After SEE Portal

सामुदायिक विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधि

Bridge Course

 

पृष्ठभूमि

सामान्यतया सूचना तथा सञ्चार प्रविधि भन्नाले सूचनाको सङ्कलन, सम्प्रेषण एवं सञ्चार गर्ने पत्रपत्रिका, कम्प्युटर, हार्डवेयर, इन्टरनेट आदिको समष्टिगत रुप भन्ने बुझिन्छ । सूचनाभित्र खबर, विचार, संवेग, अनुभव, दृष्टिकोण, तर्क, तथ्य, वर्णन आदि पर्दछन् ।

सूचना आदानप्रदान गर्ने कार्य सञ्चार हो भने सूचनाको सञ्चार गर्ने आधुनिक माध्यम प्रविधि हो । कम्प्युटर, इमेल, इन्टरनेट आदिको उपयोग गरी शिक्षा प्रदान गर्ने कार्य यसभित्र पर्दछ । आजको दुनियाँ डिजिटल दुनियाँ हो । विश्व नै सूचनाका प्रविधिले एउटा ‘स्मार्ट भिलेज’ बनिरहेको र अहिलेका जेड-जेनेरेसनका बालबालिकालाई प्रविधिसँग सुसूचित गराउन, पाठ्यक्रम तथा मूल्याङ्कनमा समेत समावेश गरिएका प्रविधिसम्बन्धी विषयवस्तुसँग परिचित हुन, शिक्षक सक्षमता प्रारूप, २०७२ अनुसार उल्लेख गरिएका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी सक्षमता हासिल गर्न समेत वर्तमान अवस्थामा नेपालको विद्यालय शिक्षामा यसको प्रयोग अपरिहार्य देखिएको छ। शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग निम्नअनुसार गर्न सकिन्छ:

क. सूचना तथा सञ्चार प्रविधि बारेमा सिकाइ (Learning about ICT)

ख. सूचना तथा सञ्चार प्रविधिको सहयोगले सिकाइ (Learning with ICT)

ग. सूचना तथा सञ्चार प्रविधिको साथसाथमा सिकाइ (Learning through ICT)

सूचना तथा सञ्चार प्रविधिसम्बन्धी नीतिगत व्यवस्था

विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको अर्थपूर्ण प्रयोग गर्नको लागि नेपाल सरकारले विभिन्न नीति, नियम तथा निर्देशिका जारी गरी सोही अनुसारका लक्ष्य, उद्देश्य तथा रणनीति निर्धारण गरेको छ, जसमध्ये केही नीतिगत व्यवस्था यस प्रकार छन् :

शिक्षाको राष्ट्रिय नीति २०७६ अनुसार निम्न नीतिगत व्यवस्था छः

  • सूचना तथा सञ्चार प्रविधिलाई शिक्षा प्रणालीको अभिन्न अङ्गको रूपमा एकीकृत गर्दै विद्यालय तथा शिक्षण संस्था प्रविधिको पूर्वाधार विकास गर्ने र शिक्षण सिकाइ प्रक्रियालाई सूचना प्रविधिमैत्री बनाउने,
  • इ-लाइब्रेरी, भर्चुअल ल्याब, भर्चुअल कक्षाकोठा, अनलाइन परीक्षा, इ-पोर्टफोलियो, आइसीटी सहितको पाठ्योजना, विषय विशेषका शिक्षण साधन वेभ सेमिनार, एडुकास्ट लगायतका शिक्षण सिकाइमा आधारित एप्सको निर्माण गरी प्रयोगमा ल्याउने,
  • ट्याब्लेट, स्मार्ट फोन, मोबाइल आदिको प्रयोगमा जोड दिनुका साथै मेन्टर शिक्षकको व्यवस्था गरी सबै शिक्षकलाई प्रविधिको ज्ञान दिने,
  •  उपयुक्त नीति, लगानी, जनशक्ति विकास, पाठ्यक्रम समायोजन र शिक्षण पद्धतिको आधुनिकीकरण गरी विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित शिक्षा (STEM Education) लाई समग्र शिक्षा प्रणालीको अभिन्न अंगको रूपमा विकास तथा विस्तार गर्ने ।

