A Levels MA

पोखरा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय इञ्जिनीयरिङ सम्मेलन

पोखरा, १९ वैशाख (रासस) : पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको आयोजनामा बिहीबारदेखि पोखरामा विपद्मा स्वास्थ्य इञ्जिनीयरिङ विषयक तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलनमा विपद् व्यवस्थापन, वातावरण, जलसम्पदाको संरक्षण, जलवायु परिवर्तन, स्मार्ट सहर तथा भवन निर्माण, सूचना प्रविधिको प्रयोग, स्वास्थ्य जोखिम र मनोविज्ञानजस्ता विभिन्न मुद्दामा केन्द्रित रहेर ४५ वटा कार्यपत्रमाथि छलफल गरिने बताइएको छ ।

सम्मेलनका निष्कर्षले स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत नीति निर्माण तहमा महत्वपूर्ण भूमिका खेल्ने पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड अलाइड साइन्सेसका निर्देशक डाक्टर डमरुप्रसाद पनेरुले जानकारी दिनुभयो । “नेपालमा भर्खर शुरु भएको यो नयाँ विषयको संस्थागत विकासका लागि अन्तर्राष्ट्रियस्तरको सहकार्य, सहयोग तथा सञ्चारमा पनि यस्ता सम्मेलनको महत्वपूर्ण भूमिका रहने छ ।”

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले सम्मेलनको उद्घाटन गर्दै विश्वविद्यालय ज्ञान र तथ्य उत्पादनको थलो भएको बताउनुभयो । विश्वविद्यालयबाट प्राप्त ज्ञानलाई नीतिगत रुपमा कार्यान्वयनमा राजनीतिक तथा विकास कार्यकर्ता लाग्नुपर्ने बताउँदै उहाँले पोखरा र आसपासका क्षेत्र पनि विपद्को उच्च जोखिममा पर्ने भएकाले निष्कर्षलाई कार्यान्वयन गर्नका लागि आप्mनो तर्पmबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर भीमप्रसाद सुवेदी, इञ्जिनीयरिङ अध्ययन संस्थानका पूर्वडिन प्राध्यापक डाक्टर भरतराज पहारी, संयुक्त राष्ट्र सङ्घका लागि विपद् जोखिम न्यूनीकरण विज्ञ ग्यारे डे ला पोमेराइ र ओभिएडो विश्वविद्यालय, स्पेनका प्राध्यापक डाक्टर पेड्रो इग्नासियो गोन्जालेजले पनि आफ्नो धारणा राख्नुभएको थियो । सम्मेलनमा नेपालबाहेक स्पेन, साइप्रस, बेलायत, पोर्चुगल, उज्वेकिस्तान, इटाली, थाइल्याण्ड, भारत लगायतका १० देशका ३०० भन्दा बढीले सहभागिता जनाउने सम्मेलनका संयोजक प्राध्यापक डाक्टर विनयकुमार मिश्रले जानकारी दिनुभयो ।

Thuprai - Books and E-books