१. सार्वजनिक परीक्षाको परिचय
कुनै विद्यालय तहको अन्त्यमा विद्यालय बाहिरको राष्ट्रिय मान्यता प्राप्त निकायबाट देशव्यापी रुपमा सञ्चालन गरिने परीक्षालाई सार्वजनिक परीक्षा भनिन्छ । सार्वजनिक परीक्षालाई बोलिचालीमा बोर्ड परीक्षा पनि भनिन्छ । आधारभूत तहको परीक्षा (बिएलई), साविकको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसी), माध्यमिक शिक्षा परीक्षा (एसईई) आदिजस्ता विद्यालयको तह छाडने (school leaving) परीक्षा र उच्च शिक्षा प्रवेश गर्ने परीक्षाहरु सार्वजनिक परीक्षाका उदाहरणहरु हुन् । यस्तो परीक्षाले विषयगत ग्रेड वा अङ्क प्रदान गर्ने भएकाले विद्यार्थी र विद्यालयलाई क्षमता प्रदर्शन गर्ने भएकाले यो एउटा अवसर हो र त्यस्तो क्षमता प्रदर्शन गर्नुपर्ने दबाब पनि हो ।
सार्वजनिक परीक्षामा विद्यालयको किसिम (सामुदायिक वा निजी) तथा भौगोलिक क्षेत्र (सुगम र दुर्गम) को विभेद नगरी एउटै साझा पाठ्यक्रमको आधारमा परीक्षा सञ्चालन गरिन्छ । सार्वजनिक परीक्षा निर्णयात्मक र औपचारिक हुन्छ । सार्वजनिक परीक्षा आधिकारिक निकायबाट नियमित र आवधिक रुपमा सञ्चालन गरिन्छ । यस्तो परीक्षामा विशिष्टीकरण तालिकाअनुसार परीक्षार्थी लिखित परीक्षामा सामेल हुनुपर्दछ, बाह्य परीक्षकहरुबाट उत्तरपुस्तिकाको परीक्षण गरिन्छ, परीक्षा प्रणालीको नियमअनुसार आन्तरिक परीक्षाका तोकिएको प्राप्ताङ्क जोडिन्छ र कुल प्राप्ताङ्कका आधारमा सार्वजनिक रुपमा नतिजा प्रकाशन गरिन्छ । विद्यालय शिक्षाको अन्त्यमा सञ्चालन गरिने सार्वजनिक परीक्षाको नतिजालाई विद्यालय सक्षमताको एक मुख्य उपलब्धि सूचकका रुपमा गणना गरिन्छ ।
२. सार्वजनिक परीक्षाका मुख्य कार्य
विद्यालय शिक्षाको मापदण्डको आधारमा विद्यार्थीको क्षमताको मूल्याङ्कन गर्नु र प्रमाणपत्र प्रदान गर्नु, माथिल्लो तहको शिक्षाको लागि योग्य विद्यार्थी छनौट गर्नु, रोजगारदाता संस्था र निकायका लागि उम्मेद्वार छनौट गर्न आधार प्रदान गर्नु, विद्यालयमा तहगत परीक्षा सञ्चालन गर्न प्रशासनिक सुविधा प्रदान गर्नु र शैक्षिक गुणस्तरको मापदण्डमा राष्ट्रिय एकरुपता प्रदान गर्नु सार्वजनिक परीक्षाका केही कार्यहरु हुन् ।
३. सार्वजनिक परीक्षाको नीतिगत प्रबन्ध र निकायको व्यवस्था
