बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान चाँडै विश्वविद्यालय बन्ने

धरान, ४ चैत (रासस) : उपप्रधान, जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयका रुपमा स्थापित गर्ने सरकारले निर्णय गरिसकेको बताउनुभएको छ । 

प्रतिष्ठानको अनुगनमा आउनुभएका उहाँले आगामी शैक्षिक सत्रदेखि प्रतिष्ठान छुट्टै विश्वविद्यालयका रुपमा सञ्चालन हुने बताउनुभयो । उहाँले प्रतिष्ठानका चिकित्सक, कर्मचारी, शिक्षकहरुसँग भेट गरी सबैलाई विश्वविद्यालयको स्तरअनुसारको विस्तारका लागि नयाँ योजना बनाउन निर्देशनसमेत दिनुभयो । उहाँले चाँडै मन्त्रालयले संशोधनको प्रक्रिया अगाडि बढाउने बताउनुभयो । 

छलफलमा चिकित्सकहरुले मन्त्रालयका एकेडेमीहरुको निगरानी र विस्तारका लागि कुनै प्रयास नभएको गुनासो गर्नुभयो । अधिकांशले पदाधिकारी नियुक्ति गर्दा आर्थिक चलखेलका कारण प्रतिष्ठान जर्जर बनेको भन्दै स्वच्छ मान्छेलाई कुनै चलखेल बिना नियुक्ति गर्न माग गर्नुभयो । 

मन्त्री यादवले गुनासोको सुनुवाइ गर्दै स्वास्थ्यसम्बन्धी सबै क्षेत्रलाई निगरानी गर्न मन्त्रालयले तीन वटा विभाग बनाएर काम शुरु गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार समग्र स्वास्थ्य क्षेत्रको व्यवस्थापनका लागि व्यवस्थापकीय विभाग, शैक्षिक संस्था हेर्नका लागि एकेडेमिक विभाग र स्वास्थ्यसम्बन्धी योजना, अनुसन्धान लगायतको विषयमा अध्ययन, अनुगमन गर्न प्लानिङ एण्ड रिसर्च विभाग बनाइएको जानकारी दिनुभयो । 

उहाँले विपी प्रतिष्ठानको उपकुलपति चैत भित्रै नियुक्ति गरेर सबैखाले समस्या समाधान गर्ने बताउनुभयो । उपकुलपति डा राजकुमार रौनियारलाई अनियमितताको आरोपमा गत फागुन १७ गतेको सिनेट बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो । कुलपतिसमेत रहेका प्रधानमन्त्रीले गत फागुन २६ गतेको सिनेटको निर्णयलाई सदर गरेपछि प्रतिष्ठान उपकुलपतिविहीन बनेको छ । 

Thuprai - Books and E-books