मध्यपश्चिम विश्वविद्यालयद्वारा भाषा तथा सीप विकास केन्द्र स्थापना

मध्यपश्चिम विश्वविद्यालयले विश्वव्यापी भाषा तथा व्यावसायिक सीप विकास केन्द्र स्थापना गरेको छ । विश्वविद्यालयले विभिन्न भाषाको अध्ययन र व्यावसायिक सीप सिकाउने उद्देश्यले केन्द्रको स्थापना गरेको हो ।

संयुक्त राष्ट्र सङ्घका प्रमुख छ भाषा, विश्वमा सबैभन्दा बढी माग भएका र सभ्यतासँग जोडिएका भाषा सिकाउने उद्देश्यले केन्द्रको स्थापना भएको विश्वविद्यालयले जनाएको छ ।

केन्द्रका कार्यकारी निर्देशक उपप्राध्यापक चित्रबहादुर केसीले संयुक्त राष्ट्र सङ्घका भाषाका अतिरिक्त जर्मन, जापनिज, कोरियन र विश्व सभ्यतासँग जोडिएका ल्याटिन, ग्रिक, संस्कृतलगायतका भाषाको अध्ययन गराइने जानकारी दिए ।

विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले आज वीरेन्द्रनगर नगरपालिका–८ खजुरामा स्थापना गरिएको केन्द्रको विधिवत् उद्घाटन गरेका थिए  ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपकूलपति सिंहले विश्वविद्यालयले नियमित प्राज्ञिक गतिविधिका अतिरिक्त विश्वस्तरका भाषा र सीप सिकाउन जोड दिए । “विश्वका जुनसुकै ठाउँमा गएर पनि टिक्न सक्ने विद्यार्थी उत्पादन गर्ने लक्ष्यअनुसार केन्द्र स्थापना गरेका हौँ”,उनले भने, “भाषा सिकाउने मात्र नभई ती भाषा बोलिने मुलुकमा पुग्ने विद्यार्थीलाई सीपमूलक व्यावसायिक पाठ्यक्रम तयार गरी रोजगारीमा जोडिनेछ ।”

तत्कालका लागि कोरियन भाषा सञ्चालन हुनेछ । कार्यकारी निर्देशक केसीका अनुसार कोरियन भाषा सञ्चालनका लागि बुधबारदेखि निवेदन माग गरिने र चैत १६ गतेदेखि कोरियन भाषाको कक्षा सञ्चालन हुनेछ

Degrees offered in nepal
Counseling
Bachelors Portal