A Levels MA

सिरहामा दलित छात्रावास भवन अलपत्र

लहान, ११ भदौ (रासस) : उपभोक्ता समितिको लापरवाहीका कारण प्रदेश नं २ सरकारद्वारा सदरमुकाम सिरहामा निर्माणाधीन दलित छात्रावास भवन अलपत्र परेको छ । 

प्रदेश सरकारको रु ९० लाखको लागतमा सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस परिसरमा निर्माणाधीन दलित छात्रावास अलपत्र परेको हो ।

आर्थिक वर्ष २०७५÷७६ भित्रै निर्माण सकिने गरी निर्माण थालिएको उक्त छात्रावास भवन अलपत्र पर्दा छात्रावास भवनको रु ३९ लाख रकम फ्रिज भएको पूर्वधार विकास कार्यलयका इञ्जिनीयर पशुपति साहले जानकारी दिनुभयो । 

भवन निर्माणका लागि छुट्याएको बजेटमध्ये हालसम्म रु ४३ लाख खर्च भएको र रु आठ लाखको फनिर्चर खरीद गरिएको उहाँको भनाइ छ ।

अघिल्लै आर्थिक वर्षमा सकिनुपर्ने छात्रावास निर्माणको कार्य चालू आवको करीब डेढ महीना बित्नै लाग्दासमेत काम सम्पन्न हुने कुनै छाँटकाँट नदेखिएको स्थानीयवासीले बताएका छन् । निर्माणस्थलमा निर्माण सामग्री लथालिङ्ग फालिएका छन् भने मजदुरले आउनै छाडेका स्थानीय सीताराम साहले बताउनुभयो । 

छात्रावास निर्माणका लागि आएको बजेट काम पूरा नभएकाले फ्रिज भएपछि पुनः बजेट आउने वा नआउने अन्योलता बढेको छ ।

दलित अगुवा रामसेवक रामले भन्नुभयो, “प्रदेश सरकारले दलित छात्रावास भवन बनाउन चाहेको छ, तर उपभोक्ता समितिको लापरवाहीका कारण निर्माणकार्य बीचमै अलपत्र पर्दा अन्योलता बढेको छ ।” अधुरो छाडिएको भवनको निर्माणकार्य पूरा गरी छात्रावास सञ्चालनमा ल्याउन प्रदेश सरकारसँग दलित अगुवाले आग्रहसमेत गरेका छन् ।

निर्माणाधीन भवन अगाडि पानी जमेर खाल्डो बनेको छ । समाजमा छुवाछूतका कारण दलित समुदायका विद्यार्थीलाई बजारमा कोठाभाडा लिएर अध्ययन गर्न समस्या भइरहेको कुरालाई मनन गरी प्रदेश सरकारले प्रदेशका आठै जिल्लामा दलित छात्रावास भवन बनाउन थालेको हो ।

Thuprai - Books and E-books