जेठो पुस्तकालयको भवन निर्माणका लागि सहयोग

तौलिहवा, १६ मङ्सिर । समुदाय स्तरबाट स्थापित नेपालकै जेठो पुस्तकालयको रूपमा परिचित पशुपति प्रताप पुस्तकालयको निर्माणाधीन भवनको सहयोगका लागि स्थानीय समाजसेवी हरिराज शर्माले रु ५१ हजार ११५ सहयोग गर्नुभएको छ । शनिबार पुस्तकालय परिसरमा आयोजित एक कार्यक्रममा समाजसेवी शर्माले पुस्तकालयका अध्यक्ष राजेशकुमार पाण्डेयलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । 

आफ्ना हजुरबुबा स्व पण्डित रश्मीराज शर्मा सो पुस्तकालयको संस्थापक रहनुभएको र पिता स्व देवराज शर्मा पुस्तकालयको प्रवद्र्धकको रूपमा रहनुभएको स्मरण गर्दै आफूले पनि पुस्तकालय भवन निर्माणका लागि सहयोग गरेको शर्माले बताउनुभयो । राणाकालीन अवस्थामा विसं १९९३ मा समुदायबाट स्वतःस्फूर्त रूपमा लुकीछिपी स्थापित यस पुस्तकालयमा प्रजातन्त्र स्थापनाका लागि अभियान सञ्चालन हुने गरेको समाजसेवी शर्माले बताउनुभयो । 

पुस्तकालय भवन निर्माणका लागि हालसम्म रु ३० लाख ९१ हजार ६०२ सहयोग प्राप्त भइसकेको अध्यक्ष पाण्डेयले जानकारी दिनुभयो । दुईतले पुस्तकालय भवन निर्माणकार्यमा हालसम्म रु ७० लाख १४ हजार २२९ खर्च भएको छ । 

रकम हस्तान्तरण कार्यक्रममा पुस्तकालय समितिका पूर्वअध्यक्ष अमृतचन्द्र ठाकुर, समाजसेवी पशुपतिमणि त्रिपाठी, जयप्रकाश पाण्डेयलगायतको उपस्थिति रहेको थियो । 

Thuprai - Books and E-books