पन्ध्रौँ योजनाको रणनीति ७ मा सिकाइका सबैखाले विधि र मार्ग खुल्ला गर्दै राष्ट्रिय योग्यता प्रणाली (National Qualification System) को माध्यमबाट साधारण शिक्षा, प्राविधिक शिक्षा तथा व्यावसायिक सीप विकासको गतिशिलता (Mobility), पारगम्यता (Permeability)को सिद्धान्तको आधारमा शिक्षा, तालिम, सीप र सिकाइको योग्यता निर्धारण गर्ने उल्लेख गरिएको छ ।

सूचना तथा सञ्चार प्रविधि नीति २०७२ ले सन् २०२० सम्ममा नेपाललाई विद्युतीय सरकार सूचकांकमा Top Second Quartile मा पुर्याउने, ९० प्रतिशत नेपालीलाई डिजिटल साक्षरता बनाउन ब्रोडब्याण्ड सेवा, सबै नेपालीलाई इन्टरनेट र ८० प्रतिशत सरकारी सेवा अनलाइनमार्फत पुर्याउने महत्वाकांक्षी लक्ष्य लिएको देखिन्छ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार :

  • सूचना तथा सञ्चार प्रविधिलाई विद्यालय शिक्षामा शैक्षिक रूपान्तरणका लागि विषय, विषयवस्तु र माध्यमका रूपमा प्रयोग गर्ने गरी पाठ्यक्रम विकास गर्ने,
  • सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई सुनिश्चित गर्न पाठ्यक्रम, पाठ्यसामग्री विकास एवं तिनको विद्युतीय प्रतिको उपलब्धतालाई जोड दिने,
  • डिजिटल साक्षरता, प्रविधिमा आधारित सिकाइ सहजीकरणका लागि अन्तरक्रियात्मक विद्युतीय सामग्री विकास गर्ने,
  • सिकाइ सहजीकरण प्रक्रियालाई प्रविधिमा आधारित बनाउन अत्यावश्यक सिकाइ बातावरण विकासलाई प्राथमिकता दिइने उल्लेख छ।

 

शिक्षक सक्षमताको प्रारूप, २०७२ ले शिक्षाका आठवटा सक्षमता तोकेकोमा सक्षमता नं. ८ सूचना तथा सञ्चार प्रविधि रहेको छ, जसअन्तर्गत शिक्षक निम्न कुरामा सक्षम हुनुपर्ने उल्लेख गरिएको छ:

  • सिकाइलाई सहजीकरण गर्न सूचना तथा सञ्चार प्रविधिको एकीकृत सिकाइ रणनीतिको छनोट तथा उपयोग गर्न,
  • सिकारुका आवश्यकता अनुकूल डिजिटल सामग्री विकास गर्न तथा उपलब्ध सामग्रीको अनुकूलन गरी उपयोग गर्न,
  • सूचना प्रविधिका साधनमार्फत सिकारूको स्वसिकाइ प्रवर्धन गर्न, आपसी सञ्चार र सहकार्यलाई प्रभावकारी बनाउन,
  • सिकाइको मूल्याङ्कन र पृष्ठपोषण प्रदान गर्न सूचना तथा सञ्चार प्रविधिको उपयोग गर्न,
  • शिक्षामा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी नीति र डिजिटल संस्कृतिमा भएको विकासबारे परिचित हुँदै सो अनुकूल पेसागत व्यवहार प्रर्दशन गर्न।

 

विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) ले सूचना तथा सञ्चार प्रविधिलाई निम्नानुसारको उद्देश्यका साथ एउटा महत्वपूर्ण कम्पोनेन्टको रूपमा लिइएको छ :

