SEE Result 2082

कारखानाका पवित्र गौतम सम्मानित

इडियुसञ्जालले जनवरी २०२१ देखि सुरु गरेको महिना व्यक्तित्वमा यो महिना काठमाडौंको ज्ञानेश्वरस्थित कारखानाका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत पवित्र बहादुर गौतम पर्न सफल भएका छन् ।

इडियुसञ्जालले गौतमलाई एक कार्यक्रमका बिच सम्मान पत्र र चिनो हस्तान्तरण गरेको छ । शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति मध्ये एक जनालाई प्रत्येक महिना इडियुसञ्जालले सम्मान गर्दै आएको छ ।

शिक्षक, नीति निर्माता वा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वको योगदानको मूल्याङ्कन गरी महिना व्यक्तित्व घोषणा गर्दै आएको इडियुसञ्जालका प्रमुख वित्त अधिकारी तथा सम्मान कार्यक्रमका संयोजक राजन कोइरालाले बताए।

बालबालिकाको मस्तिष्कको विकासमा सैद्धान्तिक शिक्षा पद्धतिले मात्र नपुग्ने हुँदा प्रयोगात्मक शिक्षाको खाँचो भएको महसुष गरी प्रयोगात्मक शिक्षामा जोड दिँदै आएका गौतमलाई उनले थालनी गरेको फरक अभ्यासको लागि सम्मान गरिएको हो ।

कारखानाका कार्यक्रमहरु दक्षिण एसियाका अन्य देशमा समेत सञ्चालन गर्दै आएका छन् । गौतमले सार्वजनिक शिक्षा सुधारका लागि विभिन्न सामुदायिक विद्यालयमा विभिन्न प्रयोगात्मक शिक्षा निशुल्क प्रदान गर्दै आएका छन् ।

सन् २०१२ मा स्थापना भएको कारखानाले स-साना बालबालिकालाई सिर्जनात्मक ढंगले विज्ञान र टेक्नोलोजीको प्रयोग गरी उनीहरुको जीवन, समाज, देश र संसारमा भएका समस्यालाई समाधान गर्ने मार्ग पहिल्याउँदै आएको छ ।

नेपालको शिक्षा क्षेत्रमा परिवर्तन गर्ने उद्देश्यले स्थापना भएको यो संस्थामा अहिले ५२ जना भन्दा बढी शिक्षकहरू, ईन्जिनियरहरू, डिजाइनरहरू, कलाकारहरू, वैज्ञानिकहरू आवद्ध छन् । कक्षाकोठालाई प्रयोगशालामा परिणत गरी बालबालिकालाई प्रयोगात्मक तथा व्यवहारिक तरिकाले जीवन्त शिक्षा प्रदान गर्न उनले थालेको अभियान धेरैले प्रसंसा गर्ने विषय बनेको छ । 

सधै परिवर्तनको पक्षमा देखा पर्ने गौतम चुनौतीको सामना गर्न आफूलाई मन पर्ने बताउँछन् । उनको यही स्वभावले उनलाई प्रोग्रामर, रोबोट निर्माता, उद्यमी र शिक्षक बनाएको बताउँछन् । आफूलाई शिक्षाद्वारा ईन्जिनियर, पेसाद्वारा उद्यमी र जोशद्वारा शिक्षकको रूपमा चिनाउन चाहन्छन् । 

उद्यमशीलता विकासमा पनि सक्रिय गौतम केही वर्षदेखि नेपाली युवा उद्यमी फोरममा सक्रिय छन् ।कारखाना मार्फत उनी वास्तविक जीवन र कक्षाकोठालाई 'मेकर वेस्ड' शिक्षाले जोडी २१ औं शताब्दीका लागि क्रिटिकल लर्नरज सिर्जना गर्न चाहन्छन् ।

उनले सन् २०११ मा काठमाडौं इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ गरेका छन् । रोबटिक्स एसोसिएसन अफ नेपाल, नेपाल युवा उद्यमी मंच जस्ता विभिन्न संस्थामा आवद्ध छन् । उनी सन् २०१३ देखि कारखानाको सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् ।

+2 School
Counseling
Bachelors Portal