वि.सं २०७३ मा संशोधन भएको शिक्षा ऐन, २०२८ को दफा ४ (क) मा व्यवस्था भएबमोजिम माध्यमिक शिक्षा परीक्षा (एसईई) को सञ्चालन, समन्वय र व्यवस्थापन गर्न केन्द्रमा राष्ट्रिय परीक्षा बोर्ड रहेको छ । यस बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा ११-१२ तथा परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० गरी दुईवटा निकाय रहेका छन् । उक्त ऐनअनुसार माध्यमिक शिक्षाको कक्षा १० र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा बोर्डबाट सञ्चालन हुने र तर आधारभूत तहको परीक्षा जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन हुने प्रावधान छ । यस्तै कक्षा १० को अन्त्यमा हुने परीक्षा क्षेत्रीयस्तरमा र आधारभूत तहको अन्त्यमा हुने परीक्षा जिल्लास्तरमा सञ्चालन गरिने उल्लेख छ । हाल माध्यमिक शिक्षा (कक्षा १०) को अन्त्यमा हुने परीक्षा राष्ट्रिय स्तरमा परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० बाट र माध्यमिक तह (कक्षा ११ र कक्षा १२) को हुने राष्ट्रिय परीक्षा बोर्डबाटै सञ्चालन हुने गरेको छ । उक्त नीतिगत व्यवस्थाका कारण कक्षा १० को अन्त्यमा हुने बोर्ड परीक्षाको मान्यता कक्षा १० पूरा गरेको (वि.सं. २०८१ को एसईई नतिजादेखि उत्तीर्ण गरेको) मान्यता मात्र हुन्छ, तर साविकको एसएलसी सरह नहुने भएको छ । वि.सं.२०७३ मा भएको शिक्षा ऐनको संशोधनदेखि एसएलसी परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसईई) नामाकरण गरिएको हो ।
४. निकायका प्रदेश तथा शाखा कार्यालय
कक्षा ११ र १२ को परीक्षा सञ्चालन र व्यवस्थापनका लागि राष्ट्रिय परीक्षा बोर्डका सातवटा प्रदेश कार्यालय र चारवटा जिल्लास्थित शाखा कार्यालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइ (साविकका जिल्ला शिक्षा कार्यालय) सँग समन्वय गरी कार्य गरिरहेका छन् । कक्षा १० को परीक्षा (एसईई) को सञ्चालन, व्यवस्थापन र समन्वय सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइहरुले गर्दै आएका छन् । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा उल्लेख छ ।
५. परीक्षाको नतिजामा अभिवृद्धि भएपछि हुने फाइदा
सार्वजनिक परीक्षाको नतिजाको सम्बन्ध विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयसँग हुन्छ । परीक्षाको नतिजा राम्रो भयो भने विद्यार्थीको आत्मसम्मान र आत्मविश्वास बढछ । उनीहरुले आफूमा शैक्षिक ज्ञान र सीपको विकास भएको अनुभूति गर्छन् । उच्च शिक्षा र रोजगारीका अवसरहरु प्राप्त गर्न सक्छन् । परीक्षामा राम्रो नतिजा हासिल भएपछि शिक्षकले पेसागत सन्तुष्टि प्राप्त गर्छन् । अझ राम्रो र गुणस्तरीय शिक्षण गर्ने हौसला पाउँछन् । विद्यालयको सामुदायिक विश्वास बढछ, ख्याती बढ्छ, संस्थागत प्रतिष्ठा र मान्यता बढछ । पाठ्यक्रम र पाठ्यपुस्तकको कार्यान्वयन प्रभावकारितामा अभिवृद्धि हुन्छ । समुदायको सामाजिक र आर्थिक विकासमा योगदान पुरयाउँछ । फलस्वरुप समुदायमा विद्यालय शिक्षाको गुणस्तर प्रभावकारी भएको अनुभूति हुन्छ ।
