विद्यार्थी मूल्याङ्कनलाई कार्यविधिबाट व्यवस्थित बनाऔँ

कार्यविधि किन

विद्यालयमा पठनपाठन हुने सबै तह, कक्षा र विषयका पाठ्यक्रमहरु बनेका छन् । पाठ्यक्रमहरुमा विद्यार्थी मूल्याङ्कन प्रक्रिया र लिखित परीक्षाका विशिष्टीकरण तालिका पनि छन् । तर निरन्तर मूल्याङ्कन प्रणालीबाहेकका पाठ्यक्रमहरुमा लिखित परीक्षालाई अन्तिम मूल्याङ्कनको साधनका रुपमा लिइयो । तहगत परीक्षाको नाममै पनि उत्तीर्ण शब्द राखेको राख्यै गरियो । तर ती पाठ्यक्रम र उत्तीर्ण परीक्षाहरु सामान्य प्राकृतिक तथा शैक्षिक वातावरणको परिकल्पनामा तयार गरिएका थिए । प्रश्नपत्रहरु पनि लिखित परीक्षा कै लागि बने । उत्तर पुस्तिका परीक्षण गर्ने र अङ्क दिने र अङ्ककै आधारमा नतिजा जारी गर्ने एउटा  पद्धति स्थापित भयो ।  यद्यपि त्यसमा केही सुधार भई केही वर्षअघिदेखि आधिकारिक मूल्याङ्कन प्रणालीको अभ्यास शुरु हुन लागेको थियो ।

विगतमा विद्यालयका तहको अन्त्यपछि हुने मूल्याङ्कनमा शिक्षक आफैले पढाएका विद्यार्थीको निर्णयात्मक मूल्याङ्कन गर्न पाएका थिएनन् वा पाउँदैन थिए । तर अहिले कोभिड-१९ को सङ्क्रमण र महामारीले शिक्षा प्रणाली र मूल्याङ्कन प्रक्रियामा छुट्टै सोचाइ बनाउन सबैलाई बाध्य बनायो । अहिले परम्परागत शिक्षा  (गुरुकूल, गुम्बा, मदरसा आदि) मा जस्तै विद्यार्थीको मूल्याङ्कन गर्ने सबै जिम्मेवारी विद्यालय र शिक्षकमा पुगेको अवस्था छ । (यो कोभिड महामारीले सिकाएपछिको बाध्यकारी अवस्थाको परिणाम हो या सचेतना के हो, छलफलको अर्को विषय बन्न सक्ला ।) तर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा सञ्चालन गरिने लिखित परीक्षा बाहेक आन्तरिक वा अन्य विधिबाट सबै कक्षाका विद्यार्थीको वार्षिक मूल्याङ्कन यसरी गर्ने भन्ने अलग्गै नितिगत व्यवस्थै छैन । यस्तो अवस्थामा छलफल बैठक र सरसल्लाह गरी आन्तरिक मूल्याङ्कन भनिएकै आधारमा विद्यार्थीको वार्षिक नतिजा प्रकाश गर्नु कत्तिको वैध र नीतिसङ्गत हुन सक्छ । बोर्डस्तरीय परीक्षाहरु त एउटा ऐन, नियमावली, निर्देशिका वा कार्यविधिका आधारमा सञ्चालित हुन्छ भने कार्यविधिबाट व्यवस्थित गरेर मात्र आन्तरिक र बाह्य दुवै मूल्याङ्कनको आधारमा नतिजा प्रकाशन गर्ने परिपाटीको विकास गर्न पर्दैन र !

मूल्याङ्कन कार्यविधि किन ?

शिक्षा ऐन, नियमावली नीति हुन् । पाठ्यक्रम भनेको शिक्षाको कार्यमूलक नीति हो, शैक्षिक योजना वा कार्यक्रम मात्र होइन । पाठ्यक्रममा शिक्षण सिकाइका पाठ्यवस्तु, विधि र मूल्याङ्कनको तरिका उल्लेख गरिएको हुन्छ । समयसीमा तोकिएको हुन्छ । तर ऐन, नियमावली र पाठ्यक्रमहरुले अचानक आइपर्ने विपद् र परिस्थितिको आंकलन गर्न सक्छन् नै भन्ने छैन । त्यसैले भएका र बाँकी आवश्यक कुराहरुलाई स्थानीयता अनुकूल हुनेगरी समेटन एउटा कार्यविधि बनाउन आवश्यक हुन्छ । यी सबै पक्षको औचित्य, अभिप्राय र काम गर्ने तौरतरिकालाई कार्यविधिको प्रस्तावनादेखि अनुसूचीसम्म स्पष्ट रुपमा भरसक कतै अलमल नहुने गरी समेटनु पर्दछ  । यस्तो कार्यविधिमा लागू हुने मिति र कक्षा शुरुमै उल्लेख हुन आवश्यक हुन्छ । कार्यविधिभित्र उल्लेख हुने मुख्य मुख्य प्राविधिक शब्दहरु जस्तै लिखित परीक्षा, प्रयोगात्मक परिक्षा, निरन्तर विद्यार्थी मूल्याङ्कन, गृहकार्य, कक्षाकार्य, परियोजना कार्य, सहजकर्ता अभिभावक, मौखिक कार्य, श्रेणीकरण, प्रमाणीकरण, नतिजा प्रकाशन आदिका सम्बन्धमा पाठकहरुले बुझ्नुपर्ने कुराहरु त्यसपछि आउँछन् ।

