After SEE Portal

शैक्षिक उन्नयन वर्ष घोषणाको अन्तर्य

Bridge Course

समय बदलिएको छ । समयले अभिभावक, विद्यार्थी र शिक्षकका अपेक्षामा समेत परिवर्तन ल्याएको छ । बालमैत्री विद्यालय, विद्यार्थीको सिकाइ उपलब्धीप्रति जवाफदेही शिक्षक, सिर्जनशील सिकारुको आवश्यकता बढ्दै गएको छ । पाठ्यक्रमलाई जीवनपयोगी बनाउनुपर्ने, गरिखाने जनशक्तिको उत्पादन गर्नुपर्ने, शिक्षा, प्रविधि, रोजगार र उत्पादनबीच सन्निकट सम्बन्ध स्थापना गर्नुपर्ने माग दिनानुदिन बढिरहेका छन्  । विद्यार्थीलाई आज्ञाकारी सिकारुको अवस्थाबाट अन्वेषणकारी सिकारुको स्तरमा विकास गर्नुपर्ने भएको छ । शिक्षकलाई बालबालिकाको भविष्य निर्माताको भूमिकामा स्थापित गर्नै पर्दछ । विद्यालयलाई युगानुकूल मानव संसाधनको विकास गर्ने कार्यशालाको रूपमा गतिशील बनाउने कार्य अविलम्ब गर्नुपरेको छ । साथै सार्वजनिक शिक्षाले आमअभिभावकको विश्वास जित्न थुप्रै सङ्घर्ष र सफलताका अभ्यास अवलम्बन गर्नुपर्ने भएको छ । संस्थागत विद्यालय निजी कम्पनीको मानसिकताबाट मुक्त हुनै पर्दछ । अब विद्यालय सञ्चालन गरी मनग्गे मुनाफा आर्जन गर्ने मोहबाट सबै विद्यालय सञ्चालक मुक्त हुनै पर्दछ । यसका लागि स्थानीय सरकारले आप्mना बासिन्दाका छोराछोरीको शिक्षा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सेवामूलक रूपमा संस्थागत विद्यालयको सञ्चालन र नतिजामूलक रूपमा सामुदायिक विद्यालयको व्यवस्थापन गर्न बिलम्ब गर्नु हुँदैन । 

उपरोक्त सन्दर्भमा बूढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८०।८१ लाई शैक्षिक उन्नयन वर्षको रूपमा घोषणा गरेको छ । आव २०७९।८० लाई शैक्षिक सुधार वर्षको रूपमा घोषणा गरी कार्यान्वयन गरेको  थियो । यस नगरपालिकाले शैक्षिक सुधारबाट आगामी आव २०८०÷८१ मा शिक्षाको स्तर माथि उठाउने अभिलाषासहित शिक्षामा उपलब्धीमूलक परिवर्तन हासिल गर्ने अपेक्षा राख्दै नीति, बजेट तथा कार्यक्रम ल्याएको छ । 

के हो शैक्षिक उन्नयन ?

अभिभावक र विद्यार्थीका शैक्षिक आकांक्षा र अपेक्षा बढिरहेको सन्र्दभमा शिक्षामा चमत्कारिक सुधार र विकास गरी शिक्षालाई कामयावी, सिर्जनशील, अन्वेषणशील, जीवनोपयोगी, व्यावसायिक तथा प्रविधियुक्त बनाई सुसंस्कृत, सीप तथा कौशल र ज्ञानको पूर्ण आत्मविश्वासले दक्ष जनशक्ति उत्पादन गर्ने तथा उत्पादन गर्नसक्ने सक्षमता बनाउनु नै शैक्षिक उन्नयन हो । शैक्षिक उन्नयन सापेक्ष अवधारणा हो । यो शिक्षा प्रणालीलाई सफल र प्रभावकारी बनाउने सोच र चिन्तन हो । यसको केन्द्रविन्दु कक्षाकोठाभित्रको शिक्षण हो । यसले शिक्षक विद्यार्थीको शिक्षण प्रक्रियामा तात्विक फरक ल्याउँछ । विद्यार्थीको  सिकाइ उपलब्धीमा सशक्त अभिवृद्धि यसको अपेक्षित नतिजा हो । के गरियो शैक्षिक सुधार वर्षमा ? 

