हात जोडेर बालबालिकालाई पढाउन सक्दिनभन्दा मन दुख्छ

चिटिक्क सिंगारिएका भवन । सिकाइ मैत्री कक्षाकोठा । विद्यार्थीको भीड । विद्यालय व्यवस्थापनमा अभिभावकको चासो । यी विशेषता भएको विद्यालय भन्ने बित्तिकै सुविधासम्पन्न निजी विद्यालय भन्ने बुझाइ आम मानिसको हुन्छ । तर यी बुझाइलाई चिर्दै आएका छन् केही सामुदायिक विद्यालयले । खचाखच विद्यार्थी । भर्नाको समयमा दलका नेता, स्थानीय सरकारका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधिले भर्ना गरिदिनु भन्दै सामुदायिक विद्यालयका शिक्षक तथा प्रधानध्यापकलाई फोन तथा दवाव आउने गरेको छ ।

शैक्षिक सत्र सुरु हुनुभन्दा एक दुई महिना अगाडि र सुरु भएको दुईमहिनासम्म मेरो मान्छे भर्ना लिइदिनु भन्दै फोन आउने गरेको छ ललितपुर उपमहानगरपालिका–२२, बुङ्मती, सैंबु, ललितपुरको आदर्श सौलः युवक माध्यमिक विद्यालयलाई ।

विद्यालयको नामाकरण नै रमाइलो

विद्यालयले २०२६ सालमा मच्छिन्द्र बहालको पार्टीबाट पठनपाठन सुरु गरेको थियो ।

 ‘भैसेपाटी युवक संघ’आवद्ध युवा र अन्य युवाहरूको ‘आदर्श नागरिक तयार पार्न ’ भन्ने उदेश्यले आदर्श, वुङ्मतीको शेरा फाँटमा मलयुक्त पानीकै स्रोत भएको ठाउँमा नेवारी अर्थ लाग्ने गरी सीलः र युवाहरूको सक्रियतामा खोलिएको हुनाले युवक मिलाई विद्यालयको नामारण, ‘आदर्श सौलः युवक’ रहन गयो ।

विद्यालय गतिविधि

विद्यालयले आन्तरिक स्रोत तथा दाताको सहयोगमा ‘ एक शिक्षक एक ल्यापटप’ कार्यक्रम चलाएको छ । अहिलेसम्म जेष्ठताका आधारमा विद्यालयमा कार्यरत २६ जना शिक्षकलाई ल्यापटप प्रदान गरिसकेको छ ।

निशुल्क शैक्षिक सामग्री

विद्यालयले केजीदेखि कक्षा तीन सम्म कपी बाँहेकका अन्य शैक्षिक सामग्री निशुल्क प्रदान गदैं आएको प्रधानाध्यापक ज्ञानभक्त महर्जजनले बताए । त्यसैगरी इन्जिनियरिङ तर्फ कक्षा ९–१२ मा स्मार्टवोर्डको व्यवस्था छ । इन्जिनियरिङका सबै कक्षामा स्टेसनरी सामग्री विद्यालयले निशुल्क प्रदान गर्दै आएको छ ।

तीन शिक्षक र ९ विद्यार्थी पुरस्कृत

वर्षको ३ जना शिक्षक र ९ जना विद्याथीलाई विभिन्न विधामा नगद पुरुस्कार प्रदान गर्ने गरेको छ ।

हरेक शनिवार कक्षा १० र १२ को अतिरिक्त परीक्षा सञ्चालन गर्दै आएको छ ।

विद्यालयले पढ्दै कमाउदै कार्यक्रम अर्न्तर्गत कम्प्युटर मर्मत केन्द्र सञ्चालन गरी विद्यार्थीलाई सिक्दै कमाउँदै गर्न सिकाएको विद्यालयले जानकारी दियो ।