  • विद्यार्थीहरूमा सूचना तथा सञ्चार प्रविधि सीपको विकास गराउने,
  • कक्षाकोठामा हुने शिक्षण सिकाइ क्रियाकलापमा सुधार ल्याउने,
  • सिकाइ सामग्रीको पहुँचमा बिस्तार गर्ने,
  • शैक्षिक व्यवस्थापन र सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउने।

 

विद्यालय क्षेत्र विकास योजना (एसइएसपी)ले विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई जोड दिने पक्षलाई एक अन्तरसम्बन्धित विषयका रूपमा लिएको छ।

शिक्षामा सूचना तथा सञ्चार प्रविधि गुरु योजना २०१३-२०१७ का लक्ष्यअनुसार

  • शिक्षामा समतामूलक पहुँच विस्तार गर्ने,
  • शिक्षामा गुणस्तर वृद्धि गर्ने,
  • डिजिटल डिभाइड कम गर्ने,
  • शिक्षामा सेवा वितरण प्रणाली सुधार गर्ने।

 

सामुदायिक विद्यालयमा ICT प्रयोगको वर्तमान अवस्था

  • सामुदायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगको सन्दर्भलाई हेर्ने हो भने वि.स. २०४९ देखिमात्र विद्यालय तहको शिक्षामा कम्प्युटर प्रविधिसम्बन्धी पठनपाठन हुँदै आएको पाइन्छ।
  • साबिकको शिक्षा विभाग र OLE नेपालको सहकार्यमा आर्थिक वर्ष २०६४/६५ मा सात जिल्ला (काठमाडौँ, ललितपुर, मकवानपुर, डडेलधुरा, कपिलवस्तु, काभ्रे र मुस्ताङ)का २७ विद्यालयमा कक्षा २ देखि ६ सम्म  प्रतिविद्यार्थी एक ल्यापटप (One Laptop Per Child) कार्यक्रम सञ्चालन भएको थियो । यस्तै ३ जिल्लाका ४५ विद्यालयमा Shared Models का रूपमा कार्यक्रम कार्यान्वयन गरिएको थियो ।
  • साझा ई-पार्टी नेपाल नामक सामाजिक संस्थाले राष्ट्रिय पाठ्यक्रममा आधारित कक्षा २ देखि ८ सम्मका नेपाली, गणित, अङ्ग्रेजी, विज्ञान विषयका अन्तरक्रियात्मक डिजिटल शैक्षिक सामग्री तयार गरी सो सहितका ल्यापटप विभिन्न विद्यालयलाई वितरण गरेको थियो। उक्त ल्यापटपमा आठ हजारभन्दा बढी डिजिटल पुस्तक, शिक्षा, स्वास्थ्य, कृषि लगायतका विषयमा अडियो, भिडियो सामग्री समेटिएको थियो।
  • हाल राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत ICT प्रयोगशालाका लागि छनोट भएका सामुदायिक विद्यालयले  स्थानीय तहबाट ससर्त अनुदानमा छ लाख ५० हजार रुपियाँ प्राप्त गर्ने व्यवस्था छ।
  • प्रत्येक माध्यमिक विद्यालयलाई वार्षिक १२ हजार रुपियाँका दरले इन्टरनेट जडानका लागि अनुदान उपलब्ध गराइन्छ । (कोभिड् १९ को जोखिमलाई न्यूनीकरण गरी शैक्षिक गतिविधिलाई निरन्तरता प्रदान गर्नको लागि आर्थिक बर्ष २०७७/७८ मा आधारभूत विद्यालयमा समेत उपलब्ध गराइएको), विद्यालयमा Help Network मार्फत ई-पुस्तकालय कार्यक्रमको प्रारम्भ भएको छ।
  • विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार विद्यालय शिक्षाको कक्षा ४ देखि १० सम्म नै सूचना तथा सञ्चार प्रविधिलाई विज्ञान तथा प्रविधि विषयअन्तर्गत समावेश गरेको छ।
  • आधारभूत शिक्षा पाठ्यक्रम, २०६९ ले कक्षा ६-८ मा स्थानीय विषयको रूपमा कम्प्युटर पढाउन सक्ने व्यवस्था गरेबाट धेरैजसो विद्यालयमा आधारभूत तहसम्म कम्प्युटर शिक्षा विषयलाई स्थानीय विषय वा अन्य विषयको रूपमा अध्ययन अध्यापन गर्दै आइरहेको अवस्था रहेको छ। त्यस्तै कम्प्युटर विज्ञान विषयलाई माध्यमिक तह (९-१२) मा प्राविधिक धारतर्फ समावेश गरिएको छ भने साधारणतर्फ ऐच्छिक विषयको रूपमा पठनपाठन गर्न सकिने व्यवस्था प्रारूपमा रहेको देखिन्छ।
  • विभिन्न विद्यालयले इन्टरनेटको प्रयोग, Virtual Class, Smart Class, E-Governance जस्ता नविनतम पद्धतिलाई सूचना र सञ्चार प्रविधिका रूपमा जोड्न खोजेको देखिन्छ।
  • कुनै कुनै स्थानीय तहबाट ICT सम्बन्धी शिक्षकहरूका लागि क्षमता अभिवृधद्धि कार्यक्रम सञ्चालन गरिएको पाइन्छ।

