वर्तमान कानुनी व्यवस्थाभित्र रहेर स्तरीय शिक्षकको व्यवस्थापन कसरी ?

मुलुकको शिक्षा प्रणालीको गुणस्तर शिक्षकको गुणस्तरमा भर पर्दछ । त्यही भएर भन्ने गरिन्छ स्तरीय शैक्षिक प्रणालीका लागि स्तरीय शिक्षक चाहिन्छ । मुलुकको शैक्षिक प्रणालीमा स्तरीय शिक्षक कसरी ल्याउने त ॽ

शैक्षिक प्रणालीमा योग्य शिक्षक भित्र्याउने सन्दर्भमा व्यक्ति स्वयं, उच्च शिक्षा एवं विश्वविद्यालय पद्धति र शिक्षक छनोट प्रणाली जिम्मेवार हुन्छन् । कतिपय विद्वानले समग्र शिक्षा सुध्रनुपर्छ भन्छन् किनकी उच्च शिक्षामात्र एक्लै सुध्रदैन यसका लागि त पहिला विद्यालय शिक्षा सुध्रानुपर्छ भन्ने भनाइ छ । यहाँ उच्च शिक्षाको सट्टामा समग्र शिक्षा पद्धति सुधार गर्नुपर्छ भन्न सकिन्छ । स्तरीय शिक्षकका लागि यी तीनै पक्ष एक इकोसिस्टमको रूपमा रहन्छन् । कुनै एकमा मात्र सुधार गर्न खोजेर सुधार हुन सजिलो छैन । सुधारको गति हासिल हुँदैन् ।

यसरी शिक्षक हेर्दा व्यक्तिको रूपमा एक पक्षजस्तो देखिए पनि यो कार्य माथिका तीन पक्षसँग जोडिएको हुन्छ, जसको चर्चा देहायमा गरिएको छ ।

विश्वविद्यालय र उच्च शिक्षा प्रणाली

शिक्षकसँग सम्बन्धित सबैभन्दा महत्वपूर्ण पक्षमा विश्वविद्यालय शिक्षा प्रणाली पर्दछ । जबसम्म विश्वविद्यालय शिक्षा प्रणाली स्तरयुक्त बन्दैन, तबसम्म तहाँबाट उत्पादन हुने स्नातक स्तरीय बन्न सक्दैनन् । स्तरीय स्नातक बनाउन विश्वविद्यालयले सान्दर्भिक पाठ्यक्रम, उपयुक्त शिक्षण सिकाइ प्रकृया, अनुसन्धानमा आधरित शैक्षणिक प्रकृया, वास्तविक क्षमता मापन गर्ने मूल्याङ्कन पद्धति, योग्य र सक्षम प्रध्यापक र अनुकूलन शैक्षिक वातावरण बनाउने काम गर्नुपर्छ । अध्ययन अध्यापन प्रणाली स्तरीय चाहिन्छ । मुलुकमा योग्य व्यक्ति शिक्षण पेसामा ल्याउनका लागि विश्वविद्यालय प्रणाली सुधार गर्नुपर्दछ ।

अहिले राम्रो शिक्षा प्रणाली देखिएका मुलुकहरुले तहाँ अब्बल स्नातक तयार गरे । अनि तीनै अब्बल शिक्षण पेसामा आए वा ल्याइए । उनीहरूले विश्वविद्यालयको स्नातक तहमा भर्ना गर्ने क्रममा नै मेरिटको क्रममा माथि रहेकाहरूलाई प्राथमिकता दिए ।

यस प्रावधान नेपालमा सञ्चालन गर्न वा कार्यान्वयनमा ल्याउन के गर्नुपर्छ ? ऐनमा संशोधन गर्नुपर्छ । शिक्षामा स्रोत साधन बढाउनुपर्छ । विश्वविद्यालयहरुलाई सुधार्नुपर्छ । यी सबै कामका लागि समय लाग्छ, प्रतिबद्धता चाहिन्छ, स्रोत र साधन चाहिन्छ । सुधारका प्रयास चाहिन्छ । सामूहिक प्रयास चाहिन्छ । निरन्तरको साधना चाहिन्छ ।

