After SEE Portal

प्रधानमन्त्रीबाटै अभिभावकत्व पाएका बालबालिकाले बिचैमा पढाइ छाड्ने डर

Bridge Course

प्रधानमन्त्रीले गत वर्ष अभिभावक बनेर विद्यालयको ढोका टेकाएका बालबालिकाको पढाइ अनिश्चित । विद्यालयका राम्रा मानिएका विद्यार्थीले बिचैमा पढाइ छोड्लान् भन्ने विद्यालयलाई नै डर । प्रधानमन्त्रीले भर्नाका समयमा किताब, झोला, पोषाक प्रदान गरे ।  तर उनलाई वर्षभरि पुग्ने अन्य शैक्षिक सामग्री व्यवस्थापन हुन सकेन ।

गत वर्ष पढ्नका लागि नयाँ अभिभावकसहित विद्यालय प्रवेश गरेका बालबालिका माथिल्लो कक्षा त चढे । राम्रौ नतिजा पनि ल्याए । तर कहिले लेख्ने कापी नभएर कहिले लगाउने लुगा नभएर विद्यालय आउँदैनन् । कतिपय समयमा बिहानबेलुका छाक टार्ने समस्याको जोहो गर्न कोही यार्साटिप्न जंगल जान्छन् भने कोही खेतबारीमा उठाउन बाँकी रहेको धान सिला खोज्न जान्छन् ।

बालबालिकालाई राष्ट्र प्रमुखले विद्यालय प्रवेश त गराए तर उनीहरुको पुर्नवासको वैकल्पिक व्यवस्था नहुँदा विद्यालयमा टिकाउन नै समस्या हुँदै गएको छ । विद्यालयमा राम्रा मानिएका विद्यार्थी आर्थिक अभावका कारण बिचैमा हराउने पो हुन् कि भन्ने डर विद्यालयलाई नै लाग्न थालेको छ । 

गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अभिभावकत्व पाएर विद्यालय जाने अवसर पाएकी मुगूम कर्मारोङ गाउँपालिका–८ मुगुकी ८ वर्षिया बालिका थिन्लेसाङ्मु लामा अहिले कक्षा–१ मा पढ्दै छिन् । उनी नियमित विद्यालय जान्छिन् । कक्षामा लगनशील तथा मेहनती पनि छन् । शिक्षकले दिएको कार्य उत्साहित भएर गर्छिन् । उनी कक्षाकी प्रथम छात्रा हुन् । उनले वार्षिक परीक्षामा ३.६३ जीपीए ल्याएर यो कक्षामा प्रवेश गरेकी हुन् । यो वर्षको त्रैमासिक परीक्षामा पनि सोही अनुपातको नतिजा ल्याउँदै आएकी छिन् । ‘थिन्लेसाङ्मु एक अनुकरणयोग्य विद्यार्थी हुन् ।’ प्रधानाध्यापक दिलेन्द्रबहादुर शाहीले भने, ‘उनको परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक छ, त्यसैले उनको पढाइ बिचैमा रोकिने हो कि भन्ने डर लाग्छ ।’ 

फोटो प्रधानमन्त्रीको सचिवालयबाट

थिन्लेसाङ्मुका बाबुको चार वर्षअघि भीरबाट लडेर मृत्यु  भयो । उनकी आमा छिजुलाई आफ्ना दुई छोरी र ७७ वर्षीय ससुरालाई पालनपोषण गर्न र लत्ताकपडा व्यवस्था गर्नै नै मुस्किल पर्‍यो । उनी स्कुल जान सकिनन् ।  प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गरेपछि नियमित विद्यालय जान थालेकी उनी बैनीलाई लिएर नियमित विद्यालय पुग्छिन् ।

प्रधानमन्त्रीले भर्नाका समयमा किताब, झोला, पोषाक प्रदान गरे । उनलाई वर्षभरि पुग्ने अन्य शैक्षिक सामग्री व्यवस्थापन हुन सकेन । लेख्ने कापी पेन्सिल नहुँदा थिन्लेसाङ्मुले बीचैमा विद्यालय छाड्लिन् भन्ने डर भएको प्रधानाध्यापक शाही बताउँछन् । ‘एकजोर लुगाले मुगुको जाडो थेग्न सक्दैन ।’ उनले भने, ‘वर्षभरि लेख्न कपी पेन्सिल, खाजा पनि चाहिन्छ ।’  उनलाई दशैअघि प्रधानमन्त्रीले १० हजार नगद प्रदान गरेपछि उनी अहिले झन उत्साहित भएर विद्यालयमा प्रस्तुत हुन थालेकिछिन् । 

गाउँपालिका भित्रै थिन्ले जस्ता धेरै बालबालिका छन् । उनीहरू विद्यालयमा भर्ना भए पनि नियमित विद्यालय आउँदैनन् । यिनीहरूलाई विद्यालय भित्र्याउन गाउँपालिकाले वैज्ञानिक अध्ययन गरिरहेको भए पनि अहिले नै त्यस्तो कुनै नयाँ निर्णय लिन नसकेकोे गाउँपालिका प्रवत्ता कार्मा तामाङले बताए । ‘थिन्ले विद्यालय समय बाहेकका फुर्सदको समयमा आमालाई घरायसी तथा खेतबारीको काममा सघाउने गर्छिन् ।’ उनले भने, ‘उनी जस्ता प्रतिभाशाली बालबालिकाले बिचैमा पढाइ छाडे भने गाउँपालिकाको भविष्य नै पछाडि धकेलिन्छ, त्यसैले उनको पढाइलाई निरन्तरता दिन जरुरी छ, तर गाउँपालिका सँग यसका लागि पर्याप्त स्रोत छैन ।’

