After SEE Portal

स्कुले पाठ्यपुस्तकमा गलत जानकारी

Bridge Course

स्कुले पाठ्यपुस्तकमा कोरोना भाइरसलाई रोग भनी उल्लेख गरिएको पाइएको छ । कोरोना भाइरस रोग नभई कारक हो । कोभिड–१९ लाई रोग मानिए पनि कोरोना भाइरसलाई रोग भन्नु त्रुटी हुने चिकित्सकहरु बताउँछन् ।

चालु शैक्षिक सत्रमा परीक्षणमा लगिएका स्कुले पाठ्यपुस्तकको भित्री आवरणमा कोरोना भाइरससम्बन्धी जानकारी प्रकाशित गरिएको छ । प्रकाशित जानकारीमा ‘कोरोना भाइरस रोग’ लेखिएको छ । 

पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको सामग्रीलाई हुबहु पाठ्यपुस्तकमा प्रयोग गरिएको बताए ।

स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले कोरोना भाइरसलाई रोग मान्नु गलत हुने बताउँदै भने, “कोभिड–१९ लाई रोग मान्न सकिन्छ, तर भाइरस रोग होइन ।”

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको सो सामग्रीलाई परीक्षणमा लगिएको कक्षा २, ३ र ६ का सबै पाठ्यपुस्तकका भित्री आवरणमा छपाइएको छ । सुरु र अन्तिमको भित्री आवरणमा एउटै सामग्री छापिएको छ । त्यसमा भाषिक त्रुटी पनि थुप्रै छ ।

केन्द्रका प्रवक्ता भट्टराईले स्वास्थ्य मन्त्रालयबाट तयारी सामग्री प्राप्त गरेको र त्यसैलाई प्रयोग गरिएको बताउँदै भने, “त्यहाँबाट प्राप्त भएको सामग्रीलाई चलाइएन जस्ताको तस्तै छाप्यौँ । चलाउन सक्ने अवस्था पनि थिएन । भाषिक त्रुटी छ, तर समय अभावले जे जस्तो उपलब्ध भयो त्यही नै छाप्नु पर्‍यो ।” कोभिड–१९ का बारेमा पाठ्यपुस्तकमा छपाइ गर्ने भनेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको थियो ।

यसैबीच चालु शैक्षिक सत्रमा १८ जिल्लाका १०३ विद्यालयमा कक्षा २ र ३ का तथा प्रत्येक प्रदेशका कम्तीमा एक जिल्लाका गरी २८ विद्यालयमा कक्षा ६ का पाठ्यपुस्तक परीक्षणमा लगिएको छ । गत वर्ष कक्षा १ का पाठ्यपुस्तक परीक्षणमा गएका थिए । यस वर्ष कक्षा ११ का पाठ्यपुस्तक पनि परीक्षणमा लैजाने भनिए पनि ती पाठ्यपुस्तक हालसम्म तयार भइसकेका छैनन् ।

कक्षा २ र ३ मा नेपाली, अङ्ग्रेजी, गणित र हाम्रो सेरोफेरो तथा कक्षा ६ मा नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, विज्ञान तथा प्रविधि शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षा परीक्षणमा लगिएको छ ।

केन्द्रका प्रवक्ता भट्टराईले विद्यालयमा पाठ्यपुस्तक पठाइसकिएको तर विद्यार्थीका हातमा पुगे नपुगेको थाहा हुन नसकेको बताउँदै भने, “अहिले पठनपाठन हुन सकेको छैन । अवस्था सामान्य भएपछि पठनपाठन हुनेछ । यो वर्ष शैक्षिक सत्र खेर जाने अवस्था भए आगामी वर्ष पुनः परीक्षणमा जानेछ ।”

A Levels MA
Thuprai - Books and E-books