६. सार्वजनिक परीक्षाको उत्तीर्ण प्रतिशत बढाउनु पर्ने आवश्यकता
सार्वजनिक परीक्षाको नतिजा बढाउनु पर्ने मुख्य कारण भनेको शैक्षिक क्षति बढन रोक्नु हो । शैक्षिक क्षति भनेको शैक्षिक विकासमा देखिएको नकारात्मक प्रभाव हो । बालबालिकाको भर्ना दरमा कमी, विद्यालयको सञ्चालन अवस्था (वर्षभरि विद्यालय लागेको दिन, पढाइ भएको दिन, शिक्षकको उपस्थिति दिन र विद्यार्थीको औसत उपस्थिति दिनमा कमी हुनु) कमजोर हुनु, विद्यार्थी टिकाउ दरमा कमी, उत्तीर्ण प्रतिशतमा कमी, न्यून सिकाइ उपलब्धि स्तर, नतिजा कमजोर भएमा विद्यालयको शैक्षिक क्षति बढन सक्छ । शैक्षिक क्षतिले शिक्षा र रोजगारका अवसरहरु गुम्न सक्छन्, विद्यालय प्रभावकारिता तथा विद्यालय सुशासन कमजोर बन्न सक्दछ, समुदायको विकास र प्रगतिमा बाधा पुग्छ र विद्यार्थीको मानसिक स्वास्थ्यमा असर पुग्न सक्छ । त्यसकारण समग्र शैक्षिक क्षति कम गर्न सार्वजनिक परीक्षाको उत्तीर्ण प्रतिशत बढाउन आवश्यक भएको हो ।
७. परीक्षाको नतिजा अपेक्षित रुपमा राम्रो हुन नसक्नुका केही कारण
नेपालमा सञ्चालन हुने विद्यालय तहको सार्वजनिक परीक्षाको नतिजा अपेक्षित रुपमा राम्रो हुन नसकेका गुनासा प्रशस्तै सुन्ने गरिन्छ । त्यसो हुनुमा केही मुख्य कारण यस प्रकार हुन सक्छन्: शैक्षिक वर्षभित्र कोर्स शिक्षण पूरा नहुनु, कक्षामा समुचित शिक्षण विधिको प्रयोग नहुनु, उत्तरपुस्तिकाको परीक्षण र अङ्कनमा मानवीय कमजोरी हुनु, परीक्षाप्रति नकरात्मक सोच बनाउनु, विभिन्न भौगोलिक क्षेत्र र जाती समुदायका विद्यार्थीको विद्यालयमा टिकाउ दर कमजोर हुनु, विद्यालयमा अध्यापनका लागि चाहिने शैक्षिक सामग्री र प्रविधिको अभाव हुनु, विद्यार्थीमा परीक्षाप्रतिको अनावश्यक संत्रास बढनु, विद्यार्थीमा मानसिक स्वास्थ्य समस्या हुनु, पाठ्यपुस्तकमा जटिल, बोझिलो र असन्तुलित पाठ्यवस्तुहरु विद्यमान रहनु, दक्ष र सिर्जनशील शिक्षकको कमी हुनु, बालबालिकाको शिक्षामा अभिभावकको सहयोग र संलग्नतामा कमी हुनु आदि । उक्त समस्याको समाधान गर्नका लागि विद्यालयले अपनाउनु पर्ने ठोस उपायका कार्यसूची तयार गर्न सक्छन् ।
८. सार्वजनिक परीक्षाको नतिजा बढाउने रणनीतिक उपायहरुको कार्यसूची
यहाँ सार्जनिक परिक्षाको नतिजा बढाउने केही रणनीतिक उपायहरुलाई कार्यसूचीका रुपमा प्रस्तुत गरिएको छ । यी सबै कार्यसूचीलाई कार्यान्वयन गर्नुपर्छ भन्ने छैन । विद्यालयको स्थानीय आवश्यकता, विद्यालयको पूर्वाधार, शिक्षकको उपलब्धता र क्षमताअनुसार छनौट गरी यी र यस्तै अन्य उपाय पनि अपनाउन सकिन्छ ।
