![सङ्गीतमय विद्यालय](https://media.edusanjal.com/__sized__/news_headers/sangit_class_rampur_aadharvut_school_3-crop-c0-5__0-5-300x180-70.jpg)
नेपालमा ११ विश्वविद्यालय तथा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहेका छन् । महालेखापरीक्षकको ५९ औं बार्षिक प्रतिवेदनअनुसार, सञ्चालित विश्वविद्यालयमा अध्ययनरत कुल ४ लाख ६६ हजार विद्यार्थीमध्ये त्रिभुवन विश्वविद्यालयमा ७६ प्रतिशत, अन्य १० विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४ प्रतिशत रहेका छन् । विश्वविद्यालयहरूमा अध्ययन गर्नेमध्ये साधारण विषय अध्ययन गर्ने ७७.८३ र प्राविधिक विषय अध्ययन गर्ने २२.१७ प्रतिशत रहेका छन् । साधारण धारमा पनि ४३ प्रतिशत व्यवस्थापन, १९ प्रतिशत शिक्षा, १३ प्रतिशत मानविकी संकायका रहेका छन् । प्राविधिक धारमा विद्यार्थीको प्राथमिकता रहे पनि विज्ञानमा ८ प्रतिशत, इन्जिनियरिङमा ६.३८ र मेडिकलमा ५.९८ प्रतिशत भर्ना भएका छन् । आर्थिक क्षमता र अन्य पहुँचका कारणले अपेक्षा अनुरूपको अवसर उपभोग गर्न नसकेको अवस्था छ । मन्त्रायलयले जनशक्ति प्रक्षेपण तथा मानव संसाधन विकास योजना तयार नगरेको तथा सीपमूलक शैक्षिक कार्यक्रमको न्यूनताले गर्दा शैक्षिक बेरोजगारको संख्यामा बढोत्तरी भई शिक्षातर्फको लगानीबाट उचित प्रतिफल प्राप्त गर्न सकिएको छैन। विश्वविद्यालयबाट सम्पादन हुने काममा पनि पारदर्शिता देखिएको छैन् ।
त्रिविले निर्माण गर्ने प्रश्नपत्रको समस्या कहिल्यै समाधान हुन सकेको छैन । प्रश्नपत्र निर्माणमा पूरै लापरबाही गरेको पर्याप्त प्रमाण हुँदाहुँदै पनि त्रिविले प्रश्नपत्र निर्माण कर्ता शिक्षकलाई कारबाही गरे भनेको छ तर विद्यार्थीको भविष्य, त्रिविको साख र गुणस्तरमा प्रभाव पार्ने शिक्षक सार्वजनिक नगरी जोगाउने प्रयास गरेको छ ।
त्रिविले संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बोलाएपछि ती शिक्षकलाई कारबाही त गर्यौं भन्यो तर कसलाई कारबाही गर्यो सार्वजनिक गरेको छैन । त्रिविका यी यस्तै खाले प्रशासनिक कमजोरीका कारण त्रिविले आफ्नो साख गुमाउँदै गएको छ ।
लामो समयमा त्रिविमा अध्ययन गरिसकेपछि विद्यार्थीलाई अहिले पनि त्रिविबाट लिने प्रशासनिक कामका लागि हप्तै, महिनैं कुर्नु पर्ने बाध्यता छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुमा बिहान अफिस खुल्नुभन्दा अगाडि देखि अफिस समयभरि बस्यो भने नेपालमा अहिले पनि प्रविधिको प्रवेश भएकै छैन् भनेर जो कोहीले ठेकुवा गरेर भन्न सक्छन् ।
घटना नं. १