थामी नसक्नु विद्यार्थीको चाम

विद्यालयमा दुइ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । अघिल्लो शैक्षिक सत्रमा २१३४ जना विद्यार्थी थिए । चालु शैक्षिक सत्रका लागि भने भर्नाका लागि आउने विद्यार्थीको लर्को कायम नै छ । चालु शैक्षिक सत्रका लागि विद्यालयले तीन पटक प्रवेश परीक्षा लिएको छ । प्रवेश परीक्षाबाट मेरिटका आधारमा उत्कृष्ट ३०० नयाँ विद्यार्थीलाई भर्ना लिएको छ । विद्यालयको जनशक्ति तथा पूर्वाधार अभावका कारण विद्यालयले पढ्न आउने सबै विद्यार्थीलाई भर्ना लिन नसकेको विद्यालयका प्रधानाध्यापक महर्जनले बताए । ‘हामी हाम्रो विद्यालयमा पढ्ने रहर गर्नेलाई पढाउँन चाहन्छौं ।’ उनले भने, ‘विद्यालयको पूर्वाधार तथा जनशक्तिको अभावका कारण पढाउन सक्दैनौं, सबैलाई पढाउन नसकेर बालबालिकालाई फिर्ता पठाउँदा दुःख लाग्छ तर के गर्ने आए जति सबैलाई कक्षाकोठामा अटाएर पढाउन सकिँदैन ।’

प्रत्येक कक्षाको सेक्सन विभाजन

हरेक कक्षाकोठा विभाजन गरिएको छ । कक्षा १० मा प्राविधिकधार सहित पाँच सेक्सन सञ्चालन छन् । हरेक सेक्सनमा ४४–४५ जना विद्यार्थी छन् । त्यसैगरी कक्षा ७, ८ र ९ मा चारओटा सेक्सन छन् । हरेक सेक्सनमा ५६–५७ जना विद्यार्थी अध्ययनरत छन् । त्यस्तै कक्षा ५–६ मा तीनतीन ओटा सेक्सन छन् । कक्षा १–४ लाई दुईदुई सेक्नसमा विभाजन गरिएको छ । भने केजीमा ४५ जना बालबालिका भएको कारण दुई सेक्सनमा विभाजन गरिने तयारीमा विद्यालय रहेको प्रधानाध्यापक महर्जनले बताए । विद्यालयमा जग्गा अभावका कारण बालबालिकालाई हात जोडेर फिर्ता पठाउनुपर्छ । ‘सबै कक्षामा विद्यार्थी धेरै छन् , भएका कक्षाकोठालाई फुटाएर धेरै विद्यार्थी राखेर पढाउँ जस्तो लाग्छ ।’ उनले भने, ‘धेरै विद्यार्थी राखेर पढाउदा बालमैत्रीपूर्ण वातावरणमा सिकाइ नहुने के गर्नु चाहेर पनि सबैलाई पढाउन सकिँदैन ।’

छ ओटा सुविधा सम्पन्न भवन

२०२६ साल स्थापना भएको विद्यालयको नाममा १० रोपनी १४ आना २ पैसा जग्गा छ । सोही जग्गामा विद्यालयको ६ ओटा भवन छन् । भएको जग्गामा भवन निर्माण गरिएपछि विद्यार्थीका लागि खेल मैदान भने पर्याप्त छैन । सबै खाले खेल खेलाउन भने विद्यालयलाई मुस्किल छ । भएको ठाउँको सदुपयोग गर्दै बास्केट वल लगायत अन्य खेल कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

३०० बढी बालबालिकालाई छात्रवृत्ति

विद्यालयले संघीय कार्यक्रम अन्तर्गतको छात्रवृत्ति बाँहेक ३०० बढी विद्यार्थीलाई विभिन्न खालको प्रोत्साहन स्वरुप स्टेसनरी सामग्री, केहीलाई डे«स, जाडोमा स्वीटर वितरण गर्दै आएको छ । बासस्थानको टुंगो नलागेका, खानबस्न समस्यामा परेका बालबालिकालाई सहयोग गर्न विद्यालयले आफैं पहल गर्दै आएको छ । विद्यालयले विभिन्न संघ संस्था तथा व्यक्तिको सहयोगमा आवश्यकतामा आधारमा सहयोग गर्दै आएको हो । आर्थिक अभावका कारण कुनै पनि बालबालिका विद्यालय बाहिर नजाउन्न भन्ने लक्ष्यका साथ शैक्षिक सामग्री अतिरिक्त खर्च जुटाउने गरेको छ ।

वैयत्तिक शिक्षण

विद्यालयले विद्यार्थीको रुचि अनुसार समूह शिक्षण, वैयक्तिक शिक्षण र खेलविधिको प्रयोग गर्दै शिक्षक सिकाइक्रियाकलाप सञ्चालन गर्दै आएको छ । विद्यालयले विद्यालय समयका अतिरिक्त अन्य समयमा विना शुल्क भाषिक सहायता कक्षा सञ्चालन गर्ने गरेको छ ।