(क) अभिमुखीरकण गर्ने: परीक्षाको प्रकृति, परीक्षा सञ्चालन विधि, उत्तर पुस्तिका परीक्षण तथा अङ्कन विधि, तालिकीकरण तथा नतिजा तयारीका विषयमा परीक्षा प्रशासनमा संलग्न रहने शिक्षक, परीक्षक, प्राप्ताङ्क प्रविष्टि र नतिजा प्रकाशनमा संलग्न सबैजनालाई परीक्षा शुरु हुनु अगावै नमुना अभ्यास सहितको अभिमुखीकरण प्रदान गर्ने ।
(ख) समयमै पूरा कोर्स पठनपाठन गरिसक्ने: विद्यालयले शैक्षिक सत्र सुरु हुनासाथ पठनपाठन सुरु गर्ने र परीक्षा सुरु हुनु अगावै पठनपाठन सम्पन्न गर्ने ।
(ग) उपचारात्मक शिक्षण सञ्चालन गर्ने: परीक्षामा औसत उत्तीर्णाङ्क नसक्ने विद्यार्थीहरु शैक्षिक बिरामी हुन् । त्यस्ता विद्यार्थीलाई शैक्षिक उपचार गरी औसत उत्तीर्णाङ्क ल्याउन सक्ने बनाउन आवश्यक हुन्छ । जसरी औसत व्यक्ति सरह खान, हिँडन र काम गर्न सक्ने बनाउन बिरामीलाई औषधि उपचार गरिन्छ, त्यसरी नै परीक्षामा औसत उत्तीर्णाङ्क ल्याउन सक्ने बनाउन गरिने शिक्षणलाई उपचारात्मक शिक्षण भनिन्छ । शिक्षकले औसत स्तरमा उत्तीर्णाङ्क ल्याउन नसकेका विद्यार्थी पहिचान गर्ने । तीमध्ये जुन जुन विषयको जुन जुन विषयवस्तुमा कमजोर छन्, ती विद्यार्थीलाई मात्र शैक्षिक बिरामीका रुपमा उपचारात्मक कक्षामा राख्ने र विभिन्न विधिहरु प्रयोग गरी शिक्षण गर्ने । औसत सिकाइ उपलब्धि स्तर वा उत्तीर्णाङ्क ल्याउने क्षमता हासिल नभएसम्म, त्यही त्यही विषयवस्तु पुन: शिक्षण गर्ने र औसत स्तरमा ल्याउने ।
(घ) अतिरिक्त (थप) कक्षा सञ्चालन गर्ने: विद्यार्थीले बुझ्न नसकेका र विद्यालयमा उपस्थित हुन नसकी छुटेका पाठ र समाधान गर्न नसकेका अभ्यासहरु पहिचान गर्ने । त्यस्ता विषयका पाठ पुन: शिक्षण गर्नका लागि थप कक्षा सञ्चालन गर्ने ।
(ङ) कोचिङ (पूरक) कक्षा सञ्चालन गर्ने: सार्वजनिक विदा वा स्थानीय विदा वा बन्द, हडताल आदिका कारण वार्षिक शैक्षणिक योजना बमोजिम समयमा पठनपाठन हुनुपर्ने पूरै दिन पढाइ हुन नसकी कोर्स पूरा हुन नसकेको अवस्थामा बिहान बेलुकाको समय मिलाई कोचिङ कक्षा सञ्चालन गर्ने र कोर्स पूरा गर्ने ।
(च) ट्युसन कक्षा सञ्चालन गर्ने: परीक्षामा उत्कृष्ट अङ्क ल्याउने सम्भावना भएका तथा परीक्षा केन्द्रित सघन तयारी गर्न चाहने विद्यार्थीका लागि ट्युसन कक्षा सञ्चालन गर्ने । (नोट: अतिरिक्त कक्षा, कोचिङ कक्षा र ट्युसन कक्षा सञ्चालन गर्ने विद्यालयले स्थानीय तहबाट अनुदान प्राप्त गर्न सक्छन् वा विद्यालयले आन्तरिक स्रोत परिचालन गर्न सक्छन् ।)