आर्थिक वर्ष २०७९।८० लाई शैक्षिक सुधार वर्षको रूपमा घोषणा गरिएकोमा यस वर्षभरि विद्यालय सञ्चालन र विद्यालयमा हुने पठनपाठनको समयावधि वृद्धि गर्ने, शिक्षकमा पेसागत सक्षमता र जवाफदेहिता वृद्धि गर्ने, कक्षाकोठाको शिक्षण सिकाइमा सुधार गर्ने, विद्यार्थी मूल्याङ्कनमा सुधार गर्ने, कोभिड–१९ ले पारेको शैक्षिक क्षतिको न्यूनीकरण गर्ने, शिक्षक कर्मचारीको मनोबल र अभिप्रेरणाको स्तरवृद्धि गर्ने, विद्यालयमा न्यूनतम् सक्षमताको अवस्था सुनिश्चित गर्ने कार्यक्रम रहेका थिए । यी कार्यक्रमको पूर्ण कार्यान्वयन गर्नुका अतिरिक्त रोजगार तथा वृत्ति मेला, शिक्षा नीतिमा बहस, बाल साहित्य महोत्सव, नमुना विद्यालयकौ शैक्षिक भ्रमण, विषयगत विभागहरूको गठन र सबलीकरण, सघन सिकाइ सेसनको सञ्चालन, नगर शिक्षक सम्मान र सम्मेलनको आयोजना, एसईई नतिजा सुधार कार्यशाला, शैक्षिक क्यालेन्डरको निर्माण र कार्यान्वयन, शैक्षिक स्मारिकाको प्रकाशनलगायतका कार्य सम्पादन गरिएको थियो । 

विद्यालय कर्मचारी र बाल विकास शिक्षकलाई नगरपालिकाबाट प्रत्येक महिनामा सात हजार प्रोत्साहन थप गरिएको छ । शिक्षकका तलब भत्ता मासिक रूपमा भुक्तानी गरिएको छ । यस कार्यबाट शिक्षकको मनोबल र अभिप्रेणास्तरमा सुधार आएको छ । विद्यालयको प्रशासकीय नेतृत्वमा सक्रियता र गतिशीलता बढेको छ । विद्यालय सञ्चालन समयावधिमा वृद्धि भएको छ । विद्यार्थीको सिकाइ उपलब्धीमा सुधार आएको छ । सामुदायिक विद्यालयको सुधार र संस्थागत विद्यालयको नियमनमा सुधार आएको छ ।

के के गरिनेछ शैक्षिक उन्नयन वर्षमा ? 

१. विद्यार्थीको शैक्षिक अपेक्षा र उपलब्धीमा वृद्धि 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्यार्थीको शैक्षिक उपलब्धी विद्यालयगत, कक्षागत, विषयगत र विद्यार्थीगत न्यूनतम ६० प्रतिशत कायम गरिने लक्ष्य राखिएको छ । यसबाट न्यूनतम ३५ प्रतिशतको मौजुदा शैक्षिक अपेक्षामा ५८ प्रतिशतले वृद्धि हुनेछ । कक्षा ८ देखि नै करिएर काउन्सेलिङ कार्यक्रमको सञ्चालन गरिनेछ । यसबाट विद्यार्थीमा मात्र नभई शिक्षक र विद्यालयलाई पनि विद्यार्थीको नतिजामा अपेक्षित वृद्धि गर्न मद्दत पुग्नेछ ।

