After SEE Portal

अबदेखि कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पढ्नैपर्ने

Bridge Course

कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय अध्यापन गरिने भएको छ । 

यसअघि कक्षा ११ मा सामाजिक शिक्षा र कक्षा १२ मा जीवनोपयोगी शिक्षा अध्यापन गर्ने गरी पाठ्यक्रम स्वीकृत गरिएको थियो । अब कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने र कक्षा १२ को परीक्षामात्र राष्ट्रियस्तरमा सञ्चालन गरिने व्यवस्था भएपछि विद्यार्थीले कक्षा ११ मा अध्ययन गरेको सामाजिक शिक्षाका बारेमा कक्षा १२ को प्रमाणपत्रमा नदेखिने भएपछि दुवै विषयलाई गाभिएको हो । 

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्ले दुवै विषयलाई एकीकृत गर्ने निर्णय गरेको जानकारी दिँदै भने, “कक्षा ११ र १२ बीच लिङ्क आवश्यक रहने पाठ्यक्रमको सिद्धान्तअनुरुप एकीकृत गरिएको हो । अब दुवै विषय गाभिएपछि कक्षा १२ को प्रमाणपत्रमा विद्यार्थीले यो विषय अध्ययन गरेको प्रष्ट खुल्नेछ ।” 

विगतमा कक्षा ११ मा सामाजिक शिक्षाकाे पाँच कार्यघण्टा र कक्षा १२ मा जीवनाेपयाेगी शिक्षाकाे पाँच कार्यघण्टा ताेकिएकाे थियाे । उनका अनुसार गाभेर बनाइएकाे नयाँ विषयमा पनि कक्षा ११ र १२ मा पाँच, पाँच कार्यघण्टा नै कायम गरिएकाे छ । विगतमा पूर्णाङ्क हुने चलनलाई कार्यघण्टा बनाइएकाे छ । 

केन्द्रले कक्षा ११ को सामाजिक शिक्षाको पाठ्यपुस्तक तयार गरिसकेको थियो भने जीवनोपयोगी शिक्षाको पाठ्यपुस्तक लेखाइको क्रममा थियो । “अब पाठ्यक्रम नै परिमार्जन गर्नुपर्ने भएको छ” उनले भने, “गाभिएको विषयको पाठ्यक्रम तयार भएपछि पाठ्यपुस्तक लेखिनेछ र छपाइ गर्न दिइनेछ । त्यसका लागि केही समय लाग्ने भएको छ ।”  विगतमा निजी विद्यालयका सञ्चालकले सामाजिक शिक्षा र जीवनाेपयाेगी शिक्षा अनावश्यक रहेकाे तथा यी विषयले कक्षा थप हुनेमात्र भएकाेले हटाउनुपर्ने माग गर्दै आएका थिए ।

यसैबीच जनक शिक्षा सामग्री केन्द्रले आजबाट कक्षा ११ को नेपाली र अङ्ग्रेजी विषयका पाठ्यपुस्तक छाप्न सुरु गरेको छ ।

पाठ्यक्रम विकास केन्द्रले ती दुई विषयको प्रिन्ट रेडी कपी (पीआरसी) जनक शिक्षालाई आजै उपलब्ध गराएको थियो । 

जनक शिक्षाका प्रवन्ध सञ्चालक महेश तिम्सिनाले कक्षा ११ का पाठ्यपुस्तक जनक शिक्षाले पहिलोपटक छाप्न थालेको बताउँदै भने, “आजैबाट ती पुस्तक छाप्न थालिसकेका छौँ ।” विगतमा पाठ्यक्रम विकास केन्द्रले कक्षा १० सम्मका पाठ्यपुस्तक छपाइका लागि जनक शिक्षामा पठाउने गरेकोमा अब कक्षा ११ र १२ का अनिवार्य विषयका पाठ्यपुस्तकसमेत जनक शिक्षाले छाप्नेछ ।

उनले हरेक विषय चार चार लाख थान छपाइ गरिने जानकारी दिँदै एक साताभित्र छपाइ कार्य सम्पन्न गरिसक्ने बताए ।

यसैबीच नेपालको नयाँ नक्सासहितको पुस्तक ‘नेपालको भूभाग तथा सीमासम्बन्धी स्वाध्याय सामग्री’को छपाइ कार्य यसै साताबाट सुरु गरिने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले सो सामग्री तयार भएको र त्यसलाई केही दिनभित्र छपाइका लागि पठाइसकिने जानकारी दिए ।

कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई निःशुल्करुपमा सो सामग्री उपलब्ध गराइनेछ । सो पुस्तक करिव ५० पृष्ठको छ ।

पुस्तक बहुरङ्को हुनेछ भने पाँच वटा पाठ समावेश गरिएको छ । केन्द्रका निर्देशक प्रेम भट्टराईले सो सामग्रीमा लिच्छवीकालदेखिको नेपालको सीमासम्बन्धी घटनाक्रम, भूगोल र क्षेत्रफल, सीमानाको संकुचन र फैलावटलाई लिपिवद्ध गरिएको बताए । 

“सीमासम्बन्धी सिद्धान्तदेखि सीमा निर्धारणको सैद्धान्तिक जानकारी दिइएको छ । छिमेकी मुलुकसँगको सीमा सम्बन्धका बारेमा पनि सामग्रीमा उल्लेख छ” उनले थपे, “सामग्रीमा चित्र र अनुसूची पनि छन् । विद्यार्थीले आफ्नो देशको नक्साका बारेमा थाहा पाउनुपर्दछ र यो सामग्री निकै उपयुक्त हुनेछ । यसलाई केन्द्रको वेवसाइटमा पनि राखिनेछ ।”

A Levels MA
Thuprai - Books and E-books