After SEE Portal

विद्यार्थीलाई निष्कृय राख्दा अपराध ठहर्छः शिक्षाविद् कोइराला

Bridge Course

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यार्थीलाई निष्कृय राख्नु अपराध ठहर्ने भएकोले शिक्षकले बन्दाबन्दीमा अध्यापनका उपाय खोज्नै पर्ने बताएका छन् ।

लु निभाः बाल सरोकार समूहले आयोजना गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरणका लागि शिक्षक परामर्शसम्बन्धी भर्च्युअल छलफल कार्यक्रममा उनले भने, “कोरोना कहर कहिले सकिन्न भन्न सकिदैन । त्यसैले अहिले नै शिक्षकले विकल्प खोज्नै पर्दछ । अन्यथा अपराध गरेको ठहरिनेछ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिकाले विभिन्न पाँच वटा विकल्प दिएको छ । यति बेला शिक्षक घरमा आएका छन् भने विद्यार्थीहरु पनि घर पुगेका छन् । सबै शिक्षकसँग सूचना प्रविधिको पहुँच छैन । सार्वजनिक सवारी साधन खुला नगरिदा र मोटरसाइकल वा निजी सवारी साधनमा सीमित व्यक्तिमात्र सवार हुन पाउने भएकाले साधन चढेर कार्यरत स्थलसम्म फर्किने वा विद्यालयसम्म जान सक्ने अवस्था छैन । तसर्थ पाँच वटै विकल्पमा जान नसक्ने अवस्था पनि रहेको छलफलमा धारणा उठाइएको थियो ।

शिक्षाविद् डा. कोइरालाले अब अध्यापनको विधि परिवर्तन गर्नै पर्दछ भने । “जे जति शिक्षक उपलब्ध हुन सक्दछन् विद्यालय खोल्ने दिन तोकौँ । दूरी कायम गरौँ । फलानो दिन फलानो शिक्षक र फलानो विद्यार्थी विद्यालय जाने उपाय खोजौँ । एउटा विद्यार्थीको किताब अर्को विद्यार्थीलाई दिने उपाय त रसुवाका विद्यालयले सिकाएकै छन्” उनले भने ।

उनले क्वारेन्टिन बनाइएका विद्यालयलाई तत्काल नखोल्न सुझाव दिए । उनले पहिले शिक्षकको घरमा विद्यार्थी जान्थे तर अब शिक्षक विद्यार्थीको घरमा जाने उपाय खोज्नुपर्ने बताए ।

उनले निर्देशिकाका कारण विभेद हुन्छ भनेर शिक्षकले बोल्ने बोली होइन भन्दै थपे, “जोसँग जे साधन छ त्यहीमा पठनपाठन गरौँ । हातका सबै औंला फरक छन् तर समान गर्न त सकिदैन । समान गर्ने भनेर औँला काट्ने कुरो हुँदैन । त्यसैले असमानता हुन्छ भनेर शिक्षकले प्रश्न गर्न मिल्दैन । शिक्षकले स्थिति हेरेर नयाँ नयाँ विधि सोच्नुपर्दछ ।”

शिक्षा मन्त्रालयका उपसचिव डा. दिव्या दवाडीले निर्देशिकाले शिक्षकलाई बढी सक्रिय बनाउन खोजेको बताउँदै शिक्षकका लागि यो निकै ठूलो अवसर भएको बताइन् ।

लु निभाःका कार्यकारी निर्देशक नरेन्द्र डंगोलले निर्देशिकाका कारण काठमाडौँ र डडेल्धुराका विद्यार्थीबीच असमानता देखिनु राम्रो नहुने बताउँदै अपाङ्गता भएका विद्यार्थीका लागि अध्यापनलाई सहज बनाउनेतर्फ पनि ध्यान दिइनुपर्ने बताए ।

A Levels MA