After SEE Portal

विज्ञानका उत्कृष्ट शोधार्थीलाई अनुदान प्रदान

Bridge Course

काठमाडौँ सेन्टर फर रिसर्च एन्ड एजुकेसन (केसिआरई) उत्कृष्ट शैक्षिक अनुदानबाट त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विभिन्न विभाग तथा क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तहका १३ जना उत्कृष्ट शोधार्थीलाई पुरस्कृत गरिएको छ । वार्षिक रुपमा उपलब्ध गराइँदै आएको उक्त शैक्षिक अनुदानको राशी जनही ८० हजार रुपियाँ रहेको छ ।

त्रिवि र चाइनिज एकेडमी अफ साइन्सेसबीच सन् २०१४ मा सहमति भई उक्त अनुदान विद्यार्थीलाई उपलब्ध गराउन थालिएको हो । हालसम्म १३० जना शोधार्थीले उक्त अनुदान प्राप्त गरिसकेका छन् । 

उत्कृष्ट शोधार्थी अनुदान प्राप्त विद्यार्थीमा वातवरण केन्द्रीय विभागका अन्जुली मुल्मी, खाद्य प्रविधि केन्द्रीय विभागका स्वेच्छा थापामगर, बायोटेक्नोलोजी केन्द्रीय विभागका रोजीना पाण्डे, रसायशास्त्र केन्द्रीय विभागका सोनिया जोशी र सीता खडका, भौतिकशास्त्र केन्द्रीय विभागका सागर पाण्डे, गणित केन्द्रीय विभागका सन्देश ठकुरी, प्राणीशास्त्र केन्द्रीय विभागका अन्जु कर्माचार्य, तथ्याङ्कशास्त्र केन्द्रीय विभागका श्रृषा रिजाल, माइक्रोवायोलोजी केन्द्रीय विभागका लक्ष्मी पाण्डे, भूगर्भशास्त्र केन्द्रीय विभागका नागेश रिजाल, वनस्पतीशास्त्र केन्द्रीय विभागका विनिका माथे र जल तथा मौसम विज्ञान केन्द्रीय विभागका स्मृति अधिकारी रहेका छन् । 

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले उत्कृष्ट शोधार्थीलाई उक्त अनुदान प्रदान गरे । उनले विज्ञानका उत्कृष्ट वैज्ञानिक विद्यार्थीले विश्वविद्यालयको गरिमा बढाउने र भविष्यमा थप उत्कृष्ट कार्य गर्ने अपेक्षा व्यक्त गरे । 

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा. विनिल अर्यालले चाइनिज एकेडमी अफ साइन्सेस विश्वकै उत्कृष्ट वैज्ञानिक निर्माण गर्ने संस्था रहेको बताउँदै आगामी दिनमा त्रिविले अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूसँग सहकार्य गरी विद्यार्थीलाई विविध प्रकारका आर्थिक एवं प्राज्ञिक सहयोग उपलब्ध गराउने बताए ।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख प्रा.डा. दीपक अर्यालले आर्थिक प्रोत्साहनका अन्य स्रोतमार्फत विद्यार्थीलाई अनुसन्धानमा उत्पे्ररित गर्नुपर्ने बताए । सोही विभागका सहप्राध्यापक तथा काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एजुकेशनका उपनिर्देशक डा. विनोद दवाडीका अनुसार विद्यार्थीले प्राप्त गर्ने ८० हजार रुपियाँमध्ये ६० प्रतिशत अर्थात् ४८ हजार रुपियाँ उपलब्ध गराइएको र बाँकी २० प्रतिशत रकम शोधकार्य नौ महिनाभित्र सम्पन्न गरेपछि तथा अन्तिम २० प्रतिशत रकम शोधार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धानात्मक लेख आगामी दुई वर्षभित्र प्रकाशित गरिसकेपछि प्रदान गरिने छ । 

A Levels MA
Thuprai - Books and E-books