After SEE Portal

भर्ना, साक्षरता र हरित विद्यालय अभियान एकैसाथ

Bridge Course

काठमाडौँ, २० फागुन (रासस)ः सरकारले विद्यालय भर्ना, साक्षरता र हरित विद्यालय अभियान एकै साथ वैशाखदेखि सञ्चालन गर्ने भएको छ । 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छुट्टाछुट्टै रुपमा सञ्चालन गरेतापनि यस वर्षदेखि सबै बालबालिकालाई विद्यालयमा ल्याउन र साक्षरता मुलुक घोषणा गर्ने सरकारको प्रतिबद्धतालाई पूरा गर्नका लागि दुई अभियानसँगै हरित विद्यालय अभियानलाई समेतसँगै लैजान लागेको हो । 

विद्यालय भर्ना शतप्रतिशत पु¥याउने, निरक्षर उन्मुलन गर्ने र विद्यालयलाई हरियाली बनाउनका लागि तीन अभियानलाई सँगै लैजान लागिएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो । विद्यालय भर्ना र साक्षरता पहिल्यैदेखि सञ्चालन हँुदै आएका हुन् । हरित विद्यालय अभियान आउँदो नयाँ वर्षदेखि सरकारले सबै विद्यालयमा बगैँचा र हरियाली बनाउने उद्देश्यले सञ्चालन गर्न लागेको हो । 

सबै कार्यक्रम वैशाखदेखि सञ्चालन गर्न केन्द्र आवश्यक तयारीमा जुटेको छ । अहिले १५ वर्षभन्दा माथिका करीब एक लाख दुई हजार १०१ जना निरक्षर रहेको तथ्याङ्क छ । करीब ९५ प्रतिशत साक्षर भएपछि साक्षरता घोषणा गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको छ । ‘‘आउने वैशाखदेखि सञ्चालन हुने अभियानले विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा पु¥याउने छौ’’ केन्द्रका महानिर्देशक पौडेलले भन्नुभयो,‘‘साक्षरता अभियानबाट सबै निरक्षरलाई पढ्नसक्ने बनाउने छौ ।’’ 

एकीकृत रुपमा अभियान सञ्चालन भएपछि एकले अर्कोलाई सहयोग पुग्ने बताइएको छ । उहाँका अनुसार अझै विद्यालय जाने उमेरका करीब २.७ प्रतिशत विद्यार्थी विद्यालय बाहिरनै छन् । केन्द्रका अनुसार अहिले ६० हजार उमेरका विद्यार्थी विद्यालय बाहिर छन् तीमध्ये प्रदेश नंं २ मा २६ हजार छन् । केन्द्रका निर्देशक पौडेलले प्रदेश र स्थानीय तहलाई विद्यालय भर्ना र साक्षरता अभियानमा सहभागी गराइने बताउनुभयो । ‘‘केन्द्रले निरक्षर र विद्यालय भन्दा बाहिर रहेको सङ्ख्या एकीन गरी अभियान सञ्चालनका लागि स्थानीय तहमा पठाएको छ’’ उहाँले भन्नुभयो,‘‘तथ्याङ्कको आधारमा एकीकृत रुपमा साक्षरता र भर्ना अभियानलाई सँगैसँगै लैजान सबै स्थानीय तहलाई निर्देशन दिने तयारीमा छौ ।’’ 

मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले उमेर पुगेर विद्यालय जान नपाएका बालबालिकालाई शतप्रतिशत विद्यालयमा भर्ना गर्ने गरी अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । गतवर्ष प्रधानमन्त्री केपी शर्मा ओली मुगु पुगी विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा भर्ना गराएर अभियान सञ्चालन गर्नुभएको थियो । प्रवक्ता अर्यालका अनुसार गतवर्ष तीन लाख १३ हजारमध्ये दुई लाख ५४ हजार विद्यार्थी भर्ना भएका थिए । 

विशेष गरी पिछडिएका, शिक्षा र चेतनाबाट वञ्चित तथा मजदूर वर्गका बालबालिका विद्यालय भन्दा बाहिर रहेका छन् । ‘‘यसवर्ष कोही पनि विद्यालय भन्दा बाहिर रहन नपरोस् र सबै निरक्षरबाट साक्षरता बनाउने उद्देश्यले अभियान सञ्चालन गर्दैछौ’’ उहाँले भन्नुभयो,‘‘दुबैमा हामी शतप्रतिशत नजिता हासिल गर्नेछौ ।’’ विसं २०६९ मा सरकारले साक्षरता अभियान सञ्चालन गरेको थियो । सरकारले आगामी दुई वर्षभित्र नेपाल साक्षरता घोषणा गर्ने नीति लिएको छ । अहिलेसम्म ४८ जिल्ला साक्षर घोषणा भइसकेका छन् । 

चार पद्दतिबाट साक्षर बनाइने 

केन्द्रले सबैलाई साक्षर बनाउन विभिन्न चार पद्दति अवलम्बन गर्ने छ । केन्द्रका निर्देशक गेहनाथ गौतमका अनुसार एकजना साक्षरले एक निरक्षर, समूह प्रणाली, परिवार र कक्षागत प्रणालीबाट निरक्षरलाई साक्षर बनाइने छ । 

चार पद्धतिबाट साक्षर बनाउन नसके कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबाट प्रयोगात्मक अभ्यासमार्फत केही रकम दिएर निरक्षरलाई साक्षर बनाइने उहाँले बताउनुभयो । केन्द्रले चार तहमा साक्षर घोषणा गर्न बाँकी रहेका जिल्लाको वर्गिकरण गरेको छ । समूह ‘क’ मा साक्षर भए पनि घोषणा गर्न बाँकी जिल्लामा काभ्रे, सङ्खुवासभा, मोरङ, डडेल्धुरा र बैतडी रहेका छन् । 

समूह ‘ख’मा साक्षर घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका जिल्लामा कैलाली, डोटी, बाँके, काठमाडाँै, कपिलवस्तु र ताप्लेजुङ छन् । समूह ‘ग’ अन्तर्गत साक्षर जिल्ला घोषणा गर्नका लागि केही थप कक्षा सञ्चालन गर्ने जिल्लामा मुगु, जुम्ला, कालीकोट, अछाम, बझाङ, बाजुरा, कञ्चनपुर र महोत्तरी छन् । यसैगरी साक्षर घोषणा गर्न सघन रुपमा कक्षा सञ्चालन गर्नुपर्नेमा धनुषा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सा, सोलुखुम्बु, हुम्ला र डोल्पा रहेका छन् । साक्षरता अभियान सञ्चालनका लागि २० करोड लाग्ने भए पनि रु चार करोड पाँच लाख छुट्याइएको छ । 

एनआरएनले सहयोग गर्ने 


यसैगरी प्रदेश नंं २ का जिल्लामा साक्षरता र भर्ना अभियानमा गैर नेपाली आवासीय सङ्घ (एनआरएन)ले सहयोग गर्ने भएको छ । मन्त्रालय र सङ्घबीच सहमति पत्रमा हस्ताक्षर गदै प्रदेश नंं २ का आठ जिल्लामा साक्षर र भर्ना अभियानमा सङ्घले सहयोग गर्ने केन्द्रका महानिर्देशक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार एनआरएनले प्रदेश नं २ का ८ जिल्लामा गई विद्यालय बाहिर रहेका बालबालिकालाई खाजा, पोशाक र साक्षर बनाउन सहयोग गर्नेछन् । 

–शरद शर्मा 

A Levels MA
Thuprai - Books and E-books