स्नातक तह उत्तीर्ण गरेकी सिर्जना सोदेम्बा ट्रान्सक्रिप्ट लिन फाराम भर्ने लाइनमा उभिएको घण्टौँपछि पालो आयो। तर स्नातकका विभिन्न वर्षको मार्कसिटमा कतै नामको हिज्जे फरक पर्यो, कतै रजिष्ट्रेसन नम्बर मिलेन । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का कर्मचारीले उनलाई पहिला नाम सच्याउने निवेदन दिन लगाए । सोधपुछ कक्षले पनि उनलाई राम्रो जवाफ दिएन । उनी दिक्क भइन् । शोधपुछका कर्मचारीको रुखो बोली देख्दा तिन छक्क परेकी उनी उनको उमेर देखेर शान्त हुँदै गोप्य शाखामा निवेदन लिएर गइन् ।
निवेदन लिएर बिएडको गोप्य शाखामा पुगेपछि उनलाई थाहा भयो नाम सच्याउन त पैसा लाग्दो रहेछ । पैसा तिर्न पुनः उनी लाइनमा बसिन् । पैसा तिरेको भौचर लिएर गोप्य शाखामा जान लाग्दा अफिस बन्द भयो ।
पुनः उनी भोलिपल्ट गोप्य शाखाबाट केही सूचना लिएर कोठा नं. १४ मा पुगिन् । फेरि, त्यतिबेला उनलाई थाहा भयो कि उनको दुईओटा मार्कसिटमा रजिस्ट्रेसन नम्बर मिलेन । पुनः ट्रान्सक्रिप्ट वितरण कक्षले गोप्य शाखामा पठायो । गोप्य शाखाले पुनः निवेदनमा बैकको छाप लगाएर, १०० रुपियाँको भौचरसहित आउन भन्यो । बैंकको लाइनमा बस्दाबस्दै उनको समय सकियो । त्यो दिन पनि उनले ट्रान्सक्रिप्ट लिन सकिनन् । तीन दिनको लामो कुराइपछि पुनः १४ नं. कोठामा पुग्दा उनलाई ट्रान्सक्रिप्ट लिन एक महिना पछि आउनु भनियो । उनी प्रदेश नं. १ को तेह्रथुमबाट ट्रान्सक्रिप्ट लिन भनेर नै काठमाडौं त आइन् तर उनलाई त्यो ट्रान्सक्रिप्ट निल्नु न ओकल्नु भयो । एकातिर काठमाडौंको महंगी अर्कोतर्फ काम कहिल्यै नसकिने झन्झटिलो । दिक्क भएर फेरी आउनु पर्ने भयो भन्दै फकिइन् ।
घटना नं. २
अझ रोचकको कुरा त डिग्री क्याम्पस विराटनगरबाट समाजशास्त्रमा २०६७ सालमा स्नातकोत्तर गरेकी एक छात्राको छ । उनले पाँच वर्ष अगाडि ट्रान्सक्रिप्ट लिन आउँदा थेसिसको नम्बर आएको छैन भनेर रोकियो । त्यसपछि कार्यव्यस्तताले उनी पुन पनिका पुग्न सकिनन् । २०२१ सेक्टेम्बर २१ मा पुनः ट्रान्सक्रिप्टका लागि आवेदन दिन गइन् । तीन दिन लगाएर आवेदन दिइन् दसैंको छेऊ भएकाले दसैं तिहार पछि आउन भनियो । उनी दसैं पछि ट्रान्सक्रिप्ट लिन भनेर पनिका पुग्दा बनेको छैन भनियो । फेरी उनी २०७९ साउन १ गते ट्रान्सक्रिप्ट लिन भनेर पनिका पुग्दा उनलाई थाहा भयो थेसिसको भाइवाको मिति र नम्बर बुझाएको मिति मिलेन रे ! उनी एमएको गोप्य शाखामा पुगिन् । गोप्य शाखामा पुग्दा थाहा भयो कर्मचारी व्यस्त भएर उनको विवरण हेर्न सकिएन । भोलिपल्ट पुनः पुगिन् । २२ नं. कोठामा पठाइयो । कोठमा पुग्दा ढोका छेउको कुर्सीमा बस्ने एक महिला कर्मचारीले भनिन्, ‘यो मान्छे कति आउँछ अस्ति देखि भनेको होइन भाइबा र सबमिट गरेको मिति फरक परेको छ भनेर, कस्तो दिक्क लगाउछन्, आएको आएैं गर्छन् ।’