(छ) वासब्याक इफेक्ट (washback effect) मा आधारित शिक्षण गर्ने: वासब्याक इफेक्ट भनेको परीक्षा केन्द्रित पठनपाठन हो । यसका सबल तथा कमजोर दुवै पक्ष छन् । विद्यालयले परीक्षामा आउनसक्ने सम्भावित प्रश्नको आधारमा नमुना प्रश्न र नमुना उत्तर सहितका लेखन अभ्यास गराउँदै पठनपाठन गर्ने । जबसम्म विद्यार्थीहरुले परीक्षामा सोध्न सकिने प्रश्नहरुको उत्तर परीक्षामा दिइने प्रश्नको अङ्कभार र समय अनुसार अपेक्षित रुपमा निर्धारित समयभित्र राम्रो अङ्क आउने गरी लेख्न सक्दैनन्, तबसम्म दोहोरयाई तेहेरयाई लेख्न लगाउने ।
(ज) मक टेस्ट (mock test) सञ्चालन गर्ने: मक टेस्ट भनेको नक्कली परीक्षा हो, यो एक प्रकारको सिमुलेसन अभ्यास हो । यसका लागि विद्यालयले कक्षामा नमुना सिट प्लान सहितको परीक्षा हल तयार गर्ने । सार्वजनिक परीक्षामा दिइने जस्तै समान किसिमका नमुना प्रश्नपत्र, उत्तरपुस्तिका, परीक्षा उपस्थिति हाजिरी आदि तयार गर्ने । परीक्षाको समय तालिकाअनुसार परीक्षा सञ्चालन गर्ने । सकेसम्म सोही दिन नत्र यथासक्य चाँडो उत्तर पुस्तिका परीक्षण गरी प्राप्ताङ्क सुनाउने र परीक्षण गरिएका उत्तरपुस्तिका विद्यार्थीलाई फिर्ता दिने । उत्तरपुस्तिका परीक्षकले विद्यार्थीले लेखेका उत्तरमा पाइएका लेखन शैली, विषयवस्तुको प्रस्तुति, लेखन साजसज्जा आदि पक्षमा देखिएका सबल पक्ष, कमजोर पक्ष र सुझाव विषयमा पृष्ठपोषण कक्षा सञ्चालन गर्ने । यस अभ्यासबाट विद्यार्थीहरुमा परीक्षाप्रतिको सन्त्रास कम हुन्छ, उनीहरुलाई आफ्नो उत्तर लेखाइका सबल र कमजोर पक्ष थाहा हुन्छ र लेखन शैली र समय व्यवस्थापनमा आत्मविश्वास बढछ । शिक्षकमा पनि गम्भिरतापूर्वक उत्तरपुस्तिका परीक्षण गर्ने बानी बस्छ ।
(झ) नतिजा विश्लेषण र प्रबोधीकरण गर्ने: विद्यालयले सबै कक्षाका आवधिक परीक्षाको नतिजा प्रकाशनपछि विद्यालयले शिक्षकहरुलाई आफूले पढाएको विषयको परीक्षाको नतिजा विश्लेषण गर्न लगाउने । नतिजा विश्लेषणको कार्यशाला आयोजना गर्ने र सबै शिक्षकले परीक्षा नतिजा विश्लेषणको प्रतिवेदन प्रस्तुत गर्ने । यसका लागि परीक्षा सञ्चालन हुनुअघि विज्ञ वा जानकार शिक्षकबाट परीक्षा नतिजा विश्लेषण कसरी गर्ने भन्ने विषयमा अभिमुखीकरण तालिम सञ्चालन गर्न सकिन्छ ।
(ञ) क्रियात्मक अनुसन्धान गर्ने: आफूले पठनपाठन गरेको विषयको परीक्षामा उच्चतम अङ्क ल्याउने गरी कसरी परीक्षा तयारी गर्न र उत्तर लेख्न सक्षम बनाउने भन्ने विषयमा हस्तक्षेपकारी रणनीति (intervention) हरु तय गरी शिक्षकले क्रियात्मक अनुसन्धान गर्ने र प्रतिवेदन तयार गर्ने ।
