निर्णयमै सीमित प्राक्टिस बुकको बिक्री वितरणमा रोक लगाउने सरकारको निर्णय

सरकारले विभिन्न तहका विषयगत पाठ्यपुस्तकका आधारमा तयार गरिएका प्रश्नपत्र संगालो र प्राटिक्सबुकको बिक्री वितरणमा रोक लगाएको एक वर्ष बिते पनि बजारमा यस्ता सामग्रीहरु छ्याप्छ्प्ती पाइने गरेका छन् ।

राजधानीको भोटाहिटी, बागबजार, डिल्लीबजार, पुतलिसडक आसपासका पुस्तक पसल लगायत अन्य चोकका पसलमा निजी पब्लिकेसनले प्रकाशन गरेका यस्ता बुक अहिले पनि बिक्री वितरण भइरहेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७६ कार्तिक ७ गतेको निर्णयअनुसार लागु गरिएको पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७६ ले यस्ता पाठ्यपुस्तक बेच्नमा रोक लगाएको भए पनि अहिले सम्म यी बुकहरु बजारमा प्रशस्त पाइने गरेका छन् ।

सो निर्देशिकाको परिच्छेद ९ को पाठ्यसामग्री व्यवस्थापन तथा मूल्यांकन सम्बन्धी व्यवस्थाको नियम २५ को उपनियम ६ मा ‘केन्द्र, सम्बन्धित परीक्षा बोर्ड तथा परीक्षा समितिहरू र विद्यालय तथा शिक्षकले नमुनाका रूपमा प्रकाशित गर्ने प्रश्नपत्र र पाठ्यपुस्तकमा नमुनाका रूपमा समावेश भएका प्रश्नपत्रबाहेक प्रश्नपत्रको सँगालोका रूपमा प्राक्टिस बुक, गेस पेपर, गाइड जस्ता सामग्रीहरू छपाइ, बिक्री वितरण गर्न र विद्यार्थीका प्रयोग गर्ने प्रयोजनका लागि स्वीकृत प्रदान गरिने छैन, स्वीकृति प्राप्त नभएका यस्ता सामग्रीहरू प्रकाशन गर्न, बिक्री वितरण गर्न र विद्यार्थीलाई खरिद गर्न लगाउनु हुँदैन ।’ भनिएको भएपनि निजी पब्लिेकेसनले अहिले सम्म यस्ता सामग्री उत्पादनमा रोक लगाएका छैनन् ।

विद्यालयले नै खोजीखोजी निश्चित पब्लिकेसनका प्रश्नपत्र संगालो र प्राक्टिस बुक विद्यार्थीलाई किन्न लगाउने गरेको भक्तपुरका टीका न्यौपाने बताउँछन् ।

प्राक्टिस बुकले विद्यार्थीलाई निश्क्रिय बनाउँछ

शिक्षा मन्त्रालयले नीतिगत निर्णय गर्ने तर प्रभावकारी अनुगमन तथा निर्णयको कार्यान्वयन नै नगर्दा अहिले सम्म निजी पब्लिकेसनले यस्ता बुक छापाइ गरी बिक्री वितरण गरिरहेको शिक्षाविद्को धारणा छ ।

‘विद्यार्थीले मेहनत गरेर सिक्ने बानीको अन्त्य भई घोकन्ते शिक्षा मात्र कार्यान्वयन हुन्छ भन्ने उद्देश्यले यस्ता बुकको बिक्री वितरणमा रोक लगाएको हो ।’ कक्षा ९ र १० नेपाली पाठ्यपुस्तक लेखक डा. धनप्रसाद सुवेदीले भने, ‘यस्ता बुकले गर्दा विद्यार्थीको बोध, ज्ञान र आत्मआलोचना गर्ने सिपको अन्त्य हुन्छ, उनीहरु ऊर्जाशील हुँदैनन् ।’

शिक्षकले नै बढी प्रयोग गर्छन्

यस्ता बुकको प्रयोगकर्ता विद्यार्थी भन्दा शिक्षक नै बढी हुने गरेका छन् । हरेक शैक्षिक सत्रको सुरुका दिनमा नै शिक्षकहरुले अद्यावधिक भएका यस्ता पुस्तक किन्ने गरेका छन् । ‘हामी पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्य र शिक्षाको राष्ट्रिय तथा तहगत उद्देश्यलाई ध्यानमा राखेर प्राक्टिस बुक तथा विशिष्टीकरण तालिकालाई ध्यानमा राखेर टेन सेट तयार गर्छौं ।’ भोटाहिटीमा विगत २० वर्षदेखि आफ्नै पब्लिकेसन चलाइरहेका एक व्यवसायी भन्छन्, ‘हाम्रा पुस्तकमा ज्ञानको दायरा फराकिलो बनाइएको हुन्छ । त्यसैले शिक्षक विद्यार्थीका लागि उत्तिकै उपयोगी छन् ।’

टेन सेट तथा प्राक्टिस बुकमा पाठ्यपुस्तकमा भएको कुराको साथमा थप कुरा पनि हुने हुँदा यसको प्रयोगले आफूलाई सहयोग पुगेको शिक्षकहरु बताउँछन् । भक्तपुर सूर्यविनायक नगरपालिका स्थित कुलदेवि आधारभूत विद्यालयका एक शिक्षक भन्छन्, ‘सबै कुरा प्राक्टिस बुकमा हुन्छ त्यसैले यसको प्रयोग गर्ने गरेको हुँ, यी बुकहरुले गर्दा आफूले धेरै तयारी गर्नु परेको छैन ।’

पाठ्यक्रम विकास केन्द्रबाट छाप्नका लागि स्वीकृति नदिइएका यस्ता सामग्रीहरु प्रकाशन तथा बिक्रीवितरण गर्न नपाइने केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराइ बताउँछन् ।

सोही परिच्छेदको नियम २५ को उपनियम १ मा पाठ्यसामग्री प्रकाशन गर्न चाहनेले पाठ्यसामग्री स्वीकृत गर्न चाहने व्यवसायी तथा लेखक वा प्रकाशकले केन्द्रले तोकेको म्यादभित्र लेखकहरूको व्यक्तिगत विवरणसहित तीन प्रति पाठ्यसामग्री (प्रकाशकले लेखकको स्वीकृतिसहित) केन्द्रमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

तर निजी पब्लिकेसनले यसरी पूर्ण तयार नभएका, शीर्षक मात्र समावेश गरिएका र दुईचारओटा चित्र राखिएका सामग्रीलाई नै स्वकृति दिँदै आएको केन्द्रका एक कर्मचारी बताउँछन् ।

प्रकाशकले विषयवस्तु, अभ्यास, चित्र, लेआउट डिजाइन, आवरण पृष्ठ आदि पूर्णरूपमा तयार गरिएका सामग्री मात्र मूल्याङ्कनका लागि पेस गर्नुपर्ने व्यवस्था भए पनि पाठ्यक्रम विकास केन्द्रले केही पाठ्यांश मात्र लेखिएका पूर्ण रुपमा तयार नभएका सामग्रीलाई स्वीकृति दिँदै आएको छ ।

निर्देशिका हेर्नुहोस्ः