सबैलाई ‘पास’ गराउने नियत राखियो

२००७ सालको क्रान्ति उत्सर्गमा पुग्दै थियो । तत्कालीन राजपरिवार कात्तिकदेखि भारतको नयाँ दिल्लीमा थियो । ज्ञानेन्द्र शाहलाई दरबारमै छाडिएको थियो । राजगद्दीलाई खाली राख्न नहुने भन्दै तत्कालीन प्रधानमन्त्री मोहनशमशेरले ज्ञानेन्द्रलाई हनुमानढोका लगेर तत्कालीन राजा त्रिभुवनको श्रीपेच लगाइदिए । राजा घोषित गरियो । गयाप्रसादले विरोध गर्न खोज्दा सबैका सामु लठ्ठी खानुप¥यो ।

विद्यार्थीहरु पनि क्रान्तिको आगोमा दन्किदै गएका थिए । पढ्न के मन लाग्थ्यो र ? त्यो बखत पुस महिनामा परीक्षा हुने चलन । माघ ४ गते त नतिजा सार्वजनिक गरिएकै थियो । तर अधिकाँशले परीक्षा वहिस्कार नै गरेका थिए । २००७ साल फागुन ४ गते तत्कालीन राजपरिवारका सदस्यहरु स्वदेश फिरे । फागुन ७ गते तत्कालीन राजा त्रिभुवनले नारायणहिटी दरबारबाट प्रजातन्त्रको घोषणा गरे । क्रान्ति सफल भयो । विद्यार्थीहरुले पुनः परीक्षाको माग गर्दै आएका थिए । भोलिपल्टै परीक्षा नियन्त्रण कार्यालयको बैठकले विद्यार्थीहरुलाई संकटकालीन प्रमाणपत्र दिने निर्णय ग¥यो । १०४ जनाले संकटकालीन प्रमाणपत्र थापे । बाँकीका लागि पूरक परीक्षाको व्यवस्था गरियो ।

पाटन हाइस्कुलका २८ जनाले संकटकालीन प्रमाणपत्र पाए । पाटन हाइस्कुलबाट परीक्षार्थी थिए– केदारनाथ श्रेष्ठ । परीक्षा सुरु हुनु तीन दिनअघिमात्र आमा गुमाएका केदारनाथले । बाबुले “मैले दागबत्ती दिएकाले तिमी क्रिया बस्नुपर्दैन, त्यसैले परीक्षा दिनू” भने । बाबुले त्यस्तो भने पनि उनलाई के पढ्न मन लाग्थ्यो र ? पूरक परीक्षामा सम्मिलित भए । तेस्रो श्रेणीमा उत्तीर्ण पनि भए । 

अझै पनि धेरै जनाले भन्ने गरेका छन्– २००७ सालमा सहभागी भएका सबै उत्तीर्ण भएका थिए । तर यो हल्ला गलत हो । “२००७ सालमा सबैलाई पास गरेको होइन” केदारनाथले स्मरण गरे, “मेरो एउटा साथी थियो । त्यो पढाइमा ज्यादै कमजोर थियो । त्यो वर्ष सेन्टअप परीक्षा उत्तीर्ण नभए पनि हुने भयो । त्यसैले सेन्टअप परीक्षा अनुत्तीर्ण भएको त्यो साथीले पनि जाँच दिन पायो । परीक्षा खुकुलो नै थियो । त्यस्तो खुकुलो गरेको बेला पनि मेरो साथी फेल भयो ।”

शिक्षा विभागले सबैलाई उत्तीर्ण गराउने नियतसम्म राखेकै थियो तर परीक्षामा सम्मिलित हुनै पथ्र्याे । त्यो वर्ष सबैलाई उत्तीर्ण गराउने नियतले कोर्स पनि घटाइयो । “सबै पास हुन् भन्ने नियतले कोर्स छोटो बनाइएको थियो । पूरा कोर्स पढ्नु नपर्ने बनाइएको थियो” उनले थपे, “शिक्षा विभागले नै यति कोर्स पढे हुन्छ भनेर तोकिदिएको थियो ।”

