काठमाडौं महानगरले माग्यो १७२ जना नेपाल भाषि प्रशिक्षण सहायक

काठमाडौं महानगरले करिब दुई वर्ष लगाएर तयार गरेको स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न १७२ जना नेपाल भाषि प्रशिक्षण सहायकको माग गरेको छ ।

चालु शैक्षिक सत्रबाटै कार्यान्वयन गर्ने भनिएको सो नेपाल भाषाको पाठ्यपुस्तक हरेक विद्यालयमा करिब तीन महिना अघि पुर्याइएको भएपनि प्रशिक्षकको अभावमा विद्यालयले अहिलेसम्म पाठ्यक्रम कार्यान्वयन गर्न सकेका छैनन । महानगरको नेपाल भाषा व्यवस्था समितिको हिजोको निर्णयअनुसार महानगरले पारिश्रमिक व्यवस्था गर्नेगरी आज प्रशिक्षकका लागि विज्ञापन गरेको हो ।

नेपालको संविधानले हरेक स्थानीय तहलाई आधारभूत तहमा एक विषय स्थानीय पाठ्यक्रम निर्माणगरी कार्यान्वयन गर्न पाउने प्रावधान गरेसंगै हेरक स्थानीय तहले आफ्नो परम्परा, संस्कृति, व्यवयास, पहिचान लगायतका विषयलाई प्रधानता दिँदै स्थानीय पाठ्यक्रम निर्माण गर्ने होड चलिरहेकै बेला काठमाडौँ महानगरपालिकाले तयार गरेको सो पाठ्यक्रम चालु शैक्षिक सत्रको अन्त्य सम्म कार्यान्वयन हुन सकेको छैन ।

महानगरले लामो समय लगाएर निर्माण गरेको सो पाठ्क्रम केही महिना अघि आफ्नो मातहतका सामुदायिक तथा संस्थागत विद्यालयलाई कार्यान्वयन गर्न निर्देशन दिए पनि विद्यालयले प्रशिक्षकको अभावमा कार्यान्वयनमा अहिलेसम्म ल्याउन सकेका छैनन् ।

वैज्ञानिक अध्ययनविना महानगरले लादेर लागु गरेको सो पाठ्यक्रम यो शैक्षिकसत्रमा लागु गर्न नसकिने स्थानीय विद्यालयको भनाइ छ ।

विद्यालयमा भएका शिक्षक कर्मचारीले स्थानीय पाठ्यक्रममा समावेश गरिएको भाषा नबुझेका कारण कारण सो पाठ्यक्रम कार्यान्वयनमा आउन नसके पछि महानगरले नै सामुहिक विज्ञापन गरेर प्रशिक्षक छनोट गर्न लागेको महानगरको शिक्षा विभागले जानकारी दियो ।

गत असोजमा महानरपालिकाले सबै विद्यालयलाई नेपाल भाषाको पठनपाठन अनिवार्य गर्न निर्देशन दिएको थियो । गत असोज १९ गते सम्पन्न नगरकार्यपालिकाको ५१ औं बैठकले महानगर भित्र कक्षा १ देखि ८ सम्म नेपाल भाषाको स्थानीय पाठ्यक्रम अनिवार्य लागु गर्ने निर्णय गरेको थियो ।

संविधान प्रदत्त अधिकारलाई प्रयोग गरी महानगरले लामो समय लगाएर स्थानीय पाठ्यक्रम तयार गरेको थियो ।

यही शैक्षिकसत्रबाट लागु गरिने सो पाठ्यक्रम कार्यान्वयनमा विश्वव्यापी महामारीका कारण केही समस्या भएको विद्यालयको गुनासो छ ।

महानगर क्षेत्र भित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीले अनिवार्य रुपमा १०० पूर्णाङकको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने महानगरको नीति छ ।

स्थानीय पाठ्यक्रममा महानगर र सेरोफेरो, हाम्रो संस्कृति–हाम्रो पह्चिान, स्वच्छ हराभरा काठमाडौं, काठमाडौंको विगत, स्थानीय कला र व्यक्ति, व्यक्तित्व, स्थानीय पेसा व्यवसाय र पर्यटन लगायतका विषय समेटिएका छन् ।

यसका साथै स्थानीय चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषयबारे परिचित गराउने उद्देश्यले यस्तो पाठ्यक्रम तयार पारेको शिक्षा विभागका अधिकृत तारापति खरेलले बताए । पाठ्यक्रममा काठमाडौँ महानगरपालिका भित्रका ६० र उपत्यकाका ४० प्रतिशत विषयवस्तु समेटिएको अधिकृत खरेलले बताए ।

कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका १०० पूर्णाङ्ककै प्रयोगात्मक पाठ्यक्रम निर्माण गरेको छ । कक्षा ४ र ५ का लागि ७५ पूर्णाङ्कको प्रयोगात्मक र २५ पूर्णाङ्कको सैद्धान्तिक विषय समावेश गरेको छ ।

कक्षा ६, ७ र ८ का लागि ५० पूर्णाङ्कको सैद्धान्तिक र ५० पूर्णाङ्कको प्रयोगात्मक पाठ्य सामग्री समावेश गरेर महानगरले पाठ्यवस्तु चयन गरेको छ ।

महानगरभित्रका सामुदायिक र संस्थागत गरी ७५० विद्यालय छन् । त्यसमध्ये ९२ वटा सामुदायिक विद्यालय मध्ये ८६ वटा साधारण, ३ विशेष र ३ वटा विद्यालय बन्दीका लागि छन् भने ६४० वटा संस्थागत विद्यालय छन् । यो पाठ्यक्रम अहिलेसम्म संस्थागत विद्यालयले कार्यान्वयनमा ल्याएकै छैनन् ।

Thuprai - Books and E-books