After SEE Portal

बनियाँशैलीमा केएमसीको करारनामा

Bridge Course

आर्थिक शोषण गर्न ख्याती कमाएको काठमाडौँ मेडिकल कलेजले करारनामा गराएपछिमात्र एमबीबीएस अध्ययनका लागि भर्ना लिने गरेको पाइएको छ । चिकित्सा शिक्षा आयोगले एक सय कोटाका लागि सिफारिस गरेका विद्यार्थी यतिबेला सो कलेजमा भर्ना हुन थालेका छन् । भर्ना गर्नुअघि करारनामा गराउने गरिएको छ ।

पाँच पृष्ठको करारनामामा एउटा बुँदामात्र कलेजको दायित्वका रूपमा उल्लेख गरिएको छ । बाँकी सबै विद्यार्थीको दायित्वमा थोपरिएको छ । करारनामामा विद्यार्थीको अनुशासन तथा आचारसंहिताभन्दा पनि आर्थिक पक्षसँग जोडिएका विषय बढी उल्लेख छ ।

करारनामा गरेपछि एक विद्यार्थीले गुनासो गरे, “कलेजको ध्यान आर्थिक पाटोमा बढी रहेको देखियो । चमडी जाए मगर दमडी नजाए भन्ने सोच रहेको पाइयो ।”

ईडीयूपत्रमा यसअघि सोही कलेजको समाचार प्रकाशित भएपछि कलेज सञ्चालकले अध्ययन शुल्कको किस्ता समय लम्ब्याउन वाध्य भएका छन् । त्यसबेला यस विषयका बारेमा कलेज सञ्चालक र विद्यार्थीबीच भएको संवादको अडियो रेकर्ड ईडीयूपत्रलाई प्राप्त भएको थियो । कलेज सञ्चालकले एक वर्षभित्र सबै किस्ता बुझाउनुपर्ने स्पष्ट भनेका थिए । “समाचार प्रकाशित भएपछि किस्ताको अवधि लम्ब्याउन कलेज वाध्य भएको छ । यसका लागि ईडीयूपत्रप्रति आभारी छौँ” एक विद्यार्थीले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने ।

कलेज प्रशासनले आगामी २०८१ साल मङ्सिर १ गतेभित्र अन्तिम तेस्रो किस्तावापतको रकम बुझाइसक्न करारनामा गराएको छ । तर छात्रावास अनिवार्य गराएको छ । छात्रावासभन्दा बाहिर विद्यार्थीलाई रहन अनुमति नदिने कलेज प्रशासनले भनेको कुराप्रति विद्यार्थीले गुनासो व्यक्त गरेका छन् । मङ्सिर २७ गते करारनामा गराए पनि मङ्सिर १९ गतेदेखि नै लागू हुने गरी छात्रावासको शुल्क उठाइएको छ । डबल सेयरिङका लागि मासिक १२ हजार रुपियाँ र एकलका लागि मासिक २४ हजार रुपियाँ उठाइएको छ । यो शुल्क विद्यार्थीले एक वर्षकै एकमुष्ठ बुझाउनै पर्ने र यसमा वार्षिक पाँच प्रतिशतका दरले वृद्धि गर्ने भनी करारनामा गराइएको छ । छात्रावासअन्तर्गत कोठाका लागि मात्र यो शुल्क हो । खानाका लागि अतिरिक्त शुल्क उठाइनेछ ।

राज्यलाई तिर्नुपर्ने शिक्षा कर पनि विद्यार्थीले तिर्नुपर्ने करारनामा गरिएको छ । सम्बन्धन शुल्क, शिक्षा मन्त्रालयको दर्ता शुल्क लगायतका शुल्कपछि जानकारी गराइने र सोको भुक्तानी पहिलो पक्ष अर्थात् विद्यार्थीले नै तिर्नुपर्ने करारनामामा उल्लेख छ ।

अध्ययनका अवधिमा स्वास्थ्य उपचार गर्नुपरेमा विद्यार्थीले नै खर्च व्यहोर्नुपर्ने, भ्याटसहितको मेस शुल्क, भर्नाका लागि पाँच हजार रुपियाँ लगायत विद्यार्थीले नै तिर्नुपर्ने छ । मेसमै खाना खानुपर्ने र सो वापतको शुल्क बजारको मूल्यअनुसार कायम हुने भनिएको छ । मेस शुल्क करारनामामा खुलाइएको छैन । मेसमा खानका लागि अग्रिम दुई महिनाकै शुल्क बुझाउनुपर्ने उल्लेख छ ।

अध्ययनपश्चात विद्यार्थीले इन्टर्नसिप सोही कलेजमा गर्ने भएमा भर्ना हुँदा नै दुई लाख ४० हजार रुपियाँ बुझाउनुपर्ने करारनामामा उल्लेख छ । भर्ना प्रक्रियामा रहेका एक विद्यार्थीले गुनासो गरे, “भर्ना भएकै छैनौँ, इन्टर्नसिप कहाँ गर्ने भन्ने नै अहिले कसरी निधो गर्न सकिन्छ ? तर अहिले नै निर्णय गरेर शुल्क तिर्नु भनिएको छ । यस्तो लूट पनि हुन्छ ?”

तोकिएको शुल्क समयमा नै बुझाउन र नबुझाए विलम्ब शुल्क १० हजार रुपियाँमा दैनिक १० रुपियाँका दरले जरिबाना तोकिएको छ । “यो ब्याज दर असुल्ने कुरा त बनियाँको जस्तो कसिकसाउ प्रवृत्ति भयो । पाइला पाइलामा पैसामात्र खोजिएको छ” एक अभिभावकले गुनासो गरे, “हामीहरुको घर काठमाडौँ हो । घरबाट आउजाउ गरेर पढाउन खोजेका छौँ तर कलेज मान्दैन । अनिवार्य भन्छ । यस बारेमा नियमन निकाय मौन हुँदा लुट्नका लागि यिनीहरुको मनोबल बढेको छ ।”

छात्रावासमा बस्दा विद्यार्थीले प्रयोग गर्ने इन्टरनेट (वाइफाइ), पानी र विद्युतको रकम अलग बुझाउनुपर्ने कुरा करारनामामा प्रष्ट लेखिएको छ । भर्नाको समयमा तथा प्रत्येक सेमेस्ट सुरु हुनुअघि सेरोलोजी र डोपिङ टेस्ट विद्यार्थीले सोही मेडिकल कलेजमा गराउनुपर्ने र त्यसवापत शुल्क तिर्नुपर्ने हुन्छ ।

राजनीतिक गुटबन्दी नगर्ने पनि सचेत गराउँदै त्यस्तो गरेमा कलेजबाट निस्काशन गरिने र शुल्क फिर्ता नहुने स्पष्ट गरिएको छ । करारनामामा कलेजले आफूलाई एजेन्ट नभई एमबीबीएस शिक्षा प्रदान गर्ने आधिकारिक शिक्षण संस्था हो भन्ने बुझ्नुपर्छ भनेर लेखिएको छ । अभिभावकलाई करारनामामा गराइ विद्यार्थीलाई साक्षी राखिएको छ ।

चिकित्सा शिक्षा आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले विशेष गरी काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त मेडिकल कलेजहरुबाट गुनासा आएको बताउँदै भने, “पटक पटक सचेत गराइएको छ तर मान्दैनन् । मेडिकल शिक्षामा निकै अव्यवस्थित रहेछ । व्यवस्थित गराउन लागिरहेका छौँ ।”   

 

A Levels MA
Thuprai - Books and E-books