 

यी र यस्ता विभिन्न महत्वाकांक्षी योजना, नीति तथा कार्यक्रमका बाबजुद विद्यालय तहमा रहेका करिब ८२ लाख विद्यार्थी र चार लाख ५० हजारभन्दा बढी शिक्षकहरुमा सूचना प्रविधिसम्बन्धी ज्ञान, व्यवहारिक प्रयोग र जीवनसँग सूचना र प्रविधिको संयोजन कमै मात्रामा भएको देखिन्छ। नेपालमा विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगतर्फ केही सकारात्मक प्रयास नै नभएका होइनन तापनि सन्तोष गर्ने अवस्था छैन। सहर र गाउँको Digital Gap का कारण पनि गाउँघरका विद्यालयमा प्रविधिको प्रयोग राम्ररी हुन सकेको छैन। आज पनि सहरबजारका केही सुविधासम्पन्न नाम चलेका विद्यालयमा बाहेक सूचना तथा सञ्चार प्रविधिको प्रयोग कमजोर अवस्थामै छ। राष्ट्रिय सूचना प्रविधि नीति, २०७२ अनुसार ९० प्रतिशत नेपालीलाई डिजिटल साक्षरता बनाउने लक्ष्य राखिए पनि हालसम्म २५ प्रतिशत विद्यालयमा मात्र इन्टरनेट पुगेको तथ्याङ्कले देखाएको छ। भएका इन्टरनेटको पनि गति सुस्त तर सेवा शुल्क चाहिँ उच्च भएकोले यसको प्रयोग चाहेर पनि गर्न नसकिने अवस्था रहेको छ। खासगरी दूरदराजका ग्रामीण सार्वजनिक विद्यालयले कम्प्युटर तथा इन्टरनेटको पहुँच पुर्याउन सकेका छैनन्। इन्टरनेट जोडेकामा पनि सेवाको निरन्तरता छैन। कतिपय विद्यालयमा ‘राउटर’ बिग्रिएपछि मर्मत नै नभइ थन्किएका हुन्छन् भने कतिले ‘वाइफाइ’ को मासिक महसुल नतिरेको अवस्था हुन्छ। कतिपय विद्यालयमा शिक्षकले ‘फेसबुक’, ‘म्यासेन्जर’ चलाउँछन् भनेर जोडिएको इन्टरनेट पनि काटिएको सुन्नमा आउँछ।