शिक्षक छनोट प्रणाली

योग्य र दक्ष व्यक्तिलाई शिक्षण पेसामा भित्र्याउनका लागि ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण पक्ष शिक्षक छनोट प्रणाली हो । माथि भनिएजस्तै राम्रो शैक्षिक प्रणाली भएका मुलुकले स्नातक पूरा गरेकाहरूमध्येका उत्कृष्टलाई शिक्षण पेसामा भित्र्याउने पद्धति अवलम्बन गरे । शिक्षक छनोट प्रणालीले स्नातक उत्पादन गर्न त सक्दैन तर बजारमा उपलब्ध भएका जनशक्तिमध्ये कसलाई ल्याउने र कसलाई नल्याउने काम भने गर्नसक्छ । बजारमा के कस्ता उत्पादन हुन्छन वा ल्याउन सकिन्छ भन्नेमा यस छनोट प्रणालीले प्रत्यक्ष भूमिका निर्वाह नगरे पनि अप्रत्यक्ष भूमिका भने निर्वाह गरिरहेको हुन्छ । यस प्रणालीले एउटै शैक्षिक योग्यता भएकामध्येका शिक्षण पेसाका लागि योग्य र उपयुक्त व्यक्तिलाई पेसामा भित्र्याउन भने सक्छ ।

व्यक्ति

शिक्षा प्रणालीमा स्तरिय शिक्षक भित्र्याउने सन्दर्भमा व्यक्ति पनि जिम्मेवार पक्ष हुन्छ नै । किनकी व्यक्ति राम्रा र असल भएमा जो आए पनि राम्रै आउने हुन । असल नागरिक बनाउन सके जो जहाँ पुगे पनि असल व्यक्ति नै पुग्ने हुन्छन् । यो अलि आदर्शजस्तो लागे पनि वास्तविकता यही हो ।

हरेक व्यक्तिले आफ्नो जन्मसँगै निश्चित गुण र विशेषता लिएर आएको हुन्छ । केही गुण र स्वभाव पछि आर्जन गरेको पनि हुन्छ । यसरी हरेक व्यक्तिका गुण, स्वभाव, क्षमता र स्वभाव फरक फरक हुने गर्दछ । व्यक्तिका यस्ता स्वभाव विश्वविद्यालयका परीक्षाले मात्र मापन गर्न सक्दैन । यसको मापनका लागि त विशेष खालका साधनहरू प्रयोग गर्नुपर्छ ।

मानव स्वभावैले सबै एकै हुन् । तर वैयक्तिक भिन्नता वा क्षमताको कारणले हरेक मानिस एकअर्काभन्दा फरक पनि हुन्छन् । एउटै शैक्षिक योग्यता हासिल गरेकाहरुको क्षमता पनि फरक फरक हुनसक्छ । यस्ता फरक फरक क्षमता भएकामध्ये शिक्षण पेसाका लागि उपयुक्त व्यक्ति प्रणालीले छनोट गर्न सक्नुपर्छ ।

यी माथिका विषयहरू व्यवहारिक रुपमा कति सम्भव छन् त ? या यी विषयहरु सैद्धान्तिक मात्र हुन् ? के यिनलाई प्रयोगमा ल्याउन सम्भव छ त ?

शिक्षण पेसामा स्तरीय जनशक्ति भित्र्याउनका लागि माथिका तीनवटै पक्षमा ध्यान दिनु आवश्यक छ । यी तीनवटामा ध्यान पुर्याउनका लागि भएका कानुनमा संशोधन आवश्यक हुन्छ । संरचनागत सुधार आवश्यक हुन्छ । भएका बजेट तथा कार्यक्रमको पुनर्संरचना आवश्यक हुन्छ । समय पनि लाग्न सक्छ ।