२. शिक्षकको शिक्षणस्तर परीक्षण कार्यक्रम

वार्षिक रूपमा शिक्षकको शिक्षणस्तर परीक्षण गरिनेछ । यो कार्यक्रमले मुख्य गरी शिक्षकको पेसागत विकासको पक्षमा जोड दिन्छ । शिक्षकलाई निरन्तर रूपमा शिक्षणस्तर सुधार्न प्रतिबद्ध बनाउने ध्येय यस कार्यक्रमले राखेको छ । यसले शिक्षकलाई निरन्तर रूपमा पेसागत क्षमता विकासप्रति प्रतिबद्ध बनाउँछ । शिक्षकलाई पेसागत रूपमा निरन्तर समयानुकूल अद्यावधिक बनाउने वाध्यता सिर्जना हुन्छ । सबै शिक्षक स्वचालित रूपमा आफ्नो पेसाको सिर्जनात्मक विकास र उपलब्धी हासिलका लागि अभिप्रेरित बन्नेछन् ।

३. विद्यालय ब्रान्डिङ कार्यक्रम

शिक्षा, उत्पादन र प्रविधिबीच अन्तरसम्बन्ध स्थापना गरी शिक्षालाई सीप तथा उद्यमशीलता, उत्पादन र प्रविधिसँग आवद्ध गरिनेछ । विद्यालय शिक्षा हासिल गरेसँगसँगै हरेक विद्यार्थीकोे हातमा सीप, हृदयमा आत्मविश्वास, मस्तिष्कमा समझदारी र काँधमा जिम्मेवारी बोक्न सामथ्र्यवान नागरिकका रूपमा विकास हुनेछ । यस कार्यक्रमअन्र्तगत सीप तथा उद्यमशीलता, उत्पादन (कृषि र सेवा क्षेत्र), पर्यटन, भाषा, संस्कृति, कला र लोकसेवा अध्ययन जस्ता विषयमा विद्यालय ब्रान्डिङ गरी सञ्चालन गरिनेछ ।

४. विद्यालयमा न्यूनतम् सक्षमताको अवस्था सुनिश्चित

विद्यालयलाई पढ्न लायक, हेर्न लायक मात्र नभई गर्व गर्न लायक बनाइनेछ । यसका लागि विद्यालयमा  कक्षाकोठा, शिक्षक दरबन्दी, पुस्तकालय, शौचालय, सूचना प्रविधि प्रयोगशाला, पिउने पानी लगायतका न्यूनतम सक्षमताको अवस्था सुनिश्चित गरी बालमैत्री, सिकाइमैत्री, प्रविधिमैत्री विद्यालय वातावरणको अवस्था सुनिश्चित गरिनेछ । यसका लागि नगर शिक्षक बैङ्क, नगर शिक्षक, आधारभूत तहमा प्रत्येक विद्यालयमा एकजना अङ्ग्रेजी शिक्षक दरबन्दी थप, बाल विकास तथा शिक्षामा थप एकजना शिक्षक र आयाको दरबन्दी थप लगायतका कार्यक्रम राखिएको छ ।

५. शिक्षकको मनोबल र अभिप्रेरणामा वृद्धि

बाल विकास शिक्षकको पारिश्रमिकमा वृद्धि, शिक्षकको बिदा बैकिङ, एक शिक्षक एक ल्यापटप प्रोत्साहन अनुदान, शिक्षकको शैक्षिक भ्रमण, शिक्षक मेन्टरिङ, विद्यार्थी र कक्षा अनुपातमा शिक्षक दरबन्दी कायम, नगर शिक्षक सम्मान जस्ता कार्यक्रमबाट शिक्षकको मनोबल र अभिप्रेरणामा वृद्धि गर्ने कार्यक्रम राखिएको छ ।

६. बालबालिकाको शैक्षिक अधिकारको सुनिश्चितता

बालबालिकाको शैक्षिक अधिकारको सुनिश्चितता गर्न कक्षा १ देखि १० सम्म दिवाखाजाकोे व्यवस्था, एक विद्यालय एक स्वास्थ्यकर्मीको प्रबन्ध, नगर प्रमुख छात्रवृत्ति कोषको व्यवस्था, प्राविधिक तथा व्यावसायिक शिक्षामा छात्रवृत्तिको प्रबन्ध, संस्थागत विद्यालयबाट प्रदान गरिने छात्रवृत्ति लगायतका विद्यार्थी सहायता कार्यक्रमलाई मापदण्डमा आधारित बनाउन खोजिएको छ । यसबाट विद्यार्थीको शैक्षिक अधिकारी सुनिश्चित गर्न सहयोग पुग्नेछ ।

