध्यापक शुम्भुप्रसाद बास्तोला भन्छन्, ‘हाम्रो विद्यालयको वातावरण पारिवारिक छ, प्रविधिमैत्री शिक्षण सिकाइका कारण २० प्रतिशत छात्रछात्रा काठमाडौंका निजी विद्यालयबाट फर्किएर हाम्रो स्कुलमा आएका छन् ।’
विद्यालयमा हाल ३३१ (छात्र १६९, छात्रा १६२) विद्यार्थी अध्ययनरत छन् । विद्यालयको सिकाइ उपलब्धी प्राविमा ६९, निमाविमा ७१.५ र माविमा ५३.३४ प्रतिशत रहेको छ । कक्षा १० मा अध्ययनरत सम्पूर्ण विद्याथीलार्ई शैक्षिक सामग्रीका रुपमा ट्याबलेट प्रदान गरिएको छ । इन्टरनेटको पहुँचका कारण विद्यार्थीहरुले पाठ्यपुस्तक नभए पनि पाठ्यक्रमका आधारमा पढ्ने गरेको प्रधानाध्यापक बास्तोला बताउँछन् । उनी भन्छन्, ‘इ–लाइब्रेरीमा राखिएका पुस्तकहरु विद्यार्थीले ट्याबलेटमार्फत पढ्छन् ।’ गत वर्ष पनि कक्षा १० का ४२ जनालाई विद्यार्थीलाई ट्याबलेट प्रदान गरिएको थियो ।
विद्यालयमा हाल दरबन्दीअन्तर्गत शिक्षक १० कार्यरत छन् । जसमध्ये चार जना शिक्षिका छन् भने निजीस्रोतका ६ तथा इसीडीका १ गरी २१ जना शिक्षक कार्यरत छन् । निजी स्रोतमा कार्यरत शिक्षकलाई पनि दरबन्दीका शिक्षकलाई जस्तै सेवा सुविधा दिइएको छ । भौगोलिक विकटताका कारण शिक्षक टिकाउनै नसकेपछि ट्रस्टको आर्थिक सहयोगमा निजी स्रोतका शिक्षकलाई पनि दरबन्दीका शिक्षक सरह नै सेवा सुविधा प्रदान गर्ने गरिएको प्रधानाध्यापक बास्तोला बताउँछन् ।
कठिङ्ग्रने जाडो, बाक्लो हिउँका कारण विद्यालयमा विद्यार्थी टिकाउनु नै यो विद्यालयको मुख्य चुनौती हो । यसको दीर्घकालीन उपायका रुपमा विद्यालयले दुई वटा विकल्पको प्रयोग गरेको छ । अङ्ग्रेजी माध्यमबाट पठनपाठन र सुविधा सम्पन्न आधुनिक प्रविधिका न्यानो कक्षाकोठा भएका छात्रवास निर्माण गरिए पछि विद्यार्थीको आकर्षण बढेर गएको छ । छात्रावासमा आवश्यक सामग्री सहित किचन, डाइनिङ रुम र कुकको राम्रो व्यवस्था गरिएको छ । छात्रावासमा गुणस्तरीय खाना खुवाउन थालेपछि विद्यालयमा विद्यार्थीहरुको नियमितता बढेको विद्यालय व्यवस्थापन समितिले जानकारी दियो । प्रधानाध्यापक बास्तोला भन्छन्, ‘ट्रस्टले छात्रावास बनाइदिएपछि अहिले छात्रावासमा ८० जना विद्यार्थी बस्छन् ।’
सामाजिक रुपान्तरणमा विद्यालयले महत्वपूर्ण भूमिका खल्दै आएको छ । विद्यालयले विशेष समूदायका बालबालिकाका लागि पोसाक, सिकाइ सामग्री, तथा छात्रवृतिको व्यवस्था गरेको छ । छात्रावासमा सबै जातजातिका विद्यार्थी र शिक्षकहरु बस्छन् । यहाँ कसैले जातीय आधारमा छुवाछुत गर्दैन । बास्तोला भन्छन्,‘यहाँ सगैं बसौं, संगैं खेलौं र संगैं पढौं भन्ने समावेशी मान्यताको विकास गरिएको छ ।’
विद्यालय व्यवस्थापनमा अभिभावकको चासो बढेको छ । हरेक अभिभावकले आफ्ना छोराछोरीको प्रगति विवरण लिन आउने गरेका छन् । विद्यालयले पनि अभिभावक सचेतनाका लागि विभिन्न खालको चेतनामूलक कार्यक्रम संचालन गर्ने गरेको छ ।
गुणस्तरीय शिक्षाका लागि शिक्षकको शिक्षण विधि, ज्ञान सिप, दक्षता, लगनशीलता र प्रतिबद्धता महत्वपूर्ण हुन्छ । उचित वातावरणमा सहज, सरल र गुणात्मक सिकाइ गर्न शिक्षक विद्यार्थीमा समावेशी मान्यताको विकास हुनु पर्ने प्रधानाध्यापक बास्तोलाको धारणा छ ।
बालमैत्री विद्यालय निर्माणमा सबै सरोकारवालाहरुको दायित्व समान हुन्छ । यो विद्यालयका हरेक कक्षा कोठामा बाल केन्द्रित शिक्षण विधि अनुरुप पढाइने गरेको छ । कक्षा कोठामा शिक्षक सहजकर्ताका रुपमा मात्र प्रस्तुत हुन्छन् । प्रोजेक्टरबाट पढाइने हुँदा कक्षा कोठामा विद्यार्थी नै सक्रिय देखिने गरेको प्रधानाध्यापक बास्तोलाले बताए । विद्यालयमा ५० वटा कम्प्युटर छन् । हरेक कक्षामा सीसी क्यामेरा जडान गरिएको छ । विद्यालयले हरेक विद्यार्थीको निगरानी अफिसबाट नै गर्ने गरेको छ । प्रधानाध्यापक बास्तोला भन्छन्, ‘टाढैबाट गरिएको निगरानी प्रत्यक्षभन्दा प्रभावकारी हुँदो रहेछ, विद्यार्थी आफैं अनुशासित बन्दा रहेछन् ।’
कक्षा ६,७ र ८ मा ऐच्छिक कम्प्युटर पढाइने गरेको छ । भने १ देखि ६ मा मातृभाषाका रुपमा शेर्पा भाषा पढाइने गरेको छ । कम्तीमा हरेक विद्यालयले दशवर्षे दीगो विद्यालय व्यवस्थापन योजना बनाउनु पर्छ । योजनाअनुरुप कार्य संचालन गर्न सकेमा हरेक सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छन् । प्रधानाध्यापक बास्तोला भन्छन्, ‘स्थानीय सरकार, मध्यवर्ति क्षेत्र र हिमालयन ट्रष्ट जस्ता संस्थाहरुको सहयोगबाट हाम्रो विद्यालयलाई राम्रो विद्यालय बनाउन सफल भयौँ ।’