उनलाई सञ्चार माध्यमले प्रधानमन्त्रीकी छोरी भनेर प्रचारप्रसार गरे पनि विद्यालय पुग्न सहज नभएको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्रे लामाले बताए । ‘प्रचारप्रसार गरे जस्तो दुर्गमका बालबालिकालाई शिक्षा प्रदान गर्न सजिलो छैन’ उनले भने । एकातिर भएको जग्गाको उत्पादकत्व अत्यन्तै न्यून छ भने अर्कातर्फ अधिकांश अभिभावकको खेतबारीको उत्पादनले खानै पुग्दैन । त्यसैले यहाँका थिन्ले जस्ता धेरै प्रतिभाशाली विद्यार्थी शिक्षा लिनबाट बञ्चित छन् । बीचैमा विद्यालय छाड्नेको दर उच्च छ । ‘सबैलाई शिक्षाको मुलधारमा ल्याउने खालको शैक्षिक कार्यक्रम तर्जुमा गर्न गाउँपालिका जुटेको छ ।’ अध्यक्ष लामा भन्छन्, ‘सबैलाई आवासीय सुविधा सहितको विद्यालय बनाउन कतैबाट स्रोत जुटे सबै बालबालिकाले बिचैमा पढाइ छाड्नु पर्ने थिएन ।’

त्यस्तै गत वर्ष सिराहा कल्याणपुर नगरपालिका ११ का ६ वर्षिया रुपा मल्लिक डोम र ६ वर्षकै पवन मल्लिक डोम अहिले कक्षा दुईमा पढ्छन् । अति गरिब परिवारका दिनेश कुमार र कौशिला देवी मण्डल खत्वेकी छोरी रुपाकुमारी र भोगेन्द्र र अमिराकुमारी मल्लिकका छोरा पवन कक्षाका अब्बल विद्यार्थीका रुपमा गनिन्छन् । स्थानीय रामदुलारी माध्यमिक विद्यालयमा अध्ययनरत ती बालबालिका क्षमतावान भएपनि नियमित विद्यालय भने आउँदैनन् । उनीहरूको आर्थिक अवस्था अत्यन्तै नाजुक छ । बुबाआमा काममा गएका समयमा घरमा भाइवैनी हेर्नु पर्ने कारण विद्यालय पठाउन नसकिएको बुबाआमाको गुनासो रहेको विद्यालयले जानकारी दियो । ‘कक्षामा अब्बल छन्, मेहनती पनि छन् ।’ प्रधानाध्यापक लालदेव साह भन्छन्, ‘ उनीहरूसँग सबै समयमा लेख्न कपी पेन्सिल समेत हुँदैन कसरी विद्यालय आओँ भनौं ।’ यिनीहरूको आर्थिक अवस्थाकै कारण पढाइ रोकिने हो की भन्ने चिन्ता लाग्ने गरेको प्रधानाध्यापक साहले बताए ।

मुगु जिल्लाका शिक्षा, विकास तथा समन्वय इकाइ प्रमुख सूर्यबहादुर खत्री भन्छन्,‘तामाङ उत्कृष्ट नतिजाका साथ अब्बल विद्यार्थीको दर्जामा पर्न सफल भइन् ।’ उनी थप्छन्, ‘उनको पढाइलाई निरन्तरता दिन सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ । 

शैक्षिक सत्र २०७५ मा प्रधानमन्त्री ओलीले यी तिनै बालबालिकाको अभिभावकत्व ग्रहण गरेका थिए । तिनै जनाका विद्यालय परिवार तथा अभिभावक यिनीहरूको माथिल्लो तहको पढाईका लागि भने चिन्तित देखिएका छन् ।

इकाई प्रमुख खत्रीका अनुसार मुगुमा प्रधानमन्त्री ओली र उनको पत्नी राधिका शाक्यले २ जना बालबालिका र शिक्षामन्त्रीले ३ जनाको अभिभावकत्व लिएका थिए । ती पाँचै जना मध्ये चार जना बालबालिकाहरू बुद्ध माविमा अध्ययनरत छन् । उनीहरू विद्यालयका राम्रा विद्यार्थीमा गनिन्छन् । तर सबैका लागि विद्यालय र अभिभावकको एउटै चिन्ता छ । माथिल्लो तहको पढाइको जोहो कसरी गर्ने । जिम्मेवारी लिएका केही अभिभावकले  ढिलै भएपनि केही आर्थिक सहायता गरे पनि सबैलाई कसरी माथिल्लो तहमा पुर्याउने भन्ने स्पष्ट नहुँदा समस्या भएको प्रमुख खत्री बताउँछन् । ‘सरकारी तवरबाट यिनीहरूको व्यवस्थापन गर्नु पर्छ ।’ प्रमुख खत्री भन्छन्, ‘थिन्ले मात्र होइन अरु पनि बालबालिका अब्बल छन् यिनीहरूको शिक्षा पाउने अधिकार सुनिस्चित गर्न अन्य क्षेत्रको खर्च कटौति गरेर भए पनि रकम व्यवस्थापन गर्नुपर्छ ।’ 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक नरहरि अर्याल २०६१ सालबाट सुरु गरिएको विद्यार्थी भर्ना अभियानले आधारभूतहतमा खुद भर्नादर राष्ट्रिय औषतमा ९२.३ प्रतिशत पुर्याएको दावी गर्छन् । उनले सबै बालबालिकाहरलाई आधारभूतहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गर्नुपर्छ भन्नेमा सरकार प्रतिबद्ध रहेको औल्याउँदै विद्यालय शिक्षाको पहुँच बाहिर रहेका ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गरेपछि टिकाउने रचनात्मक कार्यक्रमको थालनी हुनु पर्ने बताए । 

A Levels MA
Thuprai - Books and E-books