६ ओटा कक्षा तीन शिक्षक कसरी पढाउने ?

विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए । नजिकै पिपल चौतारा र मन्दिर । अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत विद्यालयको आंशिक परिचय दिइरहेको थियो ।

लहरै बालकक्षादेखि ५ कक्षामा पढ्ने बालबालिका आफ्नै धुनमा किताब पल्टाइरहेका थिए । शिक्षकले कक्षालाई समय दिएर कसैलाई लेख्न त कसैलाई पढ्न लगाएका थिए ।

त्यतिकैमा एउटा अनुगमन टोली आइपुग्यो र बाहिर चौरमै बसेर अनौपचारिक रूपमा शिक्षकसँग जानकारी लियो ।

यता विद्यार्थीलाई भने विद्यालयमा नयाँ मान्छे आएकोमा कुनै चासो थिएन । जब टोली भान्छाकोठा हुँदै कक्षा कोठातिर गयो, त्यसपछि पनि विद्यार्थी त्यही गतिमा थिए ।

टोलीले विद्यार्थी अनुशासित हुन् या अल्छी हुन् भन्दै खासखुस गरिरहेका थिए । कक्षा कोठाबाट फर्केपछि टोलीको निष्कर्ष रह्यो विद्यार्थी अनुशासित छन् । कक्षा कोठाको अनुगमनपछि शिक्षक शिक्षिकासँगका छलफलमा प्रधानाध्यापक मायादेवी मल्लले सिद्धीगणेशको बाहिरी वातावरण जति सुन्दर भए पनि भित्र त्यस्तो नभएको बताइन् । ‘बाहिर हेर्दा त यहाँहरूले पनि धेरै नै मन पराउनुभयो । तर, भित्री रूपमा विद्यालय सोचेभन्दा धेरै नै फरक छ ।’ उनले भनिन् । 

प्रधानाध्यापक मल्लले गाउँपालिकामा पटक–पटक विद्यालयमा शिक्षकका लागि माग गर्दा पनि गाउँपालिकाले बेवास्ता गरेको गुनासो गरिन् । अनुगमनमा आएको गाउँपालिकाको टिमकै अगाडि उनले भनिन्, ‘उहाँ सरहरूलाई थाहा छ, हामीले शिक्षक चाहियो भनेको दुई–तीन वर्ष नै भइसक्यो । हामी तीन जना शिक्षकले छ कक्षासम्म कसरी पढाउने ?” प्रधानाध्यापक मल्लका अनुसार कार्यतालिकामै एउटै कक्षामा ४–५ कक्षासम्म राखिएका छन् । “तर, तीन जना  शिक्षकले कता पो हेर्नु ? एक जना शिक्षक पालिकाले पठाइदिनुभयो भने राति निन्द्रा लाग्ने थियो ।” दुखेसो पोख्दै भनिन्, ‘आज त प्रत्यक्ष आफ्नै विद्यालयमा भन्ने मौका पाएँ, यसभन्दा अगाडि पालिकाका सबै प्रतिनिधिलाई शिक्षकको याचना गरेँ, हुन्छ धेरैले भन्नुभयो, तर अहिलेसम्म शिक्षक पाएनौँ । हामीले नै शिक्षक थप्न आन्तरिक स्रोतको अभाव छ । अहिले भएका शिक्षकमध्ये पनि एक जना मात्रै बिदामा बस्नुभयो भने यहाँ बेहाल हुन्छ ।”

उनले शिक्षककै अभावले बालबालिकालाई लक्षित उद्देश्य अनुरुप पढाउन नसकेको बताइन् । ‘विद्यालयको वातावरणका लागि त धेरैले सहयोग गर्नुभएको छ । सङ्घ संस्था नभइदिएको भए यस्तो वातावरण पनि हुने थिएन । कसैले खानेपानी, कसैले खाद्यान्न, कसैले तरकारी त कसैले भवन पनि सहयोग गर्नुभएको छ ।’ उनले थपिन्, ‘त्यसैले वातावरण राम्रो देखिएको हो । तर, यो सबैभन्दा पनि विद्यार्थीको पढाइ हेरिन्छ, त्यसमा हामीले निकै चुक्नु परेको छ ।’

उनका अनुसार यसै शैक्षिक सत्रमा मात्रै २५ जना बालबालिका निजी विद्यालयमा पढ्न गए ।“उहाँहरूलाई हामीले रोक्न सकेनौँ,” उनले भनिन्, ‘पढाइ बिग्रिएको भन्दै अभिभावक यो विद्यालय छुटाउनुभयो । शिक्षककै कमीले यस्तो अवस्था आएको हो । हामी एउटै शिक्षक थपिए पनि त्यो अवस्था आउन दिने थिएनौँ ।’

विद्यालयमा समस्या थुप्रै भए पनि शिक्षक अति आवश्यक भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज भारतीले बताए । ‘म अध्यक्ष भएको दुई वर्ष भयो’ उनले भने, ‘दुई वर्षको अवधिमा शिक्षकका लागि दजनौँ पटक पालिकालाई याचना गरेँ, उहाँले सुन्नुभयो तर, कार्यान्वयन गर्नुभएन । यसपटक पालिकाको टोली विद्यालयमै पुगेको छ । अब त बिर्सनु हुनेछैन भन्ने सोचेको छु ।’

अध्यक्ष भारतीका अनुसार विद्यालयमाभित्र नदेखिने समस्या धेरै छ । अहिले डिजिटल युगमा कम्प्युटर त के विद्यालयमा एउटा फोटोकपी गर्ने मेसिनसमेत छैन । ‘केही फोटोकपी गर्नुपरे बागथला दौडनुपर्छ’ अध्यक्ष भारतीले भने, ‘हामीलाई फोटोकपी, शैक्षिक सामग्री, विद्यालयको घेरबारभन्दा पनि शिक्षक बढी आवश्यक छ ।’

अहिले सिद्धिगणेश आधारभूत विद्यालयमा एक सय ५० जनाभन्दा बढी विद्यार्थी छन् । बालकक्षादेखि ५ कक्षासम्म अध्ययन हुने विद्यालयमा अभिभावकले पनि खासै चासो राखेका छैनन् ।

‘अभिभावक खासै आउनुहुन्न । अन्तिममा नतिजा हेर्नुहुन्छ । नतिजा ठीक नभए, पढाइ भएन भन्दै बालिबालिका अर्कै विद्यालयमा पठाउनुहुन्छ ।’ भारतीले भने ।उनका अनुसार एक जना शिक्षक थपिए पनि धेरै राम्रो नतिजा त आउँदैन तर, विद्यार्थीलाई ओगट्न सकिन्छ ।

 गाउँपालिकाका उपाध्यक्ष मनिषा धामी, प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्याय, शिक्षा संयोजक केशवराज भट्ट, स्वास्थ्य संयोजक कैलाश बलायर लगायतको टोलीले भने अब पुस महिनाभित्रै सिद्धिगणेशमा शिक्षक राख्ने प्रतिबद्धता जनाए । ‘योभन्दा अगाडि विभिन्न कारणले शिक्षक पठाउन सकिएन । अब भने दोस्रो हप्ता नै शिक्षक उपलब्ध गराउँछौँ, प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने, ‘हामी सबै यस्तै विद्यालयबाट पढेर आएका हौँ । पर्याप्त शिक्षक नभएर केही हुँदैन । पालिकामा पनि हामी नयाँ आएको हुँदा ढिलाई भएको हो । अब दोस्रो महिना नै सिद्धिगणेशमा शिक्षक पुर्याउँछौँ ।’