क्रान्ति सफल भएको खुशीयाली थियो । परीक्षाको औपचारिकता पनि पूरा गर्नु थियो । दुई पटक पूरक परीक्षा सञ्चालन गरिएको थियो । समय नभएकाले विद्यार्थीले सबै पढ्न सक्ने अवस्था पनि थिएन । २००७ सालअघिका एसएलसी परीक्षामा अनुत्तीर्ण भएर बसेकाहरुले पनि आवेदन फाराम भरे र परीक्षामा सम्मिलित भए । कक्षा १० मा पढ्दै गरेकाहरुले पनि अवसरलाई उम्किन दिएनन् । “छोटो समयमा पढ्न भ्याउने कोर्स बनाइदियो । त्यसले गर्दा परीक्षकलाई कपी छिटो जाँच्न पनि सजिलो भयो । नतिजा पनि छिटो निस्कने भयो । तैपनि केही फेल भएका थिए” उनले भने । परीक्षा नियन्त्रण कार्यालयमा रहेको मार्क लेजर हेर्दा धेरै परीक्षार्थीहरु अनुत्तीर्ण भएको देखिन्छ । यसले गर्दा त्यो वर्ष सबै उत्तीर्ण भएका थिए भन्ने हल्ला निराधार भएको सहजै पुष्टि पनि हुन्छ ।

ती वर्षमा अङ्ग्रेजीका दुई पत्र हुन्थे । दुई सय पूर्णाङ्कका । उत्तीर्णाङ्क ३५ थियो । तर दुवैमा समग्र ७५ अङ्क ल्याउनै पथ्र्याे । केदारनाथका एक जना साथीको दुई अङ्क पुगेन ७५ हुनका लागि । अनुत्तीर्ण नै भए । “राणालाई भनेर शिक्षाका हाकिमलाई भन्न लगाएर उनको दुई अङ्क थप्न लगाइएको थियो । त्यसपछि बल्ल उनी पास भए” उनले स्मरण गरे । 

आदेशका भरमा जे पनि हुने व्यवस्था थियो । केदारनाथ पाटन हाइस्कुलका विद्यार्थी थिए । कक्षामा राणाका छोराहरु पनि पढ्थे । उनीहरु घोडा चढेर आउँथे । जुद्धशमशेरतर्फका भारदार थिए ती विद्यार्थी । राणा भनेका छुट्टै मानिस जस्ता हुन्थे भनेर उनी सुनाउँछन् । कसैसँग उनीहरुको खासै सम्पर्क हुँदैन थियो । कक्षामा पढ्थे, हिँड्थे उनीहरु । जनताका छोराछोरीहरुसँग खासै घुलमिल हुँदैन थियो । उनीहरु कक्षामा अलग बेच्नमा बस्थे । “राणाका छोराहरुका लागि भनेर अलग बेन्च नबनाए पनि उनीहरु अलग्गै बस्थे । हामीहरुसँग बस्दैन थिए” उनले भने । 

पाटनढोकामा जन्मिएका डा. केदारनाथ श्रेष्ठ ८५ वर्षका भएका छन् । त्रिभुवन विश्वविद्यालयमा डिन पनि बने । २०२८ सालमा नयाँ शिक्षा लागू उनी मध्यमाञ्चल विकास क्षेत्रका शिक्षाका डाइरेक्टर थिए । पाठ्यक्रम विकास केन्द्रको नेतृत्वमा लामै समय उनी रहे । काठमाडौँ विश्वविद्यालयमा पनि प्राध्यापन गरे ।  पाटन हाइस्कुल पहिले मंगलबजारमा थियो । त्यसपछि लगनखेलको टुँडिखेल नजिकको टहरोमा सर्यो । १९९० सालको भूकम्पपछि पाटनढोकामा नयाँ भवन बनाएर हाइस्कुललाई सारियो । त्यही उनी अध्ययन गरे । एसएलसी परीक्षा उत्तीर्ण गरे लगत्तै त्रिचन्द्र कलेजमा आईए र बीए पूरा गरे । शिक्षण पेशामा पनि सोही हाइस्कुलमा आवद्ध रहे । 