७. शिक्षा र रोजगारीबीच अन्तर सम्बन्ध स्थापना

वृत्ति परामर्श, रोजगार मेला, प्राविधिक शिक्षालयको स्थापना, कार्यमूलक तथा सीपमूलक तालिम कार्यक्रम, स्टार्ट अप फण्डको व्यवस्था जस्ता कार्यक्रमबाट शिक्षा र रोजगारीबीच अन्तरसम्बन्ध स्थापना गरी शिक्षा र रोजगारबीच अन्तरसम्बन्ध स्थापना गर्न खोजिएको छ ।

८. संस्थागत विद्यालयलाई मापदण्डमा सञ्चालन

संस्थागत विद्यायहरुलाई मापदण्डमा सञ्चालन गरी विद्यार्थीको हित अभिवृद्धि गर्न संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीका लागि सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गरिनेछ । संस्थागत विद्यालयलाई समेत ब्रान्डिङ गरी यस नगरपालिकालाई शैक्षिक हबको रूपमा विकास गर्न संस्थागत विद्यालयको योगदान र भूमिका वृद्धि गरिनेछ ।

९. खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको छनोट

अभिभावक र शिक्षकका बदलिँदा अपेक्षा र परिवर्तित समयले सिर्जना गरेका चुनौतीको सामना गर्न सक्ने प्राज्ञिक नेतृत्व आजको आवश्यकता हो, जो लोकतन्त्र र गुणतन्त्रको मान्यता अनुरूप आवधिक रूपमा परीक्षण हुनुपर्दछ । यसै कुरालाई ध्यानमा राख्दै बूढानीलकण्ठको शिक्षाको सुधार र विकासमा कार्यरत प्रधानाध्यापकको योगदानलाई उच्च कदर र सम्मान गर्दै नयाँ विधिबाट क्षमता, प्रतिभा आजको आवश्यकतालाई सहज नेतृत्व गर्नसक्ने प्रधानाध्यापकको सहभागिता सुनिश्चित गरी खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको नियुक्ति गरिनेछ । निष्कर्ष 

विद्यालय शिक्षामा सुधारमात्र नभई रूपान्तरण आजको आवश्यकता हो । शिक्षाको सञ्चालन र व्यवस्थापनलाई व्यवसायको रूपमा रतिभर लिन सकिँदैन । शिक्षालाई तत्काल सेवामूलक बनाई बालबालिकाको शैक्षिक अधिकारको सुनिश्चितता आजको आवश्यकता हो । यसका लागि संस्थागत विद्यालयलाई सेवामूलक नबनाई धरै छैन । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गरी साख कायम गर्नै पर्दछ । यसका लागि संयमित बहस र निष्कर्ष निकाल्दै आवश्यक शैक्षिक सुधार र रूपान्तरणका लागि सबै प्रतिबद्ध हुनै पर्दछ । सधैँभर भरथेग गर्ने शिक्षा प्रणालीले हामीलाई कहीँ पु¥याउन सक्दैन । बदलिँदो समयसँग सहकार्य गर्नसक्ने शिक्षाको विकासका लागि शिक्षामा उन्नयन आजको आवश्यकता हो । यो हरेक शिक्षकको पौरख र विद्यालयको सुधार तथा विकासमा निर्भर रहन्छ । यसका लागि हामी सबै तत्पर र प्रतिबद्ध बनौं ।

बूढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्ताव गरेका केही प्रमुख शैक्षिक नीति तथा कार्यक्रम

