After SEE Portal

विद्यालय तोडफोड गर्ने पूर्व शिक्षक पक्राउ

Bridge Course

विद्यालय तोडफोड गरेको आरोपमा बागलुङको ताराखोला गाउँपालिका–३ पूर्वशिक्षकसहित दुई जना पक्राउ परेका छन् । स्थानीय काँक्राखोर आधारभूत विद्यालयका पूर्वशिक्षकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विद्यालयमा तोडफोड गरी महत्वपूर्ण कागजात हिनामिना गरेको आरोपमा सोही ठाउँका पूर्वशिक्षक रेशम खत्री र तिलक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दियो ।

लकडाउनका कारण बन्द रहेको विद्यालयमा गाउँपालिकाबाट अनुगमनमा पुगेको टोलीले ढोका तोडफोड गरेको देखेपछि घटना बाहिर आएको थियो ।

विद्यालयको जाहेरीका आधारमा अनुसन्धानमा खटिएको प्रहरीले महत्वपूर्ण कागजातसहित उनीहरुलाई नियन्त्रणमा लिएको ताराखोला प्रहरी चौकीका प्रमुख युवराज सलामीले जानकारी दिए ।

पूर्वशिक्षक कार्कीको घरमा खानतलासी गर्दा प्रहरीले विद्यालयका महत्वपूर्ण कागजात फेला पारेको थियो । स्थानीयले यही जेठ ३ गते उनीहरु गाउँ घुमिरहेको देखेको भनेपछि प्रहरीले उनको घर पुगेर खानतलासी गरेको हो ।

कार्यालय भवनमा रहेका टेबलमाथि चाउचाउ पोखिएको, दराजको साँचो फोरिएको, कार्यालय सञ्चालन गर्न आवश्यक कागजपत्र सबै निकालेको पाइएपछि घटनाका विषयमा प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले नियन्त्रणमा लिएका दुवै जनालाई इलाका प्रहरी कार्यालय हरिचौर पठाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको सलामीले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई कारवाहीका लागि विद्यालय व्यवस्थापन समितिले प्रहरीलाई आग्रह गरेको छ ।

A Levels MA