गत वर्ष भाषाका विषय पढ्न नसक्ने कक्षा ६ र ७ का बालबालिकालाई अतिरिक्त कक्षा सञ्चालन गरी विद्यालयले पढाइ स्तर सुधार गरेको प्रधानाध्यापक महर्जनले बताए । वैयत्तिक रुपमा कमजोर विद्यार्थीलाई सिकाइ सुधार गर्न विशेष पहल गर्नेगरेको उनको भनाइ छ ।

प्रविधिमैत्री सिकाइ

हरेक कक्षाकोठामा मल्टिमिडियामार्फत् सिकाइ हुन्छ । हरेक कक्षामा बालमैत्रीपूर्ण वातावरणमा सिकाइ गर्ने गरिएको छ । हरेक शिक्षक कक्षाकोठामा जानुपूर्व तयारी गरेर मात्र जाने गरेका छन् । हरेक कक्षामा विद्यार्थीको क्षमता, रुचिअनुसार कक्षा शिक्षण गर्ने गरिएको छ ।

पढाइका साथमा अतिरिक्त क्रियाकलाप

विद्यालयले पढाइका साथमा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको छ । विद्यार्थीहरूलाई उनीहरूको रुचीअनुसार खेलकुद, वक्तृत्वकला, हाजिरी जवाफ प्रतियोगिता, संगीत प्रतियोगिता आयोजना गर्दै आएको छ । विद्यालयले यसका लागि भलिवल, नाटक र तेकन्दोको कक्षा सुरु गरेको छ । विद्यार्थीहरूको वक्तृत्वकला क्षमता अभिवृद्धि गरी नेतृत्व क्षमता बढाउन विद्यालय भवनमा नै हलको व्यवस्थापन गरेको छ ।

माध्यम भाषा अङ्ग्रेजी

विद्यालयले २०६२ सालदेखि नै माध्यम भाषा अङ्ग्रेजी बनाएको छ । विद्यालयमा माध्यम भाषा परिवर्तन गरे पनि नगरेपनि विद्यालयले बालबालिका तथा अभिभावकको भरोसा र विश्वास जित्न सफल छ । विगत एक दशक अगाडिदेखि नै विद्यालयलाई विद्यार्थीको चाप उस्तै छ । सबै कक्षाकोठाको क्षमता अनुसारका विद्यार्थी छन् ।

पठनसिप विकासका लागि पुस्तकालय

हराउँदै गएको पठन संस्कृतिलाई जोगाउन र बालबालिकामा पढ्ने बानी बसाउने लक्ष्यका साथ विद्यालयमा पुस्तकालयको व्यवस्थापन गरिएको छ । पुस्तकालयमा पाठ्यक्रम सहित ५०० पुस्तक छन् ।

खाली पिरियडमा बालबालिकालाई पुस्तकालयमा गएर अध्ययन गर्ने व्यवस्था विद्यालयले मिलाएको छ ।

अत्याधुनिक विज्ञान र कम्प्यूटर प्रयोगशाला

विद्यालयमा अत्याधुनिक विज्ञान र कम्प्यूटर प्रयोगशालाहरू छन् । व्यावहारिक शिक्षा प्रदान गर्न र विद्यार्थीहरूको कलात्मक प्रतिभालाई पोषण गर्ने लक्ष्यका साथ प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।

शिक्षकलाई पनि १५ रुपियाँमा खाजा

विद्यालयमा विषयगत ५८ जना शिक्षक कर्मचारी कार्यरत छन् । ती मध्ये विद्यालयले निजी स्रोतबाट २३ जना शिक्षक व्यवस्थापन गरेर काम चलाउँदै आएको छ । विद्यालयले आन्तरिक स्रोतबाट निजी स्रोतका शिक्षकलाई व्यवस्थापन गर्दै आएको छ ।

त्यसैगरी विद्यालयमा खाजाघरको व्यवस्थापन गरिएको छ । सो खाजाघरमा शिक्षकले दैनिक १५ रुपियाँ तिरेर स्वस्थ्य खाजा खान पाउने व्यवस्था गरिएको छ । १५ रुपियाँभन्दा माथिको शिक्षकको खाजाको लागत विद्यालयले बेर्होने गरेको प्रधानाध्यापक महर्जन बताउँछन् ।

