After SEE Portal

बाल सङ्गठनका विद्यार्थीलाई काठमाडौं विश्वविद्यालयले छात्रवृत्ति दिने

Bridge Course

काठमाडौं विश्वविद्यालय र नेपाल बाल सङ्गठनबीच बाल सङ्गठनमा आश्रित बालबालिकालाई छात्रवृत्ति दिने विषयमा सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपाल बाल सङ्गठनद्धारा सञ्चालित बाल गृहमा संरक्षित कक्षा १२ उत्तीर्ण गरेका बालबालिका मध्ये कम्तीमा दुई जनालाई काठमाडौं विश्वविद्यालयका शैक्षिक कार्यक्रममा अध्ययनको लागि पूर्ण छात्रवृत्ति दिने भएको हो ।

काठमाडौं विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा आइतबार आयोजित कार्यक्रममाझ विश्वविद्यालयका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन मनिष पोखरेल तथा नेपाल बाल सङ्गठनका तर्फबाट अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार बाल सङ्गठनको उत्थान र प्रगतिका लागि विश्वविद्यालयले सहकार्यको वातावरण निर्माण गर्नु पर्नेछ । यसका लागि विश्वविद्यालयले बाल सङ्गठनको पाँचखाल, काभ्रेमा रहेको जमीन भाडामा लिएर त्यहाँ इन्जिनियरिङ अध्ययन तथा अध्यापनका सम्भावना खोज्ने, पुरानो भवनको जिर्णोद्धार गर्ने तथा नयाँ संरचना निमाण गर्ने सहमति भएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालयका कुलपति प्रा डा भोला थापाले छात्रवृत्ति मार्फत बालबालिकाको भविष्यसँग जोडिन पाउँदा विश्वविद्यालयलाई गर्व लागेको बताए ।

“विशेष गरी पाँचखालले काठमाडौं विश्वविद्यालय र बालबालिका प्रति देखाएको सद्भाव प्रशंसनीय छ,” थापाले भने ।

त्यसैगरी बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा सङ्गठनमा आश्रित बालबालिकालाई उज्यालो भविष्य दिलाउन पाएकोमा खुशी व्यक्त गरिन् ।

“काठमाडौं विश्वविद्यालयजस्तो शिक्षामा अग्रणी र दूरदर्शी शैक्षिक संस्थासँग सहकार्य गरेकोमा बालबालिकाको भविष्यलाई लिएर हामी खुसी छौं,” न्यौपानेले भनिन् ।

दश वर्षमा नवीकरण हुने गरी दुई पक्षवीच सम्झौता भएको  हो । नेपालका ७७ वटै जिल्लामा शाखा भएको बाल सङ्गठनमा हाल ३६० भन्दा बढी बालबालिका संरक्षित छन् ।

A Levels MA