के हामी र हाम्रा संरचना यस्ता कामका लागि तयार छन् त ॽ

हामी के गर्न सक्छौँ त

हालसम्मका अनुभवले देखाएअनुसार मुलुकको शिक्षा क्षेत्रमा ठूला ठूला संरचनात्मक परिवर्तन गर्न सक्ने हैसियत मुलुकसँग देखिएन । विद्यालय शिक्षाका लागि २०२८ सालको ऐन लिएर हामी अहिलेसम्म चलेका छौँ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका क्षेत्रमा २०४५ सालको ऐन छ । उच्च शिक्षाका क्षेत्रमा पनि यस्तै यस्तै अवस्था छ । यस बीचमा धेरै आयोग पनि बने । सुधारका सुझावहरू सुझाइए पनि । तर कानुनमा आवश्यक संशोधन गर्न भने सकिएन ।

मुलुक संघीय संरचनामा प्रवेश गरिसकेपछि पनि यो या त्यो नाममा पुरानै कानुनबाट काम गरिरहेका छौँ । हामीसँग भन्नका लागि धेरै कारण छन् । यसले के देखाउँछ भने कानुन बनाउने क्षमता नपुगेकै हो । त्यसो भए सुरूमा हाम्रो ध्यान भएकै कानुनबाट गर्न सकिने काममा दिनुपर्ने रहेछ ।

त्यसो भए शिक्षा प्रणालीमा स्तरीय शिक्षक भित्र्याउनका लागि अहिले भएकै कानुनबाट गर्न सकिने काम के के हुन त ॽ

शिक्षक छनोट प्रणालीमा सुधार

व्यवस्थापनका क्षेत्रमा निकोलो म्याकेयाभेलीको इन्ड जष्टिफाइ द मिन्स भन्ने अवधारणा छ । यसले हासिल गर्ने उपलब्धिका बारेमा मात्र जोड दिन्छ । यस अवधारणामा उपलब्धि हासिल गर्ने क्रममा अवलम्बन गरिएको प्रकृयामा खासै ध्यान दिइँदैन् । यही अवधारणालाई अवलम्बन गर्ने हो भने स्तरीय शिक्षक शिक्षण पेसामा ल्याउनका लागि शिक्षक छनोट प्रणालीलाई थप सघन बनाउन सकिन्छ होला । प्रश्नपत्र निर्माणदेखि परीक्षण पद्धति एवं अन्तर्वार्तासम्मका कार्यमा रिइन्जिनियरिङ गर्नुपर्छ । यस्ता कार्यका लागि भएकै कानुनका प्रावधानभित्र थप उपाय खोज्न सकिन्छ भन् खोजौँ भन्ने हो ।

शिक्षक सेवा आयोगले प्रश्नका ढाँचा बदल्न सक्छ । यही प्रश्नको ढाँचाले परीक्षामा समावेश हुन चाहनेहरुलाई विश्वविद्यालयको सम्बन्धित तहको पाठ्यक्रम र पाठ्यवस्तु पुनरावलोकन गर्न लगाउन सक्छ । आयोगको आफ्नै पाठ्यक्रमका बारेमा थप सोच्न बाध्य बनाउँछ सक्छ । प्रश्नकै कारण अध्ययन गर्न लगाउने सुल्टो बाटो त होइन, तर परीक्षा आएपछि पढन थाल्ने संस्कार भएको स्थानमा यसलाई अन्यथा नमान्दा पनि हुन्छ । विषयवस्तुका बारेमा सुक्ष्मढँगबाट प्रष्ट नभइकन परीक्षा राम्रोसँग झेल्न नसकिने मेसेज प्रवाह गर्न सकेमा परीक्षा दिन चाहने स्यवम थप अध्ययनमा लाग्छ सक्छन ।

यसरी प्रश्नपत्र निर्माणमा गरिने परिवर्तनले उमेदवारको पठन संस्कृतिमा जोड दिनसक्छ । अवधारणा र सोको व्यवहारिक प्रयोगमा जोड दिन्छ । यसलाई जति सघन बनाउन सकियो, उति नै छनोट हुने व्यक्तिको जवाफदेहिता उच्च हुन्छ ।

बजारमा उपलब्धमध्ये तुलनात्मक रूपमा स्तरीय जनशक्ति शिक्षण पेसामा भित्र्याउनका लागि शिक्षक सेवा आयोगले गम्भीर भएर सोचविचार गरी अहिलेकै कानुनी प्रावधानभित्रबाट पनि धेरै काम गर्नसक्छ ।  