कक्षा पाँच सम्मका बालबालिकालाई भने संघीय सरकारले दिएको अनुदानबाटै दिवा खाजा खुवाउँदै आएको छ ।

३० प्रतिशत स्थानीय पढ्छन्

सो विद्यालयमा विभिन्न ६५ जिल्लाका बालबालिका अध्ययन गर्दै आएका छन् । कुल विद्यार्थीको औसतमा हेर्दा अहिले ३० प्रतिशतभन्दा बढी स्थानीय बालबालिका विद्यालयमा अध्ययन गर्न थालेको प्रधानाध्यापक महर्जनले बताए ।

विद्यालयमा सबै खाले समुदायका बालबालिका अध्ययन गर्छन् । आर्थिक रुपमा विपन्न, गरिब, मजदुर तथा स्थानीय अभिभावकका छोरा छोरी अध्ययनरत छन् । तर पनि विद्यालय व्यवस्थापन तथा सञ्चालनमा अभिभावकको खबरदारीका कारण विद्यालयलाई कहिल्यै विद्यार्थी खोज्नु पर्ने अवस्था छैन ।

बालबालिकालाई आसपासका निजी विद्यालयभन्दा राम्रो रेखदेख तथा सिकाइमा अब्बल भएकै कारण अभिभावकको पहिलो राजाइमा विद्यालय आफ्नो रोजाइमा पर्ने गरेको अभिभावकहरू बताउँछन् । भर्नाको समयमा कसैले दवाव दिँदा पनि विद्यालयले आफ्ना छोराछोरी भर्ना गर्न नमानेको अभिभावकको गुनासो ।

बालमैत्रीपूर्ण कक्षाकोठा र सिकाइमैत्री वातावरण विद्यालयमा भएकै कारण आफ्नो रोजाइमा पर्ने गरेको अभिभावक बताउँछन् ।

अभिभावकले खुसीले सहयोग गर्छन्

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत चैत १२ गते सामुदायिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन सबै स्थानीय तहमार्फत विद्यालयलाई निर्देशन दियो । संविधानमा भएको निःशुल्क र अनिवार्य शिक्षा सम्बन्धी मौलिक हकको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठले यस्ते निर्देशन दिइन् ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ को नियम ५ मा उल्लेख भए बमोजिम भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक बापत कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्था छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) मा गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार अन्तर्गत निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन सम्बन्धमा व्यवस्था छ । सोही बमोजिम स्थानीय तहबाट स्वीकृत कानुन (मापदण्ड वा निर्देशिका वा कार्यविधि वा अन्य) समेतका आधारमा सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा दिइनु पर्ने व्यवस्था छ । तर सरकारले विद्यालयलाई दिने अनुदान न्यून छ । विद्यालयलाई सरकारले दिने अनुदानले सहरी विद्यालयको दुई महिनाको पानी र बिजुलीको महसुल तिर्नसमेत हम्मे पर्छ ।

विद्यालयमा २३ जना निजी स्रोताका शिक्षक कार्यरत छन् । शिक्षकलाई तलब खुवाउन तथा अन्य व्यवास्थापनका खर्च धान्न समस्या हुने भएकाले अभिभावकले बार्षिक एकमुष्ट सहयोग गर्ने गरेका छन् । अभिभावक भेलाबाट खर्चको विवरण सार्वजनिक गरेपछि अभिभावकले सहमतिमा नै विद्यालयलाई आर्थिक सहयोग गर्ने गरेका छन् । शिक्षा ऐन २०२८ को परिच्छेद २९ अनुसार अभिभावकले सहयोग गर्दै आएका हुन् ।

प्राविधिक धार

विद्यालयले २०७४ देखि प्राविधिक धार अन्तर्गत कम्प्युटर इन्जिनियरिङको कक्षा सञ्चालन गर्दै आएको छ । ४८ जनाको सिट क्षमता भएको कक्षामा सुरुमा पुरै सिट भए पनि कक्षा १२ सम्म पुग्दा ४३ –४४ जना हुने गरेको विद्यालयले जानकारी दियो ।

