१) बितेका तीन वर्षमा यहाँले सम्पादन गर्नुभएका महत्वपूर्ण कार्य कुन कुन होलान् ? ती कार्य पूरा गर्न कुनै समस्या भोग्नु परेको थियो ?
देवदह नगरपालिकामा २०७५ चैतको अन्तिम साता हाजिर भएको हुँ । त्यसपछि हालसम्म हामीले सम्पादन गरेका उल्लेख गर्न लायक कुराहरु यहाँ प्रस्तुत गरेको छु ।
सबै बाल विकास केन्द्रहरुमा बसाइ व्यवस्थापन, भित्ते लेखन, सिकाइ कुना निर्माण, टेलिभिजन सेट, न्युनतम सिकाइ सामग्री र खेलकुदका सामग्री व्यवस्था गरि बालमैत्री बनाइएको छ । प्रधानाध्यापकसँग कार्यसम्पादन गरि कार्यान्वयनलाई उनीहरुको मूल्याङ्कनको आधार बनाइएको छ । विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुलाई विद्यालय व्यवस्थापनका विविध पक्ष समेटेर प्रशिक्षण दिइएको छ ।
कक्षा ८ को परीक्षालाई पूर्णरुपमा स्तरीकृत गरिएको छ । प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्म त्रुटिरहीत बनाउन सबै मापदण्डहरुको पूर्ण पालना गरिएको छ । शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग गर्नसक्ने बनाउन करीब एक सय शिक्षकलाई एक महिनाको कम्प्युटर र अन्य आवश्यक सामग्री प्रयोगसम्बन्धी तालिम दिइनुका साथै थप एक सय शिक्षकलाई तालिम दिने कार्यक्रम यसै वर्ष छ ।
कक्षा ९ र १० का सबै कक्षाकोठालाई डिजिटाइज्ड गरि सूचना प्रविधिमैत्री बनाइएको छ । यो वर्ष कक्षा ८ लाई डिजिटाइज्ड गरिँदै छ । चारवटा सामुदायिक विद्यालयहरुलाई २५ लाख रुपियाँका दरले रकम उपलब्ध गराइएकोमा चारवटा बस राजस्व छुटमा खरीद गरि सञ्चालनमा आएका छन् । शिक्षक, विद्यार्थी र विद्यालयलाई पुरस्कृत गर्ने परिपाटी बसालिएको छ । सबै बालविकासका सहयोगी कार्यकर्तालाई मासिक दुई हजार रुपियाँका दरले र विद्यालयका सहायक तथा सहयोगी कर्मचारीलाई मासिक एक हजार रुपियाँका दरले यातायात खर्च उपलब्ध गराइएको छ ।
१२ वटा माध्यमिक शिक्षक व्यवस्था गरि मावि शिक्षक नभएका र न्यून शिक्षक भएका माध्यमिक विद्यालयमा उपलब्ध गराइएको छ । यसै वर्ष एक करोड रुपियाँको बजेट नगरपालिकाबाट व्यवस्थापन गरि चार वटा विद्यालयमा आठ वटा कक्षा कोठा निर्माण भैरहेका छन् । एक वटा डिजिटाइज्ड पुस्तकालय निर्माणका लागि २५ लाख रुपियाँ बजेट व्यवस्था गरिएको छ । नेपाल सरकारले खाजाको रकम उपलब्ध नगराउञ्जेल बाल विकासका बालबालिकालाई खाजा र अन्य कक्षाका बालवालिकालाई ‘टिफिन बक्स’ उपलब्ध गराइएको थियो ।
स्थानीय पाठ्यक्रम निर्माण र नगर शिक्षा योजना निर्माणको काम भैरहेको छ । अधिकाँश विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुने हुनाले आधारभुत तहका शिक्षकलाई अङ्ग्रेजी माध्यममा पढाउने तालिम दिँदैछौँ । अनुगमन नियमित गरि आवश्यक सहयोग गरेका छौँ । ससाना कामका लागि पनि बजेट अभाव हुन नदिन मर्मत सम्भार शीर्षकमा करीब ५० लाख रुपियाँ जति बजेट विनियोजन गरि सहयोग गर्दै आएका छौँ । यी सबै काम नगरपालिकाको आन्तरिक बजेटबाट गरिएका हुन् । यसमा सशर्त बजेटका कामको उल्लेख गरिएको छैन । समस्यारहीत त केही हुँदैन । सुरुमा लगानीका लागि जनप्रतिनिधिलाई उत्प्रेरित गर्ने प्रयत्न गरियो । यसमा लगानी गर्दा यो उपलब्धी हुन्छ भनेपछि अहिले समस्या छैन ।
२. शिक्षा पालिकामा आइसकेपछि जनप्रतिनिधिले शिक्षालाई बुझ्न सकेको ठान्नुहुन्छ ? कसरी ?
सुरुमा समस्या थियो तर अहिले छैन । नगर प्रमुख र उपप्रमुखलाई बुझाएपछि समस्या छैन । सङ्घ र प्रदेशले कानुन नबनाउँदा काम गर्न कठिन भएको अनुभव उहाँहरुले पनि गर्नुभएको छ ।
३. कर्मचारी अपुग भएको अवस्था हो ? यसले काममा केकस्ता समस्या पारेको छ ?
सुरुमा कर्मचारीको अभावको अवस्था पक्कै थियो । लोक सेवा आयोगबाट पदपूर्ति गरियो । अहिले फेरि हाम्रो शाखा अधिकृत उपसचिवमा आयोगबाट नाम निकालेर जानु भएकोले समस्या आउला जस्तो छ ।
४. राज्यका तीन तहबीच कस्तो समन्वय हुनुपर्दछ भन्ने लाग्छ ?
तीन तहबीचको समन्वय नाम मात्रको छ । कुनै तथ्याङ्क चाहिए मात्र खोज्ने चलन छ । एकाइको काम छ भन्ने देखाउन सङ्घ र सामाजिक विकास कार्यालयको काम छ भन्ने देखाउन प्रदेश लागेका छन् । कानुन नबनेकाले अन्योल छ । शिक्षक कसका हुन स्पष्ट गरिएको छैन । काममा दोहोरोपन छ । यसले जवाफदेहीता कसको भन्ने नै मुल समस्या देखिएको छ ।
५. एकाइको कुन काम पालिकामा आइदिएको भए काममा सहज हुने थियो भन्ने लाग्छ ?
कुन होइन सबै काम गर्न हामी तयार छौँ । कि हाम्रो काम छैन कि त एकाइको काम छैन भन्नुपर्याे। दुईवटा मध्ये एक निकायलाई राखौँ । काममा यसैगरी दोहोरोपन कायम गरिराख्नका लागि दुई वटा निकायको आवश्यकता छैन ।