(ट) जाँच्न सकिने गृहकार्य दिने र छिटो पृष्ठपोषण दिने पुनर्लेखन गराउने: जाँच्नै नसकिने गरी गृहकार्यहरु नदिने । जति जाँच्न र पृष्ठपोषण दिन सकिन्छ, त्यतिमात्र गृहकार्य दिने । चित्त बुझ्दो उत्तर लेख्न नसक्ने विद्यार्थीलाई गृहकार्य कापीमा आवश्यक पृष्ठपोषण दिएर सोही विषयवस्तुमा पुन: गृहकार्य दिने र पुन: जाँच गरी सुझाव दिने ।
(ठ) उत्प्रेरणा जगाउने उपायहरुको प्रयोग गर्ने: परीक्षा प्रति संत्रास भएका, परीक्षामा लेखनका लागि समय व्यवस्थापन गर्न नसक्ने, परीक्षामा फेल हुने डरले कक्षा छाडन खोज्ने आदि जस्ता समस्या भएका विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउने कार्य गर्ने ।
(ड) नतिजा राम्रो ल्याउने विद्यालयका शिक्षकबाट तालिम दिने: सावर्जनिक परीक्षाहरुमा नियमित रुपमा राम्रो नतिजा ल्याउने विद्यालयका शिक्षकलाई आमन्त्रण गरी परीक्षाको नतिजा सुधारसम्बन्धी अन्तरक्रियात्मक तालिम सञ्चालन गर्ने ।
(ढ) विशिष्टीकरण तालिकाअनुसार प्रश्नको प्राथमिकीकरण गरेर शिक्षण गर्ने: समयमा पूरा कोर्स पठनपाठन गर्न नसकिएको र परीक्षाको नतिजा सुधारका हस्तक्षेपकारी कार्यक्रमहरु जस्तै: मोक टेस्ट, थप कक्षा, कोचिङ कक्षा, ट्युसन कक्षा, उपचारात्मक शिक्षा आदि सञ्चालन गर्न नसकिने अवस्था भएमा परीक्षाको विशिष्टीकरण तालिका अनुसार सजिलो देखि गाह्रोको क्रममा नजानी नहुने, जान्दा फाइदा हुने र जाने धेरै राम्रो (must know, useful to know and nice to know) को क्रममा विषयवस्तुको वर्गीकरण र प्राथिमिकीकरण गर्ने र उत्तीर्ण हुनका लागि आवश्यक पर्ने विषयवस्तुमा फास्ट ट्र्याक टेक्निक प्रयोग गरी गहन अध्ययन र सघन तयारी गराउने ।
(ण) लघु नोट/गेस पेपर तयार गर्ने र पढन लगाउने: घरधन्दा, वृद्ध, अशक्त र बालबच्चाको हेरचाह, पसल, गाईबाख्रा, खेतीपाती आदिजस्ता घरायसी काममा व्यस्त रहनुपर्ने विद्यार्थीका लागि छोटो बसाइ र फुर्सदमा झट्ट हेरेर पढ्न (scanning) र बुझ्न (skimming) का लागि विद्यालयले परीक्षामा सोध्न सकिने प्रश्न र उत्तरका लघुनोट/गेस पेपरहरु तयार गरी वितरण गर्ने र पढन लेख्न लगाउने ।
(त) सिकाइ उपलब्धिमा आधारित (outcome based) शिक्षण गर्ने: शिक्षकले पाठ्यक्रमका कुनै पनि सिकाइ उपलब्धि नछुटने गरी क्रमैसित पठनपाठन गर्ने र सिकाइ उपलब्धि हासिल भएको अवस्था सुनिश्चित गर्ने ।
(थ) पाठ्यक्रम नक्साङ्कन गर्ने: पाठ्यक्रमको सिकाइ उपलब्धि, सम्बन्धित पाठ र अभ्यास, गर्नुपर्ने क्रियाकलाप र पठनपाठन गर्ने अवधि हेडिङ राखेर एउटा कार्यतालिका बनाउने र सोही तालिकाअनुसार शैक्षिक सत्रभित्रै कोर्स सक्ने गरी पठनपाठन गर्ने ।