अपाङ्ग बालबालिका पढ्छन्

खासगरी बौद्धिक अपाङ्गता, अटिजम र बहिरा बालबालिकालाई नियमित कक्षामा राखेर शिक्षा दिन सकिन्छ भन्ने कुरा चुनौतीपूर्ण छ । नेपालको संविधान, २०७२ को धारा ३१ मा आधारभूत तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य गरिएको छ भने माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरिएको छ। त्यस्तै अपाङ्गता भएका बालबालिकालाई उच्च शिक्षासमेत निःशुल्क गरिने कानुनी व्यवस्था छ।

समावेशी शिक्षाको व्यवहारिक कार्यान्वयनका निमित्त विद्यमान शिक्षकहरूको पेशागत् दक्षता वृत्तिविकास गराउनुको साथै विभिन्न दक्ष जनशक्तिहरू (जस्तै घुम्ती शिक्षक, सहयोगी शिक्षक, दोभाषे, थेरापिस्ट, सामाजिक कार्यकर्ता आदि ) को प्रबन्ध गरिनु पर्दछ। विद्यालयका भौतिक संरचना र पूर्वाधारहरूमा पनि आवश्यक सुधार गर्दै यथासम्भव पहुँचयुक्तता सुनिश्चित गराउनु विद्यालयका लागि चुनौतीपूर्ण नै छ। यद्यपि विद्यालयले विभिन्न खालका अपाङ्गता भएका करिब ६० जना बालबालिकालाई अध्यापन गराइरहेको छ ।

विद्यालयको एउटै कक्षाकोठामा समावेशी तरिकाले दोभासे शिक्षकको व्यवस्थापन गरेर कक्षा सञ्चालन गरिरहेको विद्यालयले जानकारी दियो ।

सरकारको अनुदानमा अहिले ६ जना अपाङ्ग बालबालिका आवासीय रुपमा नै अध्ययन गरिरहेका छन् । समावेशी पद्धति अपनाएर एउटै कक्षाकोठामा फरक क्षमता भएका बालबालिकालाई पढाउनु पर्दा सिकाइ चुनौतीपूर्ण भए पनि सिकाउँदा सबै खाले बालबालिकाको मनोविज्ञान बुझ्न पाइने, सिकाइमा नवीनता आफै ल्याउन सकिने हुँदा आफ पनि सिक्न पाउने, सिक्दै सिकाउन अर्थपूर्ण हुने शिक्षकहरू बताउँछन् ।

उपलब्धी अब्बल

पछिल्लो चार पाँच वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सिकाइ उपलब्धी राम्रो भएको विद्यालयले जानकारी दियो । विद्यालयका अनुसार २०७६ एसईईमा ३.६–४.० जीपीए ल्याउने ३१ जना, ३.२–३.६ जीपीए ल्याउने ६१ जना, २.८–३.० जीपीए ल्याउने ३३, २.४–२.८ जीपीए ल्याउन ३७ जना थिए ।

त्यसैगरी २०७७ मा ३.६–४.० जीपीए ल्याउने १४ जना, ३.२–३.६ जीपीए ल्याउने ५६ जना, २.८–३.० जीपीए ल्याउने १०६, जना थिए ।

त्यसैगरी २०७८ मा ३.६–४.० जीपीए ल्याउने २० जना, ३.२–३.६ जीपीए ल्याउने २८ जना, २.८–३.० जीपीए ल्याउने २०, २.४–२.८ जीपीए ल्याउन ३६ जना, २.०–२.४ जीपीए ल्याउने २० जना र त्यो भन्दा कम जीपीए ल्याउने विद्यार्थी दुई जना थिए ।

त्यस्तै, २०७९ को एसईईमा ३.६–४.० जीपीए ल्याउने १३ जना, ३.२–३.६ जीपीए ल्याउने ३४ जना, २.८–३.० जीपीए ल्याउने ४३, २.४–२.८ जीपीए ल्याउन ६० जना, २.०–२.४ जीपीए २५ जना र त्यो भन्दा कम जीपीए ल्याउने ३ जना थिए ।