कार्यविधि बनाउँदा सर्वप्रथमत: कक्षागत तथा विषयगत पाठ्यक्रम र विशीष्टीकरण तालिकाहरु हेरी पाठ्यक्रमले अपेक्षा गरेका कुराको पहिचान गर्नुपर्दछ । यसैगरी कोभिड-१९ का कारण भौतिक उपस्थितिमा लिखित तथा प्रयोगात्मक परीक्षाहरु सञ्चालन हुन नसक्ने अवस्थामा विद्यार्थी मूल्याङ्कनका विभिन्न वैकल्पिक के के हुनसक्लान् भन्ने बारेमा अध्ययन र छलफल गरी पहिचान गर्न आवश्यक हुन्छ  । जस्तो कि दैनिक उपस्थिति, कक्षाकोठामा विद्यार्थीको सक्रियता र गतिशिलता, प्रश्नको उत्तर दिने क्षमता, अतिरिक्त क्रियाकलापमा सहभागिता, कक्षाकार्यमा सहभागिता, टोल पढाइ कक्षामा सहभागिता, उत्सवहरुमा सहभागिता, समूह कार्यमा नेतृत्वसीप, कक्षा नेतृत्व, गृहकार्य, प्रयोगात्मक परीक्षामा सहभागिता, गीत गायन/नृत्य कवितालेखन र खेलकुद प्रतियोगितामा क्षमता प्रदर्शन, प्राप्त गरेका प्रमाणपत्र, पदक र पुरस्कारको सङ्ख्या आदि विद्यालयभित्रका शैक्षिक संलग्नतामा पर्ने कुराहरु भए ।

घरमा रहँदाको अवस्थामा स्वाध्ययन, पढाइ लेखाइमा सहभागिता, रेडियो टेलिभिजनको पाठमा सहभागिता, अनलाइन अफलाइन पठनपाठनमा सहभागिता, अनलाइन अफलाइन लिखित प्रश्नावलीको उत्तर, गीत गायन/नृत्य कवितालेखन र खेलकुदमा प्रतिभा प्रदर्शन,  आदि विद्यालयबाहिर हुनै शैक्षिक संलग्नताका कुरा भए । विद्यालय भित्र र बाहिर दुवै क्षेत्रमा हुने पठनपाठनबाट भएको सिकाइको मूल्याङ्कन गर्न सहजकर्ता-अभिभावकको राय, अनलाइन वा अफलाइनबाट पठाइएका एकीकृत (सबै विषयको) प्रश्नपत्रको लिखित उत्तर, खुला पुस्तक परीक्षा, फोनबाट अन्तरवार्ता, भौतिक उपस्थितिमा लिखित तथा मौखिक अन्तर्वार्ता परीक्षा आदिलाई लिखित तथा मौखिक उत्तरात्मक साधनका रुपमा अपनाउन सकिने भयो । यसरी हेर्दा विद्यालयभित्रका शैक्षिक संलग्नता, विद्यालयबाहिरका शैक्षिक संलग्नता र लिखित तथा मौखिक उत्तरात्मक साधनहरुको समष्टिगत मूल्याङ्कन नै विद्यार्थीको वास्तविक वार्षिक मूल्याङ्कन हो । यस्तो मूल्याङ्कनलाई आधिकारिक मूल्याङ्कन (अथेन्टिक इभ्यालुएसन) पनि भनिन्छ । यसरी विद्यार्थीमा भएका प्राज्ञिक सक्षमता तथा बहुबुद्धि प्रतिभाहरुको मूल्याङ्कन हुने व्यवस्था कार्यविधिमा आउनुपर्दछ ।

विद्यालयले आफ्नो स्थानीयता र स्वास्थ्य सुरक्षाको अवस्था हेरेर पनि मूल्याङ्कनका प्रक्रियाहरु छनौट गर्न सक्दछ । वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण निर्देशिका, २०७७ बमोजिमका वगीकृत विवरण अनसार मूल्याङ्कनका साधनहरु छनौट गर्न सकिन्छ । त्यस्तै कोभिड-१९ महामारीमा सिकाइ सहजीकरणका लागि पाठ्यवस्तु समायोजन ढाँचा,२०७७ मा सिकाइ सहजीकरणका क्रममा गरिने मूल्याङ्कन, प्रयोगात्मक मूल्याङ्कन, प्रमाणीकरण मूल्याङ्कन गरी तिन प्रकारले वार्षिक मूल्याङ्कन गर्न सकिने ढाँचाहरु दिइएका छन् । यसमा आधारभूत तह कक्षा १-३ र कक्षा ४-८ का लागि विद्यार्थी मूल्याङ्कनका सम्भाव्य तरिका तथा साधनहरु उल्लेख छन् । एउटा कक्षामा एउटै विधि र प्रकिया अनाउनुपर्छ भन्ने होइन कि एउटै कक्षाका विद्यार्थीहरुबीच पनि वर्गीकृत सूचीअनुसार मूल्याङ्कनका साधन र प्रक्रियाहरु अपनाउन सकिन्छ ।

