विद्यार्थीले यो समय कसरी बिताउने ?

चीन, दक्षिण कोरिया, जापान, ताइवान, सिङ्गापुर र हङ्कङ् लगायतका देशहरुमा कोभिड-१९ बाट  सङ्क्रमितको सङ्ख्यामा क्रमशः कमी हुँदै आइरहेको छ । सङ्क्रमित भएका झण्डै ९६ हजार जना निको भएका छन् । उपचारमा रहेका धेरै निको भएर क्रमशः घर जाने छन् । रोगसँग लड्ने आन्तरिक प्रतिरक्षा ज्यादै कमजोर भएका र जानेर वा अन्जानमा लापरवाही गर्ने विरामीहरु मात्र खतरामा रहेका छन् । सबै सचेत हुने हो भने कोरोना भाइरस नियन्त्रण हुन सक्ने देखिएको छ ।

नेपाल सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । यस वर्षको एसईई परीक्षामा मात्र पनि चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र देशभर परीक्षाका लागि एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । एसईई परीक्षा स्थगित भएपछि मैले दाङ, रुकुम, रोल्पा, प्युठान र अर्घाखाँची जिल्लाको स्थलगत भ्रमण गरेको छु । यो भ्रमणका समयमा एसईई परीक्षा स्थगित भएपछि परीक्षार्थीहरु निराश हुँदै घर फर्किएको, खोलामा दुवाली छेकेर माछा खोजिरहेको, काम विना अल्मिलिएको वा घरमा घाँस दाउरा गर्न थालेका दृश्य देखेको छु । एक किसिमले किंकर्तव्य विमुढ जस्तो यो १४/१५ वर्षका किशोर किशोरीको नयाँ दैनिकी हो । 

यसैगरी पूर्व प्राथमिकदेखि कक्षा ९ सम्मका विद्यार्थीहरु परीक्षा सकेर फुर्सदमा रहेका छन् । गत वर्षहरुभन्दा करिव १५ दिन बढी बिदा थपिएको छ । यस वर्षको परीक्षा नतिजा र नयाँ कक्षामा भर्नाबारे यकिन गर्न कठिन भएको छ । आशा गरौँ, आगामी वैशाख २ गतेबाट सहजरुपमा विद्यार्थी भर्ना अभियान चल्न सक्नेछ र सहजरुपमा पठनपाठन प्रारम्भ हुनेछ ।

यस अवस्थामा फुर्सदिला बालबालिकाको समय व्यवस्थापन बारे सबैको चासो रहनु स्वाभाविक हो । तर मुलुक र करिव विश्व नै लकडाउन भएको अवस्थामा अभिभावक र फुर्सदिला अधवैंसेहरुको दिनचर्या पनि अझ चुनौतीपूर्ण रहन सक्दछ । तथापि भखैरै २०७२ सालमा भूकम्पको त्रासबाट सङ्कट व्यवस्थापनमा अभ्यस्त बनेका आम नेपालीलाई अहिलेको कोरोना कहर ज्यादै चुनौतीपूर्ण नहुने विश्वास गर्न सकिन्छ ।

अहिले घरभित्र नै बसेर सामाजिक सञ्जालमा जोडिन इन्टरनेटको सहज पहुँच छ । रिङ्टोनमा कोरोना सचेतक सन्देश प्रवाह हुने व्यवस्था मिलाइएको छ । नेपाल टेलिकम, एनसेल लगायतका सेवा प्रदायक संस्थाले डाटा प्याक सस्तो र सुलभ बनाएका छन् । हातहातमा मोबाइलसहित कुराकानी गर्ने सञ्चारका उपकरणहरु सहज छन् । टेलिभिजन र रेडियोका च्यानलहरु प्रशस्त छन् । घरभित्र समय कटाउन कठिन छैन ।

तथापि समयलाई सदैव आफ्नो हितमा उपयोग गर्न भने हरेक नागरिक सचेत रहन आवश्यक छ । यसका लागि प्रत्येक घरका अभिभावक स्वयं शिक्षक वा सहजकर्ता बन्न सक्नु पर्दछ । यो काम त्यति सजिलो पनि छैन र अति कठिन पनि हुन्न । हरेक अभिभावकलाई आफ्ना सन्तती असल र सक्षम बनून् भन्ने लाग्छ । समाज विकासको क्रमसँगै गुरुकुल, मठमन्दिर, गुम्बा, मदरसा, मस्जिद वा यस्तै स्थान र पद्धतिबाट सिक्ने सिकाउने गरिएको तरिकालाई अहिले विद्यालय, शिक्षालयका जिम्मामा छोडिएको मात्र न हो । यस्तो व्यावसायिकताको अभ्यास नभएको भए त आफ्ना सन्तानलाई आवश्यक ज्ञान, सिप र दक्षता प्रदान गर्ने वा यस काममा सहजीकरण गर्ने दायित्व मूलतः बाबुआमा, हजुरबुबा, हजुरआमा, काकाकाकी वा दाजुदिदी कै हुने थियो । अहिले कठिन छैन । सिक्ने सिकाउने गुगल गुरु, इन्टरनेटको सञ्जाल र हाम्रो सन्दर्भमा निम्न ठेगानामा सामग्रीहरु पाइन्छन् । आवश्यकता छ त केवल ध्यानदृष्टि, जिम्मेवारी बोध र मार्गदर्शनको ।

Content Link
Virtual Class of All Compulsory Subjects (Class 9-10) https://www.youtube.com/ncedvirtual?
Grades 6-8 English, Maths, Science content: https://moest.himalayantechies.com/?
E-Paath - Digital Learning Activities https://pustakalaya.org/epaath/?
Children's Stories and Games:  https://egr.pustakalaya.org/?
Children's Books https://pustakalaya.org/balpaathmala/?
E-Pustakalaya - Free and Open Digital Library https://pustakalaya.org/en/?