‘उनको यही आवाज परीक्षा नियन्त्रकलाई भिडियो सहित सुनाउन मन थियो । म नियन्त्रकको कार्यकक्षमा गए पनि’ उनले भनिन्, ‘त्रिविका कर्मचारीलाई चलाउनु भनेको देशको प्रधानमन्त्रीको कुर्सी चलाउनु जस्तै हो चुपचाप एकछिन कुरेर आफ्नो काम गरेर फर्कनुनी यिनीहरूलाई चलाउन सकिँदैन त्रिवि सुध्रिदँन भन्ने अर्का एक कर्मचारीले सुझाए अनि फकिए ।’
घटना नं. ३
जाजरकोटका एक शिक्षकले केही वर्ष अगाडि प्राइभेटबाट मानविकीमा स्नातकोत्तर गर्न भनेर भर्ना भए । बार्षिक प्रणाली अनुसार भर्ना भएका उनले प्रथम वर्षमा एउटा विषय उत्तीर्ण गर्न सकेनन् । पुरक परीक्षाका लागि उनले परीक्षा आवेदन फारम भर्न आफन्तलाई लगाए । आफन्तले उनको लब्धाङ्क प्रमाणपत्र नहेरी सबै विषयको फारम भरिदिए । उनले पनि सबै विषयको परीक्षा दिए । अघिल्लो वर्षको परीक्षामा एउटा विषयमा ४६ नम्बर ल्याएको उनले पुनः परीक्षा दिँदा ८ नम्बर मात्र ल्याए । नतिजा आएपछि थाहा भयो कि उनले यो विषय अगाडि नै पास गरेका रहेछन् । अहिले उनलाई पहिलो कै नम्बर कायम गराउन फलामको चिउरा चपाउनु जस्तै भएको सुनाउँछन् ।
घटना नं. ४
बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा एक दिन मात्र विहानदेखि बेलुकासम्म बस्यो भने लाग्छ समस्यै समस्याको चाङ बोकेको नीर्जिव घर हो । त्रिवि यसको कारखाना । यहाँ नत कसैको बोलिमा मिठास छ नत कसैले मार्गदर्शन नै राम्रो गर्छन् । झर्को फर्को र गाली खानु पर्यो भने त्रिवि पनिका जाउँ भन्नु पर्ला भन्छन् सोलुखुम्बुबाट ट्रान्सक्रिप्ट नै लिन भनेर आएका सोनु तामाङ् ।
यी त प्रतिनिधि घटनामात्र हुन् । यस्ता घटना त पनिकामा वर्सैंदेखि दैनिक सयौंको संख्यामा घटिरहेका छन् । हतारमा कागजपत्र नलिइ आउने, प्रक्रिया नबुझ्ने र क्याम्पस तथा पनिकाको लापरबाहीले गर्दा कतिपय विद्यार्थीले ट्रान्सक्रिप्ट नै छाडिदिने गरेका छन् ।
समस्याको चाङले जेलिएका विद्यार्थी १०० मा ९९ प्रतिशत नै पनिकाको प्राङ्गणमा भेटिन्छन् । विद्यार्थीको सास्ती घटाउने भन्दै पनिकाले १३ जेठ २०७५ देखि त्रिवि परीक्षा व्यवस्थापन सूचना प्रणाली (टीयूईएमआईएस) कार्यान्वयन गर्ने उद्घोष गर्यो । तर अहिलेसम्म त्रिविको पनिकामा विद्यार्थीको विवरणसमेत प्रविधि मैत्री हुन सकेको छैन । विद्यार्थीले नाम सच्याउनु पर्यो भने दिन मात्र होइन कहिले काँही हप्ता जान्छ । त्रिविका तत्कालीन उपकुलपति प्राडा तीर्थराज खनियाले शिक्षाशास्त्र संकायबाट उत्तीर्ण मनोजकुमार सिंहलाई टीयूईएमआईएसबाट बनेको प्रमाणपत्र हस्तान्तरण गरे उनी नै पहिलो भाग्मानी विदार्थी बने जसले ट्रान्सक्रिप्टका लागि झन्झट झेल्नु परेन ।
टीयूईएमआईएस प्रणाली किन कार्यान्वयन हुन सकेन भनेर बुझ्न त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीसँग बारम्बार भेट्न खोज्दा पनि सम्पर्क हुँनै सकेन । फोन सम्पर्कमा पनि उनी आउन चाहेनन्।