काठमाडौँ, १८ जेठ (रासस): ‘सबैका लागि शिक्षा’ को विश्वभरको साझा प्रयासलाई थप सुदृढ गर्ने उद्देश्यले चार दिने परामर्श बैठक आजदेखि यहाँ शुरु भएको छ ।
‘ग्लोबल पार्टनरसीप फर एजुकेशन’ ले आयोजना गरेको बैठकको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्दै यस प्रकारको कार्यक्रमबाट नेपालको शिक्षामा बाह्य सहयोग जुटाउन थप मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले एजुकेशनद्वारा नेपालको गुणस्तरीय शिक्षाको विकासको निम्ति विगतदेखि पु¥याउँदै आइरहेको सहयोगको सराहना गर्दै शिक्षाको विश्वव्यापी अभ्यासलाई नेपालमा पनि प्रयोगमा ल्याउन सहयोग गरिरहेको बताउनुभयो । विश्वका विभिन्न ५५ देशबाट उक्त बैठकमा सहभागिता रहेको छ ।
मन्त्री पोखरेलले संविधानमा उल्लेखित शिक्षा प्राप्तिको अधिकारलाई सुनिश्चित गर्न र शिक्षाका नवीनतम प्रविधिलाई प्रयोगमा ल्याउन यस प्रकारको कार्यक्रममार्फत ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालले सन् १९९० देखि नै शिक्षाको पहुँच अभिवृद्धिमा जोड दिँदै ‘सबैका लागि शिक्षा अभियान’मार्फत हालसम्म ९८ प्रतिशत बालबालिका विद्यालय भर्ना भएको र सबै तहको शिक्षामा लैङ्गिक समानता कायम रहेको उहाँको भनाइ थियो ।
हालसम्म विश्वका ७० भन्दा बढी देशले यस संस्थाको सदस्य राष्ट्रको रूपमा सहयोग प्राप्त गर्दै आइरहेका छन् । दक्षिण एशियामा नेपालसहित बङ्गलादेश, भूटान, पाकिस्तान, मालदिभ्स, अफगानिस्तान, म्यानमार यसका सदस्य राष्ट्र हुन् ।
हाल नेपाल उक्त संस्थाको वैकल्पिक सदस्य र दुई समितिहरूमा सदस्यको रूपमा रहेको छ ।