सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भयो– केशरपुस्तकालयमा रहेका पुराना कागजात रद्दीको मोलमा बेचियो । भिडियो भाइरल भयो । फेसबुक र ट्विटरमा छ्याप्छ्याप्ती भयो । तथ्य के हो ? बुझ्न एडुपत्रका संवाददाता स्थलगत रिपोर्टिङमा जाँदा कुरा फरक देखियो । ती कागजात बेचिएको नभई सुकाइएको रहेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय दशकअघि केशरमहलबाट सिंहदरबारमा सरेपछि कतिपय कागजात त्यत्तिकै छाडिएको थियो । २०७२ सालको भूकम्पपछि केशरमहलको पुनर्निर्माण गर्ने क्रममा ‘साइट क्लियरेन्स’ गर्न भनी ती कागजातलाई कोठाबाट बाहिर ल्याई थुपारिएको थियो । अहिले तिनलाई धुल्याउनुपूर्व घाममा सुकाउन खोजिएको छ ।
निर्माण कम्पनी जेडसीजीआई–खानी जेभीका आयोजना व्यवस्थापक इन्जिनियर नरकान्त सापकोटाले शिक्षा मन्त्रालय लगायतका सरकारी निकायलाई ती कागजात लिएर जान पटक पटक लिखित अनुरोध गरेको बताउँदै भने, “उहाँहरुले ती धुल्याइदिए हुन्छ भनेर जवाफ दिनुभयो । तैपनि कुनै कागजात चाहिन सक्छ भनेर छुट्टयाउन घाममा सुकाएका हौँ । सुकाइएको कुरालाई रद्दीका रुपमा बिक्री गरियो भन्ने गलत सन्देश सामाजिक सञ्जालमार्फत फैलाउन खोजियो । जुन कुरा गलत हो ।” उनले एक टुक्रा पनि कागज केशरमहल परिसरबाट बाहिर नपुगेको दावी गरे ।
केशरमहलमा शिक्षा मन्त्रालय रहँदा शिक्षामन्त्रीको कार्यकक्ष र केशर पुस्तकालय प्रवेश गर्ने ढोकाको छेउमा ती कागजातको चाङ बनाएर राखिएको थियो । निकै भन्दा पनि कुनै पनि निकायले ती लिएर जान चाहेनन् । दुई वटा वर्षा खाएको ती कागजात पानीले गलेर कुहिने अवस्थामा पुगिसकेका छन् भने मुनी रहेका केही सामान्य अवस्थामा छन् ।
“शिक्षा मन्त्रालयका सरहरुले त सुरुमा बन्चरेडाँडामा लगेर जलाइदिनुस् भनेर भन्नुभएको थियो” इन्जिनियर सापकोटाले थपे, “हामीले त्यस्तो गर्न चाहेनौँ । सुकेपछि बोरामा राख्नेछौँ । काम नलाग्ने जतिलाई केशर पुस्तकालय लगायतका निकायका पदाधिकारीको रोहबरमा धुल्याइदिनेछौँ । काम लाग्ने जति शिक्षा मन्त्रालयले लिएर जाओस् भन्ने हामीहरुको अझै पनि अनुरोध छ ।”
यस बारेमा शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्मासँग प्रतिक्रिया लिन पटक पटक खोज्दा फोन उठाउन चाहेनन् ।