A Levels MA

शैक्षिकस्तर बढाउन गैरसरकारी संस्था सक्रिय

खलङ्गा, १३ चैत (रासस) : जुम्लाको पातारासी क्षेत्रमा किर्डाक नेपाल र काष्डा जुम्लाले गरेको कामका विषयमा मङ्गलबार संयुक्त अनुगमन गरिएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित परियोजनाको संयुक्त अनुगमन गरिएको छ । 

बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्नका लागि जिल्लाका विभिन्न गाउँमा प्लान इन्टरनेशनल र यी संस्थाहरुले साझेदारीमा शुरु गरेका परियोजनाअन्तर्गत पढाइ शिविर सञ्चालन गरेका छन् । शैक्षिकस्तर न्यून भएका बालबालिकालाई पढाइ शिविरमार्फत उनीहरुको सिकाइ उपलब्धिमा वृद्धि गर्नका लागि पढाइ शिविर सञ्चालन गरिएको हो । 

बालबालिकाका लागि मनोरञ्जनपूर्वक सुरक्षित स्थानमा पढाइ विकास गर्न आफ्ना साथीसँगै सिक्ने अवसर प्रदान गरिएको छ । पढाइ केन्द्रमा बालबालिका विभिन्न क्रियाकलापमा व्यस्त हुने गरेका छन् । पढाइ केन्द्र पाँच सीपमा आधारित पाठ्यक्रमअनुसार सञ्चालन गर्ने गरिएको छ । बालबालिकालाई पढाइप्रति रुचि जगाउन र पठन सीपमा उपलब्धि हासिल गर्न सहयोग पु¥याएको छ । 

बालबालिकाको पढ्ने बानीको विकास गरी सिकाइ उपलब्धिमा सुधार गर्ने प्रमुख उद्देश्यका साथ पढाइ शिविर सञ्चालनमा ल्याइएको किर्डाक नेपाल जुम्लामा जिल्ला संयोजक रेशमबहादुर शाहीले जानकारी दिनुभयो । यस्तै बालबालिकाले बुझेर पढ्न तथा पढाइ गति, शुद्ध उच्चारण, वान्की मिलाएर पढ्न सक्ने बानीको विकासमा सहयोग गर्ने, भाषाका चार सीप सुनाइ, बोलाइ, पढाइ र लेखाइ विकासमा सहयोग पु¥याउनेजस्ता उद्देश्यका साथ पढाइ शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । पढाइ शिविरमा चार आधारभूत सिद्धान्त समावेश गरिएको छ । 

जसमा पढाइ सीपमा केन्द्रित गर्ने, पढाइलाई जीवनसँग जोडेर लिने, पढाइको वातावरणलाई सक्रिय तथा आनन्ददायक बनाउने, विद्यालय तथा समुदायस्तरमा पढाइ विकाससम्बन्धी सामग्री निर्माण गरिन्छ । पढाइ शिविरमा विभिन्न सीप सिकाउने गरिएको छ । जसमा अक्षर ज्ञान, स्वर सचेतना, शब्द ज्ञान, पढाइ गति र पढाइ बोध रहेका छन् । शिविरमा विभिन्न चरण रहेका छन् । जसमा स्वतन्त्र खेल, गीत गाउने, विषयवस्तुका बारेमा जानकारी, कथा भन्ने, क्रियाकलाप, सामग्री बनाउने र लैजाने, पुनरावलोकन रहेका छन् । पढाइ शिविरमा माथिल्लो कक्षा र पढाइ विकास शिविरमा पढ्नेहरुबीच पढ्ने साथी बनाउने, पढ्ने साथी बनाउँदा सम्बन्धित गाउँ तथा टोलको हुनुपर्ने व्यवस्था गरिएको छ । 

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की, उपप्रमुख कार्मा बुढा, पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोरा, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापा, समन्वय अधिकारी हरिप्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख महेशदत्त देवकोटालगायतको टोलीले संयुक्त अनुगमन गरेको हो । लोर्पा गाउँमा रहेको शङ्कर आधारभूत विद्यालय र रिडिङ क्याम्पको पनि अनुगमन गरिएको छ । 

प्रत्येक शनिबार सञ्चालन गरिने पढाइ शिविरमा सिकाइ उपलब्धि कम भएका बालबालिकालाई भाषा, गणित र अनुसन्धानमा आधारित भएर गीत तथा खेलको माध्यमबाट सिकाउने गरिएको किर्डाक नेपाल जुम्लाका दीपराज रावतले बताउनुभयो । शिविर सञ्चालनका लागि स्थानीय तहसँग छलफल गरी स्थानीय तहको शिक्षा योजनामा समावेशका लागि पहल गरिने उहाँको भनाइ छ । 

सरकारले तयार पारेको पाठ्यक्रममा आधारित भएर सञ्चालन हुने शिविरमा हरेक दिन फरक–फरक विषयवस्तुका बारेमा छलफल हुने गरेको रावतले बताउनुभयो । बालबालिकाको सिकाइ उपलब्धिमा वृद्धि गर्नका लागि पढाइ शिविरले सहयोग गरेको शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख महेशदत्त देवकोटाले बताउनुभयो । 

पातारासी गाउँपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले निरन्तर सिकाइका लागि पढाइ शिविर आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रो परिवारका बालबालिका त घरमा पनि पढ्छन्, तर कमजोर परिवारका बालबालिका विद्यालयमा पनि नियमित हँुदैनन्, त्यस्ता कमजोर बालबालिकाका लागि शिविर सहयोगी बनेको छ ।” 

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले बालबालिकालाई करकाप गरेर पढाउनुभन्दा उनीहरुको रुचि र चाहनाअनुसारको शिक्षा दिनुपर्ने बताउनुभयो । 

Thuprai - Books and E-books