पेसागत विकासका विविध अवसरको खोझी र कार्यान्वयन  

शिक्षकको क्षमता र स्तरका बारेमा चर्चा गर्दा कस्ता व्यक्तिलाई शिक्षण पेसामा ल्याउने भन्ने विषयजत्तिकै महत्वपूर्ण पक्ष सेवा प्रवेश पश्चात शिक्षक विकासका कार्यक्रम के कसरी कार्यान्वयन गर्ने भन्ने हुन्छ भन्ने गरिन्छ । यसको सार भनेको सुरूमा कस्ता व्यक्तिलाई भित्र्याउने त्यसपछि उनीहरूको विकासमा कसरी ध्यान दिने भन्ने नै हो ।

विकसित मुलुकहरूले शिक्षण पेसामा प्रवेश गरिसकेकाहरुलाई सेवाकालमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेर त्यसमा सहभागी हुने अवसर दिए । क्षमता विकासका कार्य कार्यान्वयनमा ल्याए । पेसागत विकासका विभिन्न अवसर उपलब्ध गराए । शिक्षक स्वयंलाई यसमा लाग्नका लागि प्रोत्साहित गरिरहे ।

यसरी अहिले कै कानुनभित्रबाट गर्न सकिने अर्को काम भनेको शिक्षण पेसामा प्रवेश गरिसकेकाहरूका लागि पेसागत विकासका लागि अवसरहरू खोझी गरी कार्यान्वयनमा ल्याउन उत्प्रेरित गर्ने हो । यहाँ पेसागत विकासलाई तालिम केन्द्रबाट दिइने तालिमको रूपमा मात्र बुझिन्छ । तर यो विषय यतिमा मात्र सीमित छैन ।

पेसागत विकासका लागि हामीले अवलम्बन नगरेको तर गर्नैपर्ने कार्य भनेको स्वअध्ययनको वातावरण सिर्जना गर्नु हो । शिक्षकलाई स्वअध्ययनमा लगाउनु हो । त्यसमा उत्प्रेरित गर्नु हो । यसमा हामीले अहिलेसम्म खासै केही गरेकै छैनौँ । यसमा विज्ञहरूले धेरै उपाय सुझाउन सक्छन् सोको सूची तयार गरी सबै शिक्षकलाई उपलब्ध गराउन सकिन्छ ।

विश्वविद्यालयले कार्यशैलीमा सुधार गर्ने

शिक्षण पेसामा दक्षव्यक्तिलाई भित्र्याउन विश्वविद्यालयले आफ्नो कार्यशैलीमा केही मात्रामा भए पनि सुधार्न सक्छ । क्यालेन्डर पालना गर्न सक्छ । प्रश्नपत्र र मूल्याङ्कन पद्धतिमा सुधार गर्नसक्छ । विद्यार्थीलाई सहयोग गर्ने ढाँचामा सामान्य फरेबदल गर्नसक्छ । विषयवस्तु र शिक्षण विधि प्रक्रियामा अध्यावधिकता कायम गर्न सक्छ । विषयवस्तुसम्बन्धमा अवधारणा, सैद्धान्तिक पक्ष एवं विषयवस्तुको अर्थ र व्याख्यामा जोड दिनसक्छ ।

विद्यालय र स्थानीय तहमा अनुकूलन वातावरण सिर्जना गर्ने   

स्थानीय तहमा वा विद्यालय तहमा शिक्षकसँग सहकार्य गर्ने, समन्वय गर्ने एवं आवश्यकताअनुसार सहयोग गर्ने वातावरणले पनि शिक्षकलाई पेसागत विकासमा सहयोग पुग्दछ । दोष लगाएर मात्र हुदैन भनेर बुझ्नु बुझाउनु उत्तिकै आवश्यक छ । एकआपसमा सहकार्य गर्ने ढाँचाले अगाडि बढ्न सहयोग गर्छ नै ।

सबै शिक्षक सबै विषयको शिक्षणमा उत्तिकै मात्रामा पोख्त नहुन पनि सक्छन् । स्थानीय तहले शिक्षक मेन्टरको व्यवस्था, विषय विज्ञसँग छलफल एवं अन्तरकृया गर्ने मौका, विषयगत शिक्षकहरूको सन्जाल निर्माण गर्ने जस्ता कार्यले शिक्षकहरूलाई थप सहयोग पुग्न सक्छ ।