शिक्षा क्षेत्र: आगामी आर्थिक वर्ष २०८०।८१ लाई शैक्षिक उन्नयन वर्षको रूपमा घोषणा गरिएको छ । उच्च सांस्कृतिक मूल्यसहितको जीवनोपयोगी शिक्षा हाम्रो मूल लक्ष्य हो । ‘बूढानीलकण्ठ नगरपालिकाका सबै नागरिकहरु स्नातक’ हुनेछन् । 

१. गरिखाने शिक्षा हाम्रो संकल्प हो । कक्षा ६ देखि शिक्षासँग सीप कार्यक्रम लागू गरी विद्यालय ब्रान्डिङ गरिनेछ । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई विभिन्न विषयमा विशिष्टिकृत विषयको अध्ययन केन्द्रका रूपमा संस्थागत गर्दै लगिनेछ । 

२. बालकुमारी माध्यमिक विद्यालय र श्रीराम आधारभूत विद्यालयलाई नमुना विद्यालयको रूपमा विकसित गरिनेछ ।

३. सामुदायिक विद्यालयमा सीप, कौशल तथा क्रियाकलापमा आधारित नयाँ पाठ्यक्रम निर्माण गरि लागू गरिनेछ । विद्यार्थी मूल्याङ्कनमा अतिरिक्त क्रियाकलापसहितको प्रयोगात्मक अभ्यास र सीपमूलक कक्षाको प्रस्तुतिलाई अभिन्न अङ्क बनाइनेछ ।

४. सामुदायिक र निजी विद्यालय साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ । 

५. सबै विद्यालयको हरेक वर्ष वर्गीकरण गरी प्राप्ताङ्कको आधारमा प्रमाणपत्र दिई सोहीअनुसारको सुविधा तथा सुधारका कार्यक्रम तय गरिनेछ । 

६. सामुदायिक विद्यालयलाई बहुभाषामैत्री बनाइनेछ । 

७. प्रत्येक वर्ष शिक्षकको शिक्षणस्तर परीक्षण योग्यता परीक्षा सञ्चालन गरिनेछ । न्यूनतम अङ्क प्राप्त गर्न नसक्ने शिक्षकलाई सघन शिक्षक पेसागत विकास कार्यक्रममा सहभागी गराइनेछ । 

८. सामुदायिक विद्यालयमा प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्त गरिनेछ । यसरी नियुक्त प्रधानाध्यापकको परीक्षणकाल छ महिना रहनेछ । हरेक तीन वर्षमा प्रधानाध्यापकको पुनः आन्तरिक परीक्षण गरिनेछ । 

९. सबै विद्यालयमा पठन संस्कृति विकास अभियान सञ्चालन गरिनेछ । 

१०. अभिभावकविहीन, बेसहारा र विपन्न विद्यार्थीको विद्यालय तहको शिक्षाको सुनिश्चितता गरिनेछ । कोही पनि विद्यालय जान नपाउने, नसक्ने अवस्थाको सिर्जना हुन दिइने छैन । 

११. प्रत्येक विद्यार्थी÷विद्यालयको न्यूनतम ६० प्रतिशत सिकाइ उपलब्धी हासिल गरेको हुनुपर्नेछ । पठनपाठनमा समस्या समाधानमूलक शैक्षणिक उपागम लागू गरिनेछ । 

१२. नगरपालिकामा वाचनालयसहितको बालबालिका केन्द्रित र वयस्क नागरिक केन्द्रित पुस्तकालय स्थापना गरिनेछ । 

१३. सबै विद्यालयमा अनिवार्य पुस्तकालय नीति अवलम्बन गरिनेछ । सामुदायिक सिकाइ केन्द्रको नेतृत्वमा सार्वजनिक स्थानमा वाचनालयसहितको पुस्तकालय स्थापना गरिनेछ ।

१४. जेहेन्दार र विपन्न विद्यार्थीलाई कृषि, पशु चिकित्सक, पाइलट, इञ्जिनियर, चिकित्सक लगायतका प्राविधिक उच्च शिक्षामा २५ प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिनेछ ।

१५. निरक्षर तथा विद्यालय अध्ययन पूरा गर्न नसकेका व्यक्तिहरु लक्षित विशेष विद्यालय सञ्चालन गरिनेछ ।

