अब छिटै भव्य केशर पुस्तकालयमा अध्ययन गर्न पाइने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको केशर महलको यति बेला पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । आगामी फागुनसम्ममा पुनर्निर्माण सम्पन्न भइसक्ने छ र हाल टहरोमा राखिएको पुस्तकालयलाई भव्य भवनमा सारिनेछ ।
निर्माणको जिम्मा पाएको कम्पनी खानी निर्माण सेवाका आयोजना व्यवस्थापक नरकान्त सापकोटाले भौतिक प्रगति ९२ प्रतिशत पुगेको दावी गरे ।
“मुख्य भवनका भित्तामा रहेका पुरातात्विक महत्वका पेन्टिङलाई दुरुस्त गर्न बाँकी छ” उनले भने, “अन्तिम रङरोगन गर्न बाँकी छ । भवन बाहिर ल्यान्डस्केपिङका काम थोरै बाँकी छ । पार्किङमा ढुङ्गा छाप्ने काम भइरहेको छ । नाला व्यवस्थापनको काम बाँकी छ ।”
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सो भवनको पुनर्निर्माण कार्य २०७८ मङ्सिर मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने थियो । तर शिक्षा मन्त्रालयले त्यहाँभित्र रहेका कार्यालयहरु, कागजात लगायत सार्न ढिला गर्नुका साथै कोभिड–१९ को महामारीले निर्माण कार्यलाइ समस्या पारेको थियो ।
उनले आगामी फागुन मसान्तसम्ममा सरकारलाई भवन हस्तान्तरण गरिसक्ने गरी कार्य धमाधम भइरहेको बताए । पुनर्निर्माणको कार्य भ्याट बाहेक ५९ करोड रुपियाँमा गरिँदैछ । निर्माण कार्य जेड जिजिआर खानी जेभीले गर्दैछन् ।
केशर महलमा ६१ वटा कोठा छन् । पुनर्निर्माणका क्रममा उत्तरतर्फको भागको गारो प्रायः सबै नयाँ बनाइएको छ । नयाँ स्वरुपको भवनमा दुई स्थानमा आपतकालीन फलामे भर्याङ निर्माण गरिएको छ । अब त्यहाँ अलग नयाँ ट्रान्सफरमरबाट विद्युत उपलब्ध गराइनेछ । विद्युतको समस्या नहोस् भन्नका लागि २०० केभीको डिजल जेनेरेटर पनि ल्याइसकिएको छ ।
खानी निर्माण सेवाका इन्जिनियर सापकोटाले अब केशर महल भूकम्प प्रतिरोधी भएको बताए । “आवधिक मर्मत नियमित गरेमा अझै एक शताब्दी धान्छ” उनले थपे, “विगतमा भवन प्रयोग गरियो तर नियमित मर्मत सम्भार गरिएको पाइएन । नियमित मर्मत सम्भार गरिएन भने भवनको आयु घट्नुका साथै कमजोर हुँदै जान्छ ।”
पुनर्निर्माणका क्रममा हरेक भित्तामा १२ एमएम (मिलिमिटर)का फलामे पाताले ‘ज्याकेटिङ’ गरिएको छ । दलितमा सल्लाका काठ प्रयोग भएका कारण सबै कुहिएको वा मक्किएकाले ती सबैलाई फेरिएको छ । झ्याल ढोका आदिमा प्रयोग भएका सालका काठ प्रायः प्रयोगमा आएका छन् । विगतमा विद्युत वाइरिङ सतही थियो भने अब भित्रबाट गरिएकोले तार देख्न पाइँदैन ।
हरेक कोठाका सिलिङमा रहेको काठलाई छोप्न र आकर्षक देखाउन फलामे बुट्टेदार पाता प्रयोग गरिएकोमा ती प्रायः कुनै पनि काम लाग्ने स्थितिमा छैनन् । ती नयाँ बनाउनुपर्ने भएको छ । केशर महल निर्माण गर्दा ती बेलायतबाट झिकाइएका थिए र हरेक कोठामा फरक फरक बुट्टाका सिलिङ प्रयोग गरिएका थिए । उनले भारतबाट प्रविधि झिकाएर नेपालमै बुट्टेदार सिलिङ पाता तयार गरिने बताए ।
बगैँचामा लगाइने बत्ती (पोलार लाइट) इटलीबाट आयात गरिएको छ । एउटा बत्तीको करिब डेढ लाख रुपियाँ परेको र सबैको डेढ करोड रुपियाँ खर्च गरिएको उनले बताए ।
पुस्तकालयले मात्र सबै कोठा चर्चिने अवस्था छैन । राष्ट्रिय चिकित्सा आयोग पनि त्यहाँ सर्ने विषयमा छलफल भइरहेको छ । विगतमा सो भवनमा छात्रवृत्ति शाखा, नो अब्जेक्सन लेटर उपलब्ध गराउने शाखा आदि थिए । भवन पुनर्निर्माणका क्रममा ती अन्यत्र सारिएका छन् । ती पनि पुनर्निर्माण कार्य सम्पन्न भइसकेपछि सार्न सकिने भनाइ शिक्षा मन्त्रालयका पदाधिकारीले दिँदै आएका छन् ।