After SEE Portal

विद्यालयको नाममा ५९ विगाहा जग्गा, भोगचलन अढाई विगाहा

Bridge Course

सामुदायिक विद्यालयका नाममा जग्गा देखिन्छ तर उपभोग अर्कैले गरिरहेका छन् । लाभ विद्यालयले हासिल गर्न सकेका छैनन् ।

रंगेलीको त्रिभुवन माविको जग्गामा सुकुम्वासीका टहरा ठडिएको बर्षौ भयो । तत्कालीन राजनीतिक नेतृत्वले विद्यालयको जग्गामा सुकुम्वासी ल्याएर राखेका थिए । अहिले सुकुम्वासीको बस्ती हटाउन विद्यालयलाई सकस परेको छ । पटक–पटक सूचना जारी गरे पनि उनीहरुले घर टहरा भत्काउन नमानेपछि के गर्ने भन्नेमा विद्यालय अन्यौलमा परेको छ । विद्यालयको ४ विगाहा जग्गामा सुकुम्वासी बस्दै आएका छन् । विद्यालयको नाउँमा भने ३२ विगाहा जमिन छ । ४ विगाहा जग्गामा अरुले नै दावी गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक साहले बताए । उनका अनुसार विद्यालयले १६ विगाहा जग्गा मल्टी फार्मका लागि भाडामा दिएको छ । ८ विगाहा जग्गा धान खेती हुँदै आएको उनले बताए । ‘निजी स्रोतमा रहेका कर्मचारीलाई धानखेती र मल्टीफार्मबाट भएको आम्दानीबाट तलव खुवाउने गरेका छौं,’ अध्यक्ष साहले भने ।

विराटनगरको गोग्राहा माविको नाममा ५९ रोपनी छ । तर विद्यालयले अढाई विगाहा जग्गा मात्र भोगचलन गर्दै आएको छ । विद्यालयले लामो समयदेखि आफ्नो जग्गा खोज्दा खोज्दै हैरान भइसकेको छ तर श्रेस्तामा भएको ५९ विगाहा भेट्टाउन नै गाह्रो भइसकेको छ । मालपोत कार्यालयको रेकर्डमा बिराटनगर महानगरपालिकासँग सिमाना जोडिएको मोरङको बुढीगंगा गाउँपालिकाको वडा नम्बर ६ र ७ मा विद्यालयको जग्गा छ । तर सो जग्गा विद्यालयले अहिलेसम्म भोगचलन नै गरेको छैन ।

‘विद्यालयले अढाई विगाहा जग्गा मात्र भोगचलन गरिरहेको छ,’ प्रधानाध्यापक वेदुराम खतिवडाले भने, ‘बाँकी जग्गामा सुकुम्वासी बसेको जानकारी छ ।’

पूर्व मन्त्री लालवावु पण्डित सुकुम्वासी समस्या समाधान आयोगको मोरङ अध्यक्ष भएका समयमा धेरै सुकुम्वासीले विद्यालयको नाउँमा रहेको जग्गाको धनीपुर्जा आफ्नो नाममा गरेको विद्यालय प्रशासनको दुखेसो छ ।

विद्यालयले फेला पारेको अढाई विगाहा जग्गा माछा पालनका लागि भाडामा दिइएको छ । जसबाट बार्षिक ५१ हजार रुपियाँ भाडा आउछ । ‘माछा पालनका लागि दिईएको जग्गा पनि दुई बर्षअघि मात्रै फेला पारिएको हो,’ प्रधानाध्यापक खतिवडाले भने, ‘यस अघि त्यो जग्गा पनि अरुले नै भोगचलन गर्दै आएका थिए ।’

विराटनगरको आदर्श माध्यमिक विद्यालयको नाउँमा धनपालथान गाउँपालिकाको सोराभागमा १७ विगाहा जग्गा छ । विद्यालयले सवै जग्गा धानखेतीका लागि भाडामा दिएको छ । धानखेतीबाट विद्यालयलाई ४ लाख आम्दानी हुने प्रधानाध्यापक तुलसीप्रसाद दुलालले जानकारी दिए । विद्यालयले आफ्नो कम्पाउण्डको पूर्वपट्टि १४ वटा सटर भाडामा लगाएको छ । सटरको भाडाबाट बार्षिक १० लाख आम्दानी हुने प्रधानाध्यापक दुलालले बताए ।

बुढीगंगामा रहेको सर्वहितैषी आधारभूत विद्यालयको नाउँमा ११ विगाहा जग्गा छ । विद्यालयले करिब ७ कठ्ठा जग्गाको मात्रै भोगचलन गरिरहेको छ । पुर्जा अनुसारको जग्गा विद्यालयले खोजी गरिरहेको छ । ‘जग्गा खोजीका लागि वडा कार्यालयलाई पनि सहयोग गरिदिन आग्रह गरेका छौं,’ प्रधानाध्यापक विश्वेश्वर विश्वासले भने ।

उर्लाबारीको राधिका माविको १४ विगााह जग्गा थियो । विद्यालयले ३ विगाहा भने केही समयअघि विक्री गरेको छ । आफ्नो जग्गामा सुकुम्वासी वस्ती वसेपछि विद्यालयले सुकुम्वासीलाई हटाएर विक्री गरेको हो । पटक पटक सुकुम्वासी वस्ती वस्ने गरेपछि जग्गा विक्री गरिएको प्रधानाध्यापक कुमार पोखरेलले बताए । उनले भने, ‘म प्रधानाध्यापक भएर आउनुअघि नै जग्गा विद्यालयले विक्री गरिसकेको थियो । विद्यालयसँग अहिले ११ विगाहा छ ।’ प्रधानाध्यापक पोखरेलका अनुसार सवै जमिन धानखेतीका लागि भाडामा दिइएको छ । विद्यालयले आफ्नो हाताभित्र १० वटा सटर पनि भाडामा लगाएको छ । प्रतिसटर ४ हजार देखि ५ हजार रुपैयाँसम्म भाडा उठ्ने गरेको छ ।

सामुदायिक विद्यालयको नाउँमा धेरै जग्गा जमिन देखिए पनि उपभोग गर्न नपाएको विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले जानकारी दियो । मोरङका पुराना अधिकांश सामुदायिक विद्यालयको आफ्नै जग्गा प्रशसस्त भए पनि राजनैतिक हस्तक्षेपका कारण विद्यालयले आफ्नो अचल सम्पत्ति उपभोग गर्न नपाएका महाशाखाका एक अधिकृतले बताए ।

A Levels MA
Thuprai - Books and E-books