विद्यालय तह एवं कक्षाकोठामा भएका कृयाकलापहरूको सुक्ष्मढँगबाट अनुगमन गर्ने र सोको सुझाव कार्यान्वयनमा ल्याउन सघाउने कार्यबाट पनि शिक्षकहरूलाई कमजोरी सुधार्ने मात्र नभइ केही नयाँ सिक्ने अवसर पनि प्राप्त हुन्छ नै ।

विज्ञहरूको सहयोगमा सेल्फ एसेसमेन्ट गर्ने खालका साधनहरू निर्माण गरेर शिक्षकहरूलाई सोको प्रयोग गर्ने अवसर उपलब्ध गराउन सकेमा शिक्षकलाई आफ्ना सबल पक्ष र कमजोरीहरू सुधार गर्नका लागि उपयुक्त मौका मिल्ने देखिन्छ ।

विद्यालय, शिक्षक र अभिभावकको बीचमा सहकार्य गर्ने  

हरेक कक्षाका शिक्षक अभिभावक संघ स्थापना गरेर शिक्षक र अभिभावकको नियमित अन्तरकृया गर्न सके विद्यार्थीको सिकाइ एवं व्यवहार निर्माणमा दुवै पक्षलाई केही अन्तरदृष्टि मिल्न पनि सक्छ । यस्तो अन्तरकृयाले विद्यालय तहका तलका कक्षाहरूमा अध्ययन गर्ने बालबालिकाहलाई उल्लेख्य सहयोग पुग्छ भन्ने गरिन्छ माथिल्लो कक्षाका विद्यार्थीहरूको तुलनामा ।

विद्यालयले आफ्ना कार्यहरू र विद्यार्थी सिकाइमा भएगरेका कार्यहरूमा नियिमत रूपमा सामूहिक ढँगबाट समीक्षा गरेर त्यसबाट सुधारका क्षेत्र तथा कार्यहरू पहिचान गर्नसक्छ । जब समीक्षा सामूहिक रूपमा गरिन्छ, अनि सुधारको योजना तर्जुमा पनि सामूहिक रूपमा नै गराउन सकिन्छ । यस सामूहिक योजना तर्जुमा पश्चात व्यक्तिगत योजना निर्माण गर्न पन लगाउन सकिन्छ ।

र अन्तमा,

शिक्षण पेसामा स्तरीय शिक्षक भित्र्याउनका समग्र उच्च शिक्षा र विश्वविद्यालय प्रणालीमा सुधार चाहिन्छ । शिक्षक छनोट प्रणालीमा सुधार चाहिन्छ । लागि व्यक्ति स्वयंलाई अध्ययनमा प्रेरित गर्ने वातावरण सिर्जना गर्न सकिन्छ । विद्यालय एवं स्थानीय तहमा शिक्षकसँग सहकार्य गर्ने, शिक्षकलाई थप परिचालित गर्ने र शिक्षकलाई उत्प्रेरित गर्ने वातावरण सिर्जना गर्न सकिन्छ । यी काम इच्छाशक्ति भएमा अहिले कै कानुनभित्रबाट पनि गर्न सकिन्छ ।

दीर्घकालका लागि हाल कायम रहेका वा भएका शैक्षिक कार्यक्रमको समग्र रिइन्जिनियरिङ गरेर जानुपर्छ । सबैलाई थप जवाफदेही बनाउने मोडलको खोजी गरी कार्यान्वयनमा ल्याउनुपर्छ । जसलाई जे तोकिएको छ, सो स्तरीय ढँगबाट गर्ने वातावरण सिर्जना गर्नुपर्छ । समग्र संयन्त्र र कर्तालाई जवाफदेही बनाउने संयन्त्र स्थापना र सोको कार्यान्वयन गर्नुपर्छ ।

लेखक सुदूरपश्चिम प्रदेश सरकारका कामु प्रमुख सचिव हुन् ।

Thuprai - Books and E-books