रु एक लाखको अक्षय कोष स्थापना

पोखरा महानगरपालिका–१३ ढाँडबेंसीस्थित आर्वा विजय माध्यमिक विद्यालयमा पत्रकार शिरोमणि बरालले एक लाख एक हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष बरालले विद्यालयमा अध्ययनरत जेहेन्दार एवं आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न उक्त अक्षयकोष स्थापना गर्नुभएको हो । उक्त विद्यालयका संस्थापक अध्यक्ष रहनुभएका पिता स्व सूर्यनाथ र माता स्व तीलकुमारीको स्मृतिमा बरालले विद्यालयको ३६औँं वार्षिकोत्सवको अवसर पारी उक्त अक्षयकोष रकमको घोषणा गर्नुभयो ।

सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले गुणस्तरीय र प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य श्रीनाथ बरालले शिक्षा र स्वास्थ्यमा सरकारले लगानी वृद्धिगरी गरीबीको रेखामुनी रहेका परिवारका बालबालिकाको उचित शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न जरुरी भएको बताउनुभयो ।

पोखरा महानगरपालिका–१३ का वडा सदस्य टङ्कप्रसाद भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर बराल, अक्षयकोषदाता शिरोमणि बराललगायतले गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक शिवराज पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उक्त अवसरमा विद्यालयमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

Thuprai - Books and E-books