(द) कार्ययोजना निर्माण गर्ने: हरेक विषयको वार्षिक शैक्षणिक योजना र परीक्षा तयारी कार्ययोजना निर्माण गर्ने र पठनपाठन सञ्चालन गर्ने ।
(ध) नमुना प्रश्न र उत्तरको तयारी गर्ने: आवधिक परीक्षा आउनुभन्दा केही समयअघि सन्तोषजनक उत्तर लेख्न सक्षम बनाउने गरी पटक पटक नमुना प्रश्नको उत्तर लेखन अभ्यास गराउने ।
(न) तयारी र परीक्षामा समय व्यवस्थापन गर्न सिकाउने गर्ने: नमुना प्रश्नहरु र लेखिसक्ने समय तोकेर निर्धारित समयभित्रै उत्तर लेख्ने अभ्यास गराउने । साथै घरायसी कामकाज तथा फुर्सदको समयअनुसार परीक्षा तयारीको दैनिक अध्ययन तालिका बनाई पढन विद्यार्थीलाई सुझाव दिने ।
(प) फ्लिप कक्षा सञ्चालन गर्ने: फ्लिप कक्षा सञ्चालन गर्ने । यसले विद्यार्थीलाई पठनपाठनमा शिक्षकमाथि अधिक निर्भर रहने बानीको कम गराउँछ र पढाइ लेखाइ र बुझाइमा आत्मनिर्भर हुन सक्षम गराउँछ । फ्लिप कक्षा भनेको उल्टो कक्षा हो । यस विधिमा विद्यार्थीले आज कक्षामा पढने विषयवस्तु हिजोका दिनमै घरमा पढेर, नोट टिपोट गरेर र गृहकार्य गरेर आउँछन् । आज त्यस पाठको विषयमा कक्षामा पठनपाठन, छलफल र अन्तरक्रिया हुन्छ । त्यसपछि आफूले लेखेका नोट र गृहकार्यहरु रुजू गर्छन् । फेरि शिक्षकले आउँदो दिनमा पठनपाढन हुने विषय तोकिदिन्छन् र विद्यार्थीले घरमा स्वाध्ययन गर्छन् र नोट बनाउँछन् र अर्को दिन लिएर आउँछन् ।
(फ) कक्षामा डिफरेन्सिएटेड पठनपाठन गर्ने गराउने: विद्यार्थीको सिकाइ गति र क्षमता, अपाङ्गता, जाति समुदाय, घरायसी पेसा व्यवसाय, घरमा पढने फुर्सद आदिका आधारमा एउटै विषयवस्तुलाई विभिन्न शिक्षण शैली अपनाई व्यक्तिगत र सामूहिक पठनपाठन गराउनुलाई डिफरेन्सिएटेड पठनपाठन रणनीति भनिन्छ । विद्यालयमा यस्तो रणनीतिमा आधारित रही पठनपाठन सञ्चालन गर्ने ।
(ब) अवसर लागत न्यूनीकरण गर्ने उपायहरु अवलम्बन गर्ने: विद्यालयमा पढन आए वापत शुल्क, पुस्तक, पोसाक, झोला आदि खरिद गर्न र खाजा खाना खान विद्यार्थीले घरायसी आम्दानीका स्रोत गुमाउन पर्ने भयो भने विद्यालय आउन छाडेर कमाइ गर्न जान्छन् वा बाबु आमाले साथै लिएर कतै बसाईँ जान्छन् । यस्तो अवस्थालाई न्यूनीकरण गर्न विद्यालयले शुल्क मिनाहा गरिदिने, पुस्तक, झोला आदि खरिद गर्न छात्रवृत्ति प्रदान गर्ने, विद्यालयले खाना खाजाको व्यवस्था गर्ने आदिजस्ता कार्यहरु गरेर विद्यालयमा विद्यार्थीको दैनिक उपस्थिति दरमा सुधार ल्याउने र दैनिक पठनपाठनका कक्षाहरु छुटाउन रोक्ने ।
(भ) अनलाइन तथा अफलाइन माध्यमबाट प्रसारित पाठ हेर्न, सुन्न र पढन सल्लाह दिने: विद्यार्थीको पहुँच र सुविधा उपलब्ध भएको अवस्थामा रेडियो पाठ सुन्न र इन्टरनेट तथा सामाजिक सञ्जालमा प्रसारित शैक्षिक सामग्रीहरु हेर्न र पढन सल्लाह दिने । यसबाट शिक्षकको पनि कार्यबोझ कम हुन्छ ।