त्यसबेला आइए पास भएका गुरुको इज्जत हुन्थ्यो । उनीहरु ठूलै मानिस कहलिन्थे । लोकमान सिंह थिए पाटन हाइस्कुलका हेडमास्टर । केन्द्रीय कारागारपछाडिको टोलमा उनी बस्थे । “उहाँ त्यहाँबाट हिँडेर पाटन हाइस्कुल आउनुहुन्थ्यो । बाटोमा सबैले नमस्ते गर्दथे । आदर गर्थे । पाटन हाइस्कुलको मास्टर भनेर त्यति आदर थियो । अरु सरकारी स्कुलका मास्टरले पनि आदर पाउँथे” केदारनाथले भने, “अहिलेका शिक्षकका बारेमा अलिअलि कुरा गरेर सिद्धिदैन । अबका शिक्षक होइनन् । २०२८ सालअघिसम्म शिक्षकहरु सेवाका भावमा काम गर्दथे । प्रजातन्त्रपछि राजनीति बढी भयो । सामुदायिक विद्यालयमा राजनीतिकरण भयो । अरु ठाँउमा काम नपाउनेहरु शिक्षण पेशामा लाग्ने भए । हालत खराब भैहाल्यो । शिक्षकले राम्रै पारिश्रमिक पाउँछन् तर इज्जत छैन । स्कुलमा राम्ररी पढाउनुपर्दछ भन्ने सोच नै भएन ।”

उनी सम्झिन्छन्, त्यो बेला सबै शिक्षकले सबै विद्यार्थीका बाबुआमालाई चिन्थे । “यो कसको छोरा भनेर हरेक मास्टरलाई थाहा हुन्थ्यो । फलानोको छोरा भन्थे । अब विद्यार्थीका अभिभावक र शिक्षकबीचको सौहाद्र्ध सम्बन्ध पहिलेको जस्तो छैन” उनले भने ।

उनी पुनः २०१४ सालमा मास्टर बने पाटन हाइस्कुलमा । सबै मास्टरले क्लासमा जाँदा एउटा एउटा लठ्ठी लिएर जान्थे । पिट्थे वा पिट्दैनथिए, तर लठ्ठी लिएरै क्लासमा जाने चलन । कलकत्तामा शिक्षण तालिम पनि लिए केदारनाथले । त्यहाँ कक्षामा लठ्ठी लिएर जान नपाइने चलन थियो । त्यसैले उनले पाटन हाइस्कुलमा अध्यापन गर्दा कक्षामा कहिल्यै लठ्ठी लिएर गएनन् । “कक्षामा बद्माश लड्काहरु पनि हुन्थे, तर यहीको स्थानीय भएकाले मेरा नातेदारका छोराहरु पनि भएकाले कुट्न मिल्दैन थियो । त्यसैले पनि मलाई लठ्ठी लिएरै कक्षामा जानु परेन” उनले भने । 

त्यो बखत पाटन हाइस्कुलमा भर्ना हुन सहज थिएन । प्रयास गर्नुपथ्र्याे । लिखित परीक्षा त हुँदैन थियो, तर अन्तर्वार्ता हुन्थ्यो । सिटभन्दा बढी विद्यार्थी आउँथे । आकर्षण थियो । कमजोर विद्यार्थीलाई लिदैन थियो । कतिपयले राणाहरुबाट सोर्सफोर्स लगाउन लगाएर भर्ना पाउने गरेको उनी सम्झन्छन् । 

स्नातक उत्तीर्ण भएपछि स्थानीय साथीहरु मिलेर मङ्गलबजारको पट्कोमा एक जनाको खाली घरमा स्कुल खोले– सरस्वति निकेतन । त्यसलाई पनि पाटन हाइस्कुलमा सारियो । विहान पाटन हाइस्कुलमा सरस्वति निकेतन सञ्चालन हुन्थ्यो । विद्यार्थीहरुसँग उठाएको शुल्कबबाट बराबर भाग लगाएर पारिश्रमिक बुझ्थे सञ्चालकहरुले । महिनामा तीन वा चार रुपियाँ आम्दानी हुन्थ्यो । एक दिन कमलमणि दीक्षित आएर “घर बनाइदिन्छु तिमीहरुको घर केही छैन किन त्यसरी बस्छौ” भने । उनीहरुका लागि स्कुल समस्या नै थियो । निल्नु न ओकल्नु भइरहेकै थियो । कमलमणिलाई जिम्मा लगाउन तयार भए । जिम्मा लगाए । कमलमणिले त्यसलाई सारेर पुल्चोकमा ल्याएर र स्कुलको नयाँ नामकरण गरिदिए– मदन मेमोरियल स्कुल ।