शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) प्रदान प्रक्रियालाई थप मर्यादित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले वैदेशिक अध्ययन स्वीकृति व्यवस्थापन निर्देशिका, २०७९ तयार गरी स्वीकृतिका लागि उच्च शिक्षा महाशाखामा पेस गरेको छ ।
आवश्यक प्रक्रिया र कागजात पुरा अपलोड गरेका विद्यार्थीले एनओसी आर्फैं प्रिन्ट गर्न सक्ने व्यवस्था सहितको निर्देशिका तयार गरिएको वैदेशिक अध्ययन अनुमति शाखाले जानकारी दियो ।
छात्रवृत्ति सम्बन्धी ऐन २०२१ ले पहिलोपटक विदेशमा अध्ययन गर्ने विद्यार्थीका लागि अनिवार्य एनओसी लिने व्यवस्था गरेको ५८ वर्षपछि विद्यार्थीले आफ्नो एनओसी आफैं प्रिन्ट गरी लिन सक्ने नयाँ व्यवस्था गर्ने लक्ष्यका साथ निर्देशिका तयार गरिएको छ ।
निर्देशिकाले आवेदकले प्रविष्ट गरेका कागजातको आफैं प्रमाणीकरण गर्ने सफ्टवेयर विकास गर्ने व्यवस्था गर्ने छ । आवश्यक सबै कागजात प्रविष्ट गर्ने आवेदकले सफ्टवेयरले प्रमाणीकरण गरिसकेपछि आफैं प्रिन्ट गर्न सक्ने व्यवस्थाको विकास गर्ने शाखा प्रमुख बासुदेव अवस्थीले बताए ।
निर्देशिकाले उच्च शिक्षा महाशाखा प्रमुखको संयोजकत्वमा परामर्श समिति गठनको व्यवस्था गर्ने भनेको छ।
सो समितिमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, राहदानी विभाग, राष्ट्र बैंक, गृह मन्त्रालय तथा विश्वविद्यालयका प्रतिनिधि रहने गरिको व्यवस्था गरेको छ ।
समितिले कुन देशमा विद्यार्थीलाई एनओसी दिने, कुन देशमा नदिने तथा कुन विषयका लागि एनओसी दिनेलगायतका विषयवस्तुमा मन्त्रालयलाई उचित परामर्श दिने र सोही परामर्शका आधारमा एनओसी जारी हुने व्यवस्था हुने निर्देशिकाले समेटेको शाखाका अधिकारी बताउँछन् ।
विभिन्न शैक्षिक संस्था (विश्वविद्यालय, परिचयपत्र, राहदानी विभाग, मेडिकल काउन्सिल, भेटरीनरी काउन्सिल, पाठ्यक्रम विकास केन्द्र) का समकक्षता शाखा लगायतबाट तथ्याङक इन्ट्री गर्न शाखाले काम सुरु गरिसकेको जानकारी दियो ।
एकै पटक फरकफरक देशका फरक विश्वविद्यालयमा अध्ययनका लागि एनओसी लिने परम्पराको अन्त्य गर्दै एकपटक एनओसी दिँदा अपलोड नगरिएको अफर लेटरका आधारमा आवेदन रुजु सम्पन्न भई राजस्व भुक्तानी भएपछि एनओसी लिई अफर लेटरको म्याद सकिएपछि सोही प्रोफाइलमा अर्को अफर लेटर अपलोड गरी पहिलेको भुक्तानीबाट एनओसी लिने कार्यलाई निषेध गर्ने व्यवस्था निर्देशिका जारी भएपछि हुनेछ ।
६ महिनामा करिब ४६ हजारले एनओसी लिए
एनओसीका अनुसार गत साउनदेखि पुस मसान्तभित्र ४५ हजार ९ सय १२ जनाले एनओसी लिएका छन् । अस्ट्रेलियाका लागि कुल १५ हजार १०३ जनाले एनओसी लिएका छन् । क्यानाडाका लागि कुल ८ हजार १३५ ले एनओसी लिएका छन् भने जापानका लागि ६ हजार ६२५, बेलायतका लागि ५ हजार ५३३ र अमेरिकाका लागि एक हजार ८६० ले एनओसी लिएका छन्।