उपलब्धि स्तर र रुब्रिक्स

मूल्याङ्कन प्रक्रियामा अपनाइएका साधनहरुबाट सिकाइउपलब्धि निर्धारण गर्न र श्रेणीकरण गर्न रुब्रिक्सको आवश्यकता पर्दछ । जस्तै दैनिक हाजिरी कति दिन देखि कति दिन भएमा कुन श्रेणी पाउने, त्यस्तै परियोजना कार्यको स्तर हेरी कुन स्तलाई कुन श्रेणी दिने यस्ता कुरा रुब्रिक्समा आउँछन् । पाठ्यवस्तु समायोजन ढाँचामा सामान्यभन्दा कम, सामान्य, प्रवीण र उच्च गरी ४ प्रकारका स्तर तिनको रेटिङ र उपलब्धिस्तरको व्याख्याका उदाहरणहरु दिइएका छन् । श्रेणीकरण गरिएको सारांश प्रतिवेदनलाई विषयगत लेजरका रुपमा तयार गर्ने, रुजू गर्ने र प्रमाणित गर्ने व्यवस्था गर्न सकिन्छ ।

अनुसूचीको व्यवस्था

अनुसूचीमा मूल्याङ्कन गर्नका लागि प्रयोग गरिने साधनको सूची, प्राप्ताङ्क वा उपलब्धि स्तर चढाउने तालिकाको ढाँचा, श्रेणीकरणको आधार र तालिका, विद्यालयले चढाउने समष्टिगत लेजरको ढाँचा तथा विद्यालयले जारी गर्ने ग्रेडसिटको ढाँचाहरु समावेश गर्न सकिन्छ । अनुसूचीमा पाठ्यक्रम तथा निरन्तर विद्यार्थी मूल्याङ्कनको निर्देशिकामा भएका ढाँचाहरुलाई समेत सन्दर्भ खुलाई समावेश गर्न सकिन्छ ।

प्रबोधीकरण र कार्यान्वयन

कोभिड-१९ को सङ्क्रमणका कारण धेरै जनाको भौतिक उपस्थितिमा कार्यविधिको मस्यौदा तथा अन्तिम प्रति प्रबोधीकरण गर्न जोखिमपूर्ण हुन सक्ने अवस्थामा विव्यस समितिका पदाधिकारी, शिक्षक अभिभावक सङ्घ, स्थानीय तहका शिक्षा हेर्ने कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी तथा स्थानीय बुद्धिजीवीहरुको भरचुअल बैठक गर्न सकिन्छ । सो सम्भव नभएमा पर्याप्त दूरी कायम सहित स्वास्थ्य सुरक्षाका उपायहरुको प्रबन्ध गरेर पनि भौतिक उपस्थितिमा प्रबोधीकरण गर्न सकिन्छ ।

परिमार्जन र अद्यावधीकरण

एक वर्ष बनाइएको कार्यविधि सँधैभरि सान्दर्भिक नहुन सक्छ । त्यसको कार्यान्वयनमा कतिपय कमीकमजोरी र सुधार गर्नुपर्ने ठाउँहरु पहिचान हुनसक्छन् । त्यसैले हरेक वर्ष समय परिस्थिति अनुसार कार्यविधिलाई परिमार्जन र सुधार गर्दै जान सकिन्छ । पहिलो पटक कार्यविधि बनाउन केही समय लागे पनि अर्को वर्षदेखि क्रमश: सहज बन्दै जान्छ ।

निष्कर्ष

विद्यार्थीको वार्षिक मूल्याङ्कन भनेको बालबालिकाको जीवनका लागि दीर्घकालीन महत्वको विषय हो । हामीले गर्ने यस्ता दीर्घकालीन महत्वका निर्णयहरुलाई सदैव एउटा विधि विधान र पद्धतिबाट व्यवस्थित गर्न आवश्यक छ । यसैले सरसल्लाह र छलफलका आधारमा मात्र हैन, एउटा व्यवस्थित नीतिका रुपमा विद्यालयले प्रयोगमा ल्याउन सक्ने मूल्याङ्कन कार्यविधि बनाएर काम गर्ने बानीको विकास गरौँ ।

लेखक कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख हुन् ।

Thuprai - Books and E-books