After SEE Portal

विद्यार्थी कृषि कर्ममा

Bridge Course

गल्याङ बहुमुखी क्याम्पसका विद्यार्थी क्याम्पसको अध्ययनका साथसाथै कृषि कर्ममा समेत लागेका छन् । क्याम्पसमा कृषिसम्बन्धी पठनपाठन नभए पनि विद्यार्थीलाई शैक्षिक ज्ञानका साथै व्यावहारिक ज्ञान प्रदान गरी कृषि क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले गल्याङ बहुमुखी क्याम्पस कृषि तथा पशुपालन समूह गठन गरिएको छ । सोही समूहले सोमबार वडा नम्बर ११ कट्टीमा विद्यार्थीका लागि अदुवा तथा तरकारी खेतीसम्बन्धी तालीम आयोजना गरेर विद्यार्थीलाई कृषि कर्म र यसको महत्वका बारेमा जानकारी दिँदै सो पेशामा लाग्न थप हौसला प्रदान गरेको छ ।

तालीममा सहभागी विद्यार्थीले प्रशिक्षकले भनेअनुसार आआफ्नो जिम्मेवारीको काममा उत्साहका साथ लागेका थिए । कोही विद्यार्थी माटो चालिरहेका थिए भने कोही माटो र मललाई मोलेर मिलाइरहेका थिए । कोही माटो भरिएका प्लाष्टिकमा बीउ रोपिरहेका थिए । निकै रमाइलो त्यो परिवेशमा विद्यार्थीले कामप्रति देखाएको उत्सुकताले सहभागीसमेत चकित परेका थिए । क्याम्पसमा अध्ययनरत १२५ विद्यार्थी कृषि कर्ममा सहभागी भएका छन् ।

क्याम्पसका १२५ विद्यार्थी यहाँ कृषि काममा व्यस्त भएका हुन् । त्यसो त उनीहरुको अध्ययनको विषय कृषि होइन तर अध्ययन सँगसँगै कृषि पेशाबाट पनि केही गर्न सकिन्छ भन्ने विश्वासका साथ उनीहरु यसमा जुटेका छन् । पहिलो चरणमा अदुवा, करेला, फर्सी, काँक्रा, घिरौँला, लौका, धनियाँ, खुर्सानीलगायतका बीउ रोप्ने तरिका सिकाइएको छ । बिरुवा तयार भएपछि उत्पादित बिरुवा विद्यार्थीलाई वितरण गरिने क्याम्पस, कृषि तथा पशुपालन समूहका अध्यक्ष शिव भट्टराईले जानकारी दिनुभयो । तालीममा सहभागी विद्यार्थीलाई अदुवा विशेषज्ञ शिव न्यौपाने, गल्याङ नगरपालिका कृषि शाखा प्रमुख शिव ढकाल, कृषि प्राविधिक शिव सुवेदीलगायतले प्रशिक्षण दिनुभएको थियो ।

बिहानीको समय क्याम्पसमा बिताइरहेका विद्यार्थी दिउँसो र खाली रहेको समयमा उत्पादनमा जोडिन सक्छन् भन्ने मान्यताका साथ क्याम्पसमा पनि कृषक समूह गठन गरिएको समूहका अध्यक्ष भट्टराईले बताउनुभयो । बिरुवा उत्पादन गर्न सिकेको कुरा सधैँ काम लाग्ने भएकाले विद्यार्थीका लागि यस्तो अवधारणा ल्याइएको भट्टराईले बताउनुभयो । घरमा आवश्यक पर्ने खाद्यान्नसहित तरकारीलगायत कृषिउपजका लागि परनिर्भरताको अन्त्य गर्दै पछि व्यावसायिक कृषक र पशुपालन व्यवसायमा लाग्न प्रेरित गर्ने उद्देश्यले आफूहरु यो अभियानमा लागेको भट्टराईको भनाइ छ ।

गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले दिनभर मोबाइल चलाएर समय बिताउनुभन्दा एउटा बोट खुर्सानी लगाउनु पनि हितकर हुने बताउँदै कृषि कर्ममा लाग्न चाहने जो कोहीलाई पनि नगरपालिकाले आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । क्याम्पसका विद्यार्थीले चालेको यो अभियानबाट सबैले पाठ सिक्नुपर्ने नगरप्रमुख अधिकारीको भनाइ थियो । विद्यार्थी नै समूह बनाएर कृषि कर्ममा लागेकाले पनि अब सो पेशाप्रति सबैको आकर्षण बढ्ने उहाँको विश्वास छ । काम गरेर खान लाज मान्ने प्रवृत्तिको अन्त्य नहुँदासम्म मुलुकमा समृद्धि नआउने भएकाले सबैले आफ्नो क्षमतानुसारको काम गर्नुपर्ने प्रमुख अधिकारीले बताउनुभयो ।

A Levels MA
Thuprai - Books and E-books