विद्यालयहरुमा विभिन्न स्रोतबाट कम्प्युटर किनिन्छन्। ती किनिएका कम्प्युटर एउटा कोठामा सजाएर राखिन्छ। केही दिन तामझामजस्तो हुन्छ। केही दिनपछि कुनै कम्प्युटरका ‘माउस’ हुँदैनन्, कुनैका ‘किबोर्ड’ हुँदैनन्, कुनै बिग्रेका हुन्छन्, कुनैका तार मुसाले खाएका अवस्थामा भेटिन्छन्।

अधिकांश विद्यालयमा कम्प्युटर, ल्यापटप स्मार्ट बोर्ड जडान हुनुलाई मात्र सूचना प्रविधिको प्रयोग मान्ने गरिन्छ तर त्यसको प्रयोग कसरी गर्ने भन्ने सम्बन्धमा चासो दिएको पाईंदैन। स्मार्ट बोर्डलाइ समेत Interactive Board ले प्रतिस्थापन गरिसकेको आजको अवस्थामा संसारले सूचना प्रविधिमा हासिल गरेका नवीनतम उपलब्धिलाई शिक्षामा प्रयोग गरेर ठूलो सफलता हासिल गरिसक्दा पनि हाम्रो अवस्था ‘आकासको फल आँखा तरी मर’ भनेजस्तै भएको छ ।

विद्यालयमा कम्प्युटर बिग्रिहाल्दा बनाउने जनशक्तिको अभाव भएर कम्प्युटर त्यत्तिकै थन्किइरहेका हुन्छन्। भौतिक पूर्वाधार तथा शिक्षक प्रविधिमैत्री नभएको अवस्था छ। कम्प्युटर र इन्टरनेटका सम्बन्धमा जानकार रहेका शिक्षक विद्यालयमा कमै मात्र हुने गर्छन्। धेरै विद्यालयमा आज पनि खास ‘आइटी’ कम्प्युटरका जनशक्ति छैनन्। कामचलाउ कम्प्युटर शिक्षकको प्रयोग गरिएको अवस्था छ। विद्यालयले सबै शिक्षकहरुलाई कम्तीमा कम्प्युटर र इन्टरनेटसम्बन्धी आधारभूत ज्ञान दिने वातावरण मिलाउन सकेको हुँदैन। सरोकारवालाले पनि यस्ता कुरामा खासै चासो दिँदैनन्।

कतिपय विद्यालयमा कम्प्युटर प्रशस्त छन्, प्रत्येक शिक्षकलाई ल्यापटप पनि दिइएको छ। विद्यालयमा उच्च गतिको इन्टरनेट पनि जोडिएको छ। तर ती प्रविधिको प्रयोग कसरी गर्ने भन्ने सम्बन्धमा एक प्रकारको अलमल भएको पाइन्छ । विद्यार्थीलाई के कुरा कसरी, कतिबेला, कुन प्रविधिको माध्यमबाट सिकाउने भन्ने सम्बन्धमा ज्ञानको कमी भएकाले ती स्रोत साधनको समुचित प्रयोग भएको पाइँदैन। साधन नै नहुने एउटा समस्या छ भने भएका साधनको उचित प्रयोग गर्ने चुस्त व्यवस्थापन तथा शिक्षकमा इच्छाशक्तिको कमी अर्को समस्या छ। अपवादका रूपमा इच्छाशक्ति हुने कतिपय शिक्षकले ‘प्रविधिमैत्री शिक्षक समाज,नेपाल’ लगायत अन्य प्रविधिसम्बन्धी काम गर्ने संस्थाका कार्यक्रममा जोडिएर प्रविधि प्रयोग गर्ने तरिका, विषयवस्तुसँग प्रविधि जोड्ने, शैक्षिक सामग्री तयार गर्ने तथा प्रशासनिक कार्यमा प्रविधि प्रयोगको सीप हासिल गरेको देखिन्छ। कतिपय विद्यालयमा त आफ्नो विषयमा रहेका प्रविधिसम्बन्धी विषयवस्तुलाई समेत कम्प्युटर शिक्षकलाई अध्यापन गर्न लगाउने प्रवृत्ति भेटिन्छ।

