काठमाडौं महानगरपालिकाले आफ्नो प्रमुख प्राथमिकता शिक्षा भएको भन्दै विद्यालयमा लगाएको ताला तोडेको छ। महानगरपालिका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा स्टाटस सहितको भिडियो सार्वजनिक गर्दै ताला खोलेको जानकारी दिएका छन् ।
हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौ। र महानगरपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने हो। यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्ने हो।’ प्रमुख शाहले लेखेका छन्, ‘पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको छ। चाहे सो विद्यालय सरकारी होस वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। त्यसैले हामीले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडी बढाएका छौ।’
चर्को शुल्क असुलेको भन्दै चार विद्यालयमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले हिजो तालाबन्दी गरेको थियो ।
बुढानिलकण्ठको भ्याली पब्लिक स्कुल, स्वयम्भूको संस्कृत स्कुल, नक्सालको ग्यालेक्सी स्कुल, मालीगाउँको वृहस्पति विद्या सदन र काष्ठमण्डप स्कुलमा तालाबन्दी गरेको थियो ।