१६. सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा तथा संस्थागत विद्यालयमा मापदण्डमा आधारित एकरूपता शुल्क नीति अवलम्बन गरिनेछ । संस्थागत विद्यालयको छात्रवृत्ति वितरण, आन्तरिक एवं आर्थिक पारदर्शीतामा जोड दिइनेछ । 

१७. सबै विद्यालयमा स्काउट स्थापना गरिनेछ । सबै विद्यालयमा नर्सको व्यवस्थापन गरिनेछ । 

१८. प्रारम्भिक बाल विकास र शिक्षालाई बालबालिकाको सर्वाङ्गीण विकासको आधारको रूपमा विकास गरिनेछ । 

१९. प्रत्येक विद्यालयमा न्यूनतम सक्षमताको अवस्था (कक्षाकोठा, पिउने पानी, शौचालय, पुस्तकालय, क्यान्टिन, प्रयोगशाला र सूचना प्रविधि) सुनिश्चितता गरिनेछ ।

२०. विद्यार्थीको घरपरिवारसम्म शिक्षण सिकाइको लागि न्यूनतम शैक्षिक वातावरण विकास गर्न नगरपालिका–विद्यालय र घरपरिवार साझेदारी गरिनेछ । 

२१. न्यूनतम शैक्षिक भौतिक पूर्वाधार नभएका विद्यालयलाई मर्जर (संस्थागत–संस्थागत र सामुदायिक–संस्थागत) मा जान प्रोत्साहित गर्ने नीति लिइनेछ । विद्यालयलाई राइटसाइजिङ र डाउनसाइजिङ गरी स्मार्ट स्कुलमा रूपान्तरण गरिनेछ । 

२२. ‘छोरीलाई स्यानेटरी, आमालाई सीप र स्वरोजगारी’ कार्यक्रम सञ्चालन गरिनेछ । 

२३. विद्यालयलाई सामाजिक विभेद (छुवाछुत, दुव्र्यवहार, हिंसा, लैगिंक विभेद) विरुद्ध परिचालन गरिनेछ । 

२४. ब्रिटिस काउन्सिल तथा अन्य अन्तर्राष्ट्रिय तथा राष्ट्रिय र स्थानीय प्राज्ञिक संस्थासँगको सहकार्य र साझेदारीमा ग्लोबल स्कुल प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ । 

२५. न्यूनतम शिक्षक दरबन्दी नभएका विद्यालयमा शिक्षक बैङ्क तथा शिक्षण अनुदानमार्फत अङ्ग्रेजी, विज्ञान, गणित लगायत अतिरिक्त विषयका शिक्षकको व्यवस्थापन गरिनेछ । 

२६. विद्यालयस्तरमा विभिन्न प्रकारका खेलकुद प्रतियोगिता सञ्चालन गरी खेलकुदको प्रवर्धन गरिनेछ । 

२७. बूढानीलकण्ठ प्राविधिक शिक्षालय स्थापना गरिनेछ ।

२८. अपाङ्गता भएका, कुष्ठरोग सङ्क्रमित, एसिड पीडित, एचआइभी सङ्क्रमित तथा दीर्घ रोगले ग्रसित र विशेष शिक्षा दिनुपर्ने आवश्यकता भएकाका लागि वैकल्पिक शिक्षाको उचित व्यवस्था गरिनेछ । 

२९. नगरपालिकाले गठन गरेका विषयगत शिक्षण विभागलाई सुदृढीकरण गरिनेछ । 

३०. सबै नगरबासीलाई स्नातक बनाउने लक्ष्यलाई पूरा गर्न यस नगरपालिकाको वडा नं. १० स्थित कपन बहुमुखी क्याम्पसलाई नगरपालिकाको नमुना क्याम्पसका रूपमा विकास गरिने छ ।

(लेखक बूढानीलकण्ठ नगरपालिकाका शिक्षा प्रमुख हुन् ।)

A Levels MA
I Tech store