विद्यालयमा प्रविधि प्रयोगको अर्को पक्ष विद्यालयका प्रशासनिक तथा दैनिक क्रियाकलापमा कम्प्युटर तथा इन्टरनेटको प्रयोगको पक्ष हो । आज पनि थुप्रै विद्यालयमा विद्यार्थीले शुल्क बुझाउन जाँदा उही पुरानो तरिकाको रसिद काटेर दिने प्रचलन छ। विद्यार्थीलाई ‘मार्कसिट’ वा ‘चारित्रिक प्रमाणपत्र’ वा अन्य कागजात बनाउँदा पनि कम्प्युटर तथा इन्टरनेटको प्रयोग भएको पाइँदैन। शिक्षा मन्त्रालयले तयार गरेका कतिपय सप्टवेयर पनि विद्यालयमा चलाउन नसकेको अवस्था छ । विद्यार्थी मूल्याङ्कनको क्षेत्रमा त झन प्रविधिको प्रयोग धेरै प्रभावकारी हुनेतर्फ सम्बन्धित सरोकारवालाको खासै ध्यान पुग्न सकेको छैन।

शिक्षामा सूचना तथा सञ्चारको प्रयोग सम्बन्धमा देखा परेका समस्या/चुनौती

  • शिक्षकहरूमा ज्ञान तथा इच्छाशक्तिको कमी,
  • ICT युक्त बातावरण सिर्जना गर्नका लागि पूर्वाधारको अभाव हुनु,
  • सूचना प्रविधिसम्बन्धी दक्ष मानवीय स्रोतको विकासको कमी,
  • महँगो इन्टरनेट शुल्क/पर्याप्त बजेटको अभाव
  • सूचना तथा प्रविधिलाई विषय वा माध्यम के का रूपमा ल्याउने भन्ने अस्पष्टता रहनु,
  • पाठ्यक्रममा कम्प्युटर शिक्षा लगायतका प्रविधिसम्बन्धी विषयको व्यापकता हुनु,
  • सबै विषय, तह र कक्षाका पाठ्यसामग्री डिजिटाइजेसन हुन नसक्नु
  • Digital Divide,
  • प्रविधिको दुरुपयोग हुने डर (साइबर अपराध,Bullying,Hacking,etc),
  • विद्यार्थीहरूमा क्षमताको कमी,
  • lack of knowledge for meaningful integration of ICT.

 

समस्या समाधानका उपाय

सर्वप्रथम त शिक्षकहरुलाई सूचना तथा प्रविधि प्रयोगको लागि शारीरिक तथा मानसिक रूपमा तयार पार्नुपर्दछ । हरेक स्थानीय तहले सूचना र प्रविधिको शिक्षण सिकाइमा प्रयोग गर्ने र राम्रा शिक्षकहरुलाई मनोबल उच्च बनाउने कार्यक्रम सञ्चालन गरी यसलाई प्रचार प्रसारमार्फत अन्य शिक्षकमा पनि उत्प्रेरणा जगाउन सक्नुपर्दछ । इच्छुक शिक्षकलाई यस सम्बन्धी तालिम र डिजिटल सामग्री दिई मौका दिनुपर्दछ। तालिम कोटा प्रणालीमा नभई अनिवार्य गराई शिक्षकलाई डिजिटल साक्षर बनाउनुपर्छ। शिक्षकलाई इच्छा जगाउने प्रयासले मात्र सम्भव नदेखिएमा प्रविधि सिकाइको लागि बाध्यात्मक अवस्था सिर्जना गरिनुपर्दछ। नेपाल सरकारले अभियानका रूपमा डिजिटल शिक्षालाई लैजानुपर्दछ। स्थानीय तहले पनि यसमा अहं भूमिका निर्वाह गर्न सक्नुपर्दछ । यसका साथै :