(म) अभिभावक भेलामा अन्तर्क्रियात्मक दिने: माथि भनिएजस्ता नतिजा सुधारका लागि नयाँ हस्तक्षेपकारी कार्यक्रमहरु सञ्चालन गर्नु अगावै सम्बन्धित कक्षाका विद्यार्थीका अभिभावकलाई निमन्त्रणा गरी भेलाको आयोजना गर्ने । त्यस्तो भेलामा परीक्षाको नतिजा सुधारका लागि अपनाइने त्यस्तो हस्तक्षेपकारी कार्यक्रमको ब्रोसर वितरण गर्ने र जानकारी दिने । त्यस विषयमा अन्तर्क्रियात्मक छलफल गर्ने, आआफ्ना बालबालिकाको परीक्षा तयारीमा सघाउनका लागि अनुरोध गर्ने र अभिभावकबाट समर्थन प्राप्त गर्ने ।
९. निष्कर्ष
सार्वजनिक परीक्षा एक स्तरीकृत र आधिकारिक वैधता प्राप्त परीक्षा हो । यसमा सबै शैक्षिक सरोकारवालाहरुको ध्यान आकृष्ट भएको हुन्छ । सार्वजनिक परीक्षाको नतिजाबाट विद्यालयको आन्तरिक सक्षमतामा समुदायको सार्वजनिक विश्वास प्राप्त हुन्छ । त्यसैले सार्वजनिक परीक्षा प्रति विद्यालयको आन्तरिक प्रशासन र शिक्षक हरदम सजग र प्रयत्नरत रहनुपर्दछ ।
विद्यालयले सार्वजनिक परीक्षाको नतिजा सुधार गर्नका लागि विभिन्न हस्तक्षेपकारी उपायहरु अपनाउनुपर्छ । यसले गर्दा विद्यार्थीलाई परीक्षाको राम्रो तयारी गर्ने प्रेरणा प्राप्त हुन्छ र शिक्षकहरु पनि लगनशील भएर काम गर्न प्रेरित हुन्छन् । परिणामस्वरुप विद्यालयको परीक्षा नतिजामा सुधार हुने सम्भावना बढछ र शैक्षिक गुणस्तरमा सुधार भएको अनुभूति हुन्छ । यसबाट विद्यालयको सम्भावित शैक्षिक क्षति समेत न्यूनीकरण हुन्छ । विद्यालयको स्रोत र साधन (input) को अधिकतम परिचालन (process) हुन्छ र समग्र शैक्षिक प्रणालीको प्रतिफल (output) पनि उच्च हुन्छ । परिणामस्वरुप विद्यालय प्रभावकारिता (effectiveness) मा समेत अभिवृद्धि हुन्छ ।
स्रोत सामग्री
१. नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा ऐन, २०२० (संशोधन सहित), काठमाडौँ ।
२. नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड, हाम्रो बारेमा, वेबसाइट, सानोठिमी भक्तपुर । (https://www.neb.gov.np/pages/details/welcome)
३. बराल, खगराज, शिक्षा ऐन संशोधनपछिको सार्वजनिक परीक्षा (२०७३), नागरिक न्यूज, नेपाल रिपब्लिक मिडिया लिमिटेड, काठमाडौँ । (https://nagariknews.nagariknetwork.com/opinion/105648-1470885000.html?click_from=category)
४. बराल, खगराज, शिक्षा उपसचिवहरुको सेवाकालीन तालिमको प्रेजेन्टेसन स्लाइड, २०७१, शैक्षिक जनशक्ति विकास केन्द्र, भक्तपुर
५. गुगल सर्च र विभिन्न वेबसाइट