यी सामग्री हाललाई अनलाइन सेवाबाट मात्र उपलब्ध गर्न, गराउन सकिन्छ । विस्तारै अफलाइनमा उपलब्ध गराउने प्रयास पनि भैरहेको छ । यो एकान्तवास (लकडाउन)को समयमा नेपालका सबै टेलिभिजनले दिनको कम्तीमा दुई घण्टा शिक्षासँग सम्बन्धित विषय प्रसारण गर्ने व्यवस्था मिलाउन सके ज्यादै उचित हुनेछ । विभिन्न च्यालन र प्रकाशन संस्थाहरुले स्वतः स्फूर्तरुपमा यो दिशामा लाग्नु आवश्यक छ ।

मुलकका सुयोग्य शिक्षक मित्रहरुले स्वेच्छिकरुपमा आफ्नो सम्पर्क नम्बर दिएर अनलाइन पाठ प्रदर्शनीका लागि तयारी गर्न आवश्यक छ । यसका लागि काठमाडौँमै हुनुपर्छ भन्ने छैन । टेलिभिजन, रेडियो र अनलाइन मिडियाका साथीहरु यो दिशामा लागौँ । नेपाल शिक्षक महासङ्घ, निजी लगानीको शिक्षा व्यवस्थापक र अभिभावक सङ्घ तल्कालै यो दिशामा नेतृत्वदायी र मार्गदर्शक बन्न सक्नु पर्दछ । यस विषयमा आवश्यक संयोजन र योगदान गर्न तयार रहनु पर्दछ ।

आफुभन्दा कमजोर छन् भन्दैमा बालबालिकालाई पिट्नु हुँदैन, गाली र हेला होचो गर्नु हुँदैन । विपरीत अवस्थाका वा समस्याका कारण आफूमा परेको तनाव वा मानसिक अव्यवस्थापन चाप बालबालिका समक्ष खन्याउनु हुँदैन । समयको चाप र आगामी अवस्थाबारे गुलियो औषधी सेवन गराए जस्तो अप्रत्यक्ष रुपमा सजग र तयारी गराउनु फर्दछ । यस व्रममा अभिभाववकले गर्नुपर्ने निम्न सात मुख्य कुराहरु प्रस्तुत गरिएको छ :

क. बालबालिकालाई वर्तमान अवस्था केही असहज हो तर नियन्त्रण बाहिर रहेको असहजता भने होइन भन्ने मनोविज्ञान पैदा गर्ने ।

ख. आफ्ना साथमा रहेका पाठ्यसामग्री पढ्ने, लेख्ने, छुटेका नोट तथा पाठहरु तयार गर्न प्रोत्साहित गर्ने ।

ग. अनलाइनमा पाइने सामग्रीहरुको उपयोग गरी पढाइसँग सम्बन्धित तयारी गर्न प्रोत्साहित गर्ने ।

घ. बालबालिकालाई उनीहरुमा रहेको सिर्जनात्मक प्रतिभा वा रुचीका क्षेत्रमा लाग्न प्रोत्साहन तथा सहजीकरण गर्ने । जस्तैः चित्र कोर्ने, कथा, कविता, निवन्ध, मनोवाद, वादविवाद, हाजिरी जवाफ, अन्ताक्षरी आदि । 

ङ. घरभित्र पनि गीत, सङ्गीत, नाच, इन्डोर गेमहरु, ओरेगामी (कागजका सामग्री बनाउने) जस्ता कार्य गरी गराइ मनोरन्जनात्मक वातावरण बनाउने ।

च. कार्य तालिका बनाइ पारिवारिक वातावरणमा समयको भरपूर उपयोग गर्न सहजीकरण गर्ने । यसका लागि १–२ घण्टा पढ्ने, १–२ घण्टा खेल्ने, १–२ घण्टा सिर्जनात्मक कार्य गराउने, १ –२ घण्टा करेसाबारी भए काम गर्ने, १–२ घण्टा घर सरसफाइ गर्ने, १–२ घण्टा गमला सजाउने, साँझमा दिनभरी आफूले गरेका कार्यको सामूहिक प्रतिवेदन प्रस्तुती सत्र बनाइ फरकफरक व्यक्तिलाई सञ्चालन गर्न दिने आदि ।

छ. उमेरअनुसार भान्सालगायत घरेलु काममा आफूसँगै सहभागी गराइ जीवनोपयोगी सिप सिकाउने ।

(लेखक शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीका निर्देशक हुन् ।)

I Tech store