  •  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा विनियोजित छ अर्ब रुपियाँ राष्ट्रपति शैक्षिक सूचना प्रविधि सुधार कार्यक्रमको नामकरण गरी उक्त बजेटलाई यो क्षेत्रमा लगानी गर्न सकेमा थप पुर्नबल प्रदान हुने देखिन्छ,
  • कम्प्युटर ल्याब स्थापनालाई प्राथमिकता दिए जस्तै शिक्षक तथा विद्यार्थीको वृत्ति विकासमा अझ बढी प्राथमिकता दिनु पर्दछ,
  • आवश्यकतामा आधारित तालिम तथा अन्य शिक्षकको तालिममा अनिवार्य रूपमा सूचना र प्रविधिसम्बन्धी विषयवस्तु समावेश गर्नुपर्दछ,
  • कार्यसम्पादन मूल्याङ्कनको लागि वा शिक्षक बढुवाका लागि अनिवार्य सूचना प्रविधिको ज्ञान हुनुपर्ने बाध्यकारी  व्यवस्था कायम गर्नुपर्दछ,
  • नेपाल सरकार, स्थानीय तह तथा शिक्षकको संयुक्त लगानीमा ल्यापटप तथा डिजिटल सामग्री खरिद गर्ने र उक्त सामग्री प्रयोगको जवाफदेहिता/उत्तरदायित्व सम्पूर्ण रूपमा शिक्षकलाई दिनुपर्दछ,
  • दक्ष प्राविधिक जनशक्तिको उत्पादन र सूचना प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापन गर्न राष्ट्रिय नीति तथा कार्यक्रमलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्दछ,
  • ‘सूचना तथा सञ्चार प्रविधिलाई विद्यालय शिक्षामा शैक्षिक रूपान्तरणका लागि विषय, विषयबस्तु र माध्यमका रूपमा प्रयोग गर्ने गरी पाठ्यक्रम विकास गर्ने’ भन्ने राष्ट्रिय पाठ्यक्रम प्रारुपको उद्देश्यलाई कार्यान्वयन गर्नुपर्दछ,
  • सूचना तथा प्रविधिमा विद्यार्थीहरुको सहभागिता वृद्धि गर्न अभिभावकको लगानीमा वृद्धि गर्नुपर्छ।

 

निष्कर्ष

आजका बालबालिका प्रविधिमा धेरै अगाडि भइसके। उनीहरू प्रविधिमैत्री भइसक्दा शिक्षकले उही पुरानो २० वर्ष अगाडि पढेको ज्ञानका आधारमा पढाएर आजका बालबालिकाको मनोविज्ञानलाई पच्छ्याउन सकिन्न। उनीहरुको रुचि एकातिर छ, हामीले अर्कैतिर धकेल्दा बच्चाले सिकाइमा प्रगति गर्न सक्दैन। स-साना कुरामा परिवर्तन गर्दा विद्यालय शिक्षाको गुणस्तरमा ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्नेतर्फ सबैको ध्यान जान जरूरी छ। ठूला र सुविधासम्पन्न भवन भए पनि शिक्षण सिकाइको तरिका उही पुरानो भयो भने ती भवनको अर्थ हुँदैन। खासमा आजका विद्यालयको समस्या भौतिकभन्दा पनि कक्षाकोठाभित्रको सिकाइको हो, पाठ्यक्रम र पाठ्युपुस्तकको हो। सबै कुरा भएर पनि सिकाइ पद्धतिमा नवीनता आएन भने आजका विद्यार्थीका आवश्यकता पूरा गर्न सकिँदैन भन्ने तथ्यलाई सबैले मनन गर्नु जरुरी भइसकेको छ।

(शिक्षक दवाडी सरस्वती माध्यमिक विद्यालय, धनगढी–७, कैलालीमा अध्यापनरत छिन् ।)

 

A Levels MA
Thuprai - Books and E-books