सबै मिले सुध्रन्छ विद्यालय

शिक्षकले मात्र चाहेर विद्यालय राम्रो हुँदैन । शिक्षक अभिभावक, विद्यार्थी,सामाजिक संघसंस्था, सबैले विद्यालय सुधार गर्नैपर्छ भन्ने सोच विकास गरेमा सामुदायिक विद्यालय सबैको रोजाइमा पर्ने पूर्व–प्रधानाध्यापक सरोज आचार्य बताउँछन् । जग्गा अभावका कारण अरु भवन थप गर्न सक्ने अवस्था छैन । जग्गा मात्र भएको भएपछि ट्रस हालेर पनि पढाउन सकिन्थ्यो तर त्यो पनि सम्भावना छैन । ‘पूर्वाधारको समस्याका कारण नर्सरीदेखि कक्षा ९ र ११ मा भर्ना हुन आउने विद्यार्थीलाई हात जोडेर पढाउन सक्दैनौं भन्ने अवस्था छ’ उनले भने ।

पीटीए अध्यक्षको रचनात्मक भूमिका

विद्यालयले एक अनलाइन र अंकुर संस्थाको सहयोगमा परामर्श कक्षा सञ्चालन गर्ने गरेको छ । यो कक्षामा विद्यालयका पीटिी अध्यक्षको भूमिका महत्त्वपूर्ण छ । विद्यालयले विद्यार्थीको मनोभावनाको अध्ययन गरी परामर्श कक्षा सञ्चालन गर्ने गरेको छ ।विद्यालयमा पीटीएका अध्यक्षले प्रशस्त समय दिने, विद्यालयको गुणस्तर सुधार, व्यवस्थापकीय सुधारका लागि रचनात्मक भूमिका निर्वाह गर्नेगरेका कारण विद्यालय सञ्चालन र व्यवस्थापनमा सहज भएको प्रधानाध्यापक महर्जन बताउँछन् । ‘विद्यालयमा भइरहेका गतिविधिलाई अझ सुधार दिन पीटीए अध्यक्ष सधैं क्रियाशिल हुनुहुन्छ, उहाँको अभाभकीय भूमिकाका कारण सबैलाई एउटै मालामा उनेर लान सजिले भएको छ ।’ प्रधनाध्यापक महर्जन भन्छन्, ‘विद्यालय सञ्चालन, व्यवस्थापन र खबरदारीमा अभिभावक, पूर्वशिक्षकको महत्त्वपूर्ण भूमिका छ, हाम्रो पीटी अध्यक्षले अभिभावकलाई विद्यालयको भेला तथा बैठकमा उपस्थित गराउन रचनात्मक भूमिका खेल्नुहुन्छ ।’

अभिभावक सक्रिय

सबै वर्ग र समुदायका बालबालिकामा पढ्ने भए पनि विद्यालयमा अभिभावकको सक्रिय सहभागिता रहने गरेको । करिब ८० प्रतिशत अभिभावकले आफ्नो बालबालिकाको प्रगति विवरण आफैं बुझ्ने गरेका छन् ।

विद्यालयले बोलाएको भेला तथा बैठकमा सबै अभिभावक आउने गरेका छन् । केही अभिभावकले आफ्नो छोराछोरीले विद्यालयमा कस्तो क्रियाकलाप गर्छ ? उसको सिकाइको अवस्था कस्तो छ भनेर बुझ्ने गरेको प्रधानाध्यापक महर्जन बताउँछन् ।

विद्यालय सुधार गर्न के गर्ने

आर्थिक पारदर्शिता, हुनु पर्छ । केही गर्छुभन्ने सोचका साथ विद्यालयलाई शिक्षक प्रधानाध्यापकले पर्याप्त समय दिनुपर्छ । अनुदान शीर्षकमा आएका रकम सोही शीर्षकमा खर्च गर्र्ने तथा विद्यालयको सम्पूर्ण गतिविधिका बारेमा अभिभावकलाई बोध हुनुपर्ने पूर्व प्रधानाध्यापक खनाल बताउँछन् । विद्यालयप्रति शिक्षक र व्यवस्थापन समिति जवाफदेही भएमा विद्यालयमा आफैं सुध्रन्छ । ‘निस्वार्थ भावले सेवा गर्नुपर्छ ।’ उनले भने, ‘अभिभावकको माग र विद्यार्थीको रुचिअनुसार शिक्षणशैली परिवर्तन गर्नुपर्छ विद्यालय आफैं सुधारहुन्छ ।

(शिक्षा पत्रकार समूहको रजत वर्षमा प्रकाशित विद्यालय चित्र पुस्तकबाट साभार)