After SEE Portal

पूर्वविद्यार्थीले बालकक्षा सुधारे

Bridge Course


फराकिलो कोठा । ‘कार्पेट’ ओछ्याएको भुइँ । सुकिला चकटी । नानाथरी खेलौना अनि तख्तामा खेल्दै सिक्ने सामग्री । झट्ट हेर्दा देखिने यो दृश्य हो विद्यामन्दिर मावि, बालकक्षाको ।

बागलुङ नगरपालिका–३ स्थित विद्यालयको बालकक्षा यत्तिमा समेटिन्न । स्वच्छ वातावरण, सफा पिउनेपानी, मीठो खाजा, दक्ष शिक्षक र स्तरीय सिकाइ पद्धतिले बालकक्षाको अरु अवस्था दर्शाउँछ । यो यत्तिकै भएको भने होइन ।

गत वर्षसम्म बालबालिका भुइँमा बसेर पढ्थे । भोकभोकै हुन्थे । सिकाइमैत्री वातावरण थिएन भने बालकक्षा अव्यवस्थित थियो । तर, अहिले बालकक्षाको अवस्था फेरिएको छ ।

कलिला बालबालिकाले पढ्ने, सिक्ने ठाउँको दयनीय अवस्था देखेपछि विद्यालयका पूर्वविद्यार्थीको मन कुँडियो । बालबालिकामा गुणस्तरीय शिक्षाको जग बसाल्नुपर्छ भन्ने सोच जन्मियो । बालकक्षा सुधारमा पूर्वविद्यार्थीले अगुवाइ गरे ।

वर्ष दिनको अवधिमा बालकक्षामा उल्लेख्य सुधार आएको छ । बालबच्चा ल्याउन अभिभावकले तछाडमछाड गनुपर्ने अवस्थाको सिर्जना भएको छ । शिशु र बालविकासका रुपमा दुई तहका कक्षामा बालबालिका पढ्छन् । दुवैमा गरी अहिले ४० बालबालिका छन् ।

बालकक्षाको व्यवस्थापकीय सुधारसँगै गुणस्तर बढाउन लगानी गरिएको पूर्वविद्यार्थी मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । भौतिक सुधार, निःशुल्क खाजा, पोशाक र शिक्षक व्यवस्थापनमा रु छ लाखभन्दा बढी खर्च भइसकेको उहाँको भनाइ थियो । “पूर्वविद्यार्थीको सहयोगमा व्यवस्थापन अघि बढेको छ”, राजभण्डारीले भन्नुभयो, “यो वर्ष झण्डै रु १० लाख खर्च हुने अनुमान छ ।” पूर्वविद्यार्थीकै सहयोगमा बालकक्षामा एक सहजकर्ता थपिएको छ । विद्यार्थीलाई निःशुल्क खाजाको व्यवस्था गरिएको छ ।

खाजामा मात्र मासिक रु ३० हजार खर्च हुने गरेको छ । खाजासँगै बालबालिकालाई दूध पनि खुवाइन्छ । शिशुकक्षामा निःशुल्क खाजा गत वर्ष पूर्वप्रधानन्यायाधीश एवं विद्यालयका पूर्वविद्यार्थी कल्याणकुमार श्रेष्ठले शुभारम्भ गर्नुभएको थियो । शिशुपछिका बालबालिकालाई निःशुल्क खाजा गत मङ्गलबार विद्यालयका पूर्वविद्यार्थी एवं नागरिक सञ्चार प्रालिका अध्यक्ष पुष्पमान श्रेष्ठले शुभारम्भ गर्नुभएको थियो । बालमैत्री वातावरणमा सिकाइको गुणस्तर बढाउन दिवाखाजाले टेवा पु¥याउने उहाँको विश्वास छ ।

बालकक्षा व्यवस्थापनमा पूर्वविद्यार्थीको सहयोग आउने क्रम जारी छ । हालसम्म निर्देश राजभण्डारीबाट रु २५ हजार, सुवास राजभण्डारीबाट रु ३० हजार, पूर्वप्रधान्यायाधीश कल्याणकुमार श्रेष्ठबाट रु २४ हजार प्राप्त भएको छ । यस्तै पूर्वविद्यार्थी राजेन्द आचार्यले रु १२ हजार ५००, ओमबहादुर जिसीले रु एक लाख एक हजार १११ र पुष्पमान श्रेष्ठले रु ३० हजार प्रदान गर्नुभएको छ । बालकक्षाको फर्निचर व्यवस्थापनका लागि सुनिल प्रधानबाट रु दुई लाख र विनय शाक्यबाट रु २० हजार सहयोगको प्रतिबद्धता आएको छ ।

बालकक्षामा आकर्षण बढाउन र बालबालिका टिकाउन दिवाखाजाले सहयोग पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताउनुभयो । बालकक्षामा अधिकांश विपन्न वर्गका बालबच्चाले पढ्ने हुँदा सबै क्षेत्रको सहयोगको खाँचो रहेको उहाँको भनाइ थियो । “बालकक्षा सुधारमा पूर्वविद्यार्थीले देखाएको तदारुकता अनुकरणीय छ”, उहाँले भन्नुभयो ।


–रामबहादुर थापा

A Levels MA