After SEE Portal

सामुदायिक विद्यालयमा प्रवेश परीक्षा लिएर विद्यार्थी छानिँदै

Bridge Course

काठमाडौँ, ४ वैशाख (रासस) ः सामुदायिक विद्यालयको गुणस्तर सुध्रिएपछि विद्यार्थी भर्नाकै लागि प्रवेश परीक्षा लिने तयारी शुरु भएको छ । 

गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्ण माध्यमिक विद्यालयमा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न आउने अभिभावकको चाप बढेपछि प्रवेश परीक्षा लिने तयारी शुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदास श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालयमा शैक्षिक सत्र २०७५ मा ५५५ जना विद्यार्थी अध्ययनरत थिए । यसवर्ष शुरुमै विद्यार्थीको चाप बढी कक्षा कोठा अभाव हुने भएपछि जस्ताको टहरासमेत हाल्ने तयारी भएको छ । 

जस्ताको टहराले पनि विद्यार्थीको क्षमता धान्न नसक्ने देखिएकाले प्रवेश परीक्षा लिएर छानिएका विद्यार्थी मात्र भर्ना गरिने भएको छ । विद्यालयले न्यूनतम् भर्ना शुल्कमा गुणस्तरीय शिक्षा दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो ।

विद्यालयका प्रधानाध्यापक उमेश बगाले अङ्ग्रेजी माध्यममा गुणस्तरीय शिक्षा दिन थालेपछि वरपरका संस्थागत विद्यालयमा छोराछोरी पढाइरहेका अभिभावक पनि सामुदायिक विद्यालयमा तानिएको बताउनुहुन्छ । 

विद्यालयले गत वर्षदेखि व्यवस्थापन सङ्कायमा कक्षा ११ पनि शुरु गरेको छ । हाल यहाँ अध्ययनरत विद्यार्थी अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल छन् ।

गत फागुनमा गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका धेरै विधामा गोकर्ण माध्यमिक विद्यालयका विद्यार्थीले पहिलो स्थान हासिल गरेका थिए ।

विद्यालयमा विसं २०६३ देखि अङ्ग्रेजी माध्यममा अध्यापन शुरु भएको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठ आफू विद्यालय तहमा अध्ययन गर्दा विसं २०२० मा राम्रो पढाइ हुने विद्यालयको खोजीमा गोकर्णबाट पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालय धाउनु परेको पीडाले सामुदायिक विद्यालयलाई सुधार गर्ने अभियानमा लागेको सुनाउनुहुन्छ ।

विद्यालय भवनमा हाल व्यवस्थापनमा स्नातक तहको कक्षा पनि सञ्चालन भइरहेको छ । यसै वर्षदेखि अरु सङ्कायका कक्षा पनि शुरु गरिने तयारी भइरहेको जनाइएको छ 

A Levels MA