A Levels MA

विश्वविद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री बनाउनुपर्नेः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री बनाउनुपर्नेमा बताएका छन् । नेपाल प्राध्यापक सङ्घको  ६० औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलकको भविष्य सँग जोडिएको विश्वविद्यालयको पठनपाठनलाई अनुसन्धानमूलक जीवनोपयोगी र रोजगारमूलक बनाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले  प्राध्यापकहरूको हक हितको संरक्षण र वृत्ति विकासमा सरकार प्रतिबद्ध रहेको भदै मुलुकको समृद्धिका लागि सरकारलाई सहयोग गर्न आग्रह समेत गरे । उनले  विश्वविद्यालयका समस्या र चुनौतीहरूलाई आपसी समन्वय र सहकार्य मार्फत टुङ्ग्याउनु पर्नेमा जोड दिए । ‘विश्वविद्यालय, प्राध्यापक र विद्यार्थीबीच सुमधुर सम्बन्ध कायम गरेर आपसी समस्या र चुनौतीलाई साझा रुपमा समाधान गर्नपर्छ ।’ उनले भने, ‘कुनै पनि देशको विकास त्यस देशको शैक्षिक गुणस्तरका आधारमा मापन हुन्छ । त्यसैले इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालायले समाजमा आवश्यक र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति तयार गर्नुपर्छ । त्यसमा प्राध्यापकले पूर्ण जिम्मेवारीका साथ काम गर्ने विश्वास व्यक्त गर्दछु।’

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा सुधारमा प्राध्यापकहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । मन्त्री पौडेलले नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था गरी उच्च शिक्षाका लागि विदेश  जाने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखेका थिए ।

मन्त्री पौडेलले विभिन्न बहानामा  विश्वविद्यालयमा तालाबन्दी गर्ने कार्यलाई निरुत्साहित गरी वार्ता र छलफलका माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए ।

Thuprai - Books and E-books