After SEE Portal

विद्यार्थी प्रोत्साहन गर्दै कटहरी

Bridge Course

भर्ना नहुने, भए पनि अनियमित हुने, पढाइ छाड्ने समस्या बढी भएपछि गाउँपालिकाले विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री दिन थालेको छ ।  

आधारभूत तहमा विद्यार्थी भर्ना बढाउन मोरङको कटहरी गाउँपालिकाले प्रोत्साहन कार्यक्रम ल्याएको छ । भर्ना नहुने, भए पनि अनियमित हुने, पढाइ छाड्ने समस्या बढी भएपछि गाउँपालिकाले विद्यार्थी प्रोत्साहन कार्यक्रम अघि सारेको हो । कटहरीमा विपन्न समुदायको बसोबास बढी छ । छोराछोरीलाई विद्यालय पठाउनुपर्छ भन्ने चेतना अधिकांश अभिभावकमा छ ।

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम अनिवार्य गरिएको छ । अंग्रेजी माध्यममा पठनपाठन हुन थालेपछि निजी विद्यालय जाने गरेका बालबालिका पनि सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् । प्रोत्साहन कार्यक्रमले विद्यार्थी नियमित हुन थालेका छन् ।

कटहरीमा १९ वटा सामुदायिक विद्यालय छन् । गाउँपालिकाले प्रोत्साहन कार्यक्रमअन्तर्गत बाल कक्षादेखि २ कक्षासम्मका विद्यार्थीका लागि पोसाक र एक वर्षसम्म पुग्ने शैक्षिक सामग्री उपलब्ध गराउँछ । ‘पोसाक र शैक्षिक सामग्री खरिद गर्न नसकेकै कारण धेरै अभिभावकले बालबालिका विद्यालय पठाउँदैनथे,’ कटहरी ६ को प्रजातन्त्र माविका प्रधानाध्यापक ओम विष्टले भने, ‘गाउँपालिकाले पोसाक, शैक्षिक सामग्री र अंग्रेजी माध्यमका पाठ्यपुस्तक उपलब्ध गराएपछि विद्यार्थी नियमित छन् ।

विद्यार्थी संख्या पनि बढेको छ ।’ गाउँपालिकाले अंग्रेजी माध्यमका शिक्षकहरूलाई तालिम पनि दिने गरेको छ । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम सुरु भएपछि टोलमा खुलेका निजी विद्यालयमा बालबालिका जान छाडेको प्रधानाध्यापक विष्टको भनाइ छ । कटहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा विद्यार्थीको पोसाकका लागि २२ लाख रुपैयाँ छुट्याएको छ ।

करिब २ हजार विद्यार्थीका लागि रकम छुट्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीले बताए । चालु शैक्षिक सत्रमा बालकक्षादेखि २ सम्म करिब २ हजार विद्यार्थी भएकाले सोहीअनुसार बजेट छुट्याइएको उनको भनाइ छ । कार्कीका अनुसार सर्ट पाइन्ट खरिदका लागि विद्यालयलाई रकम दिइने गरिएको छ । 

गाउँपालिकाले झोलाका लागि ८ लाख, कापी खरिदमा ९ लाख, पेन्सिललाई २ लाख २५ हजार, इरेजरका लागि ५६ हजार २ सय ५० र अंग्रेजी माध्यमको पाठ्यपुस्तक खरिद गर्न  ८ लाख ८० हजार रुपैयाँ छुट्याएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले जानकारी दिए । उनका अनुसार खेल सामग्रीका लागि १२ लाख ५० हजार विनियोजन गरिएको छ । उनले भने, ‘गाउँपालिकाले गत वर्ष कक्षा १ सम्म मात्रै प्रोत्साहनको कार्यक्रम गरेको थियो, चालु आवमा कक्षा बढाइएको छ ।’ प्रोत्साहन कार्यक्रमको प्रभावकारिता हेरर बर्सेनि कक्षा थप गर्दै लैजाने गाउँपालिकाको योजना रहेको प्रशासकीय अधिकृत कार्कीले बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा गाउँपालिका लागेको उनले बताए । 

धेरै सामुदायिक विद्यालय एक–अर्कामा गाभ्नुपर्ने अवस्था आएपछि प्रोत्साहन कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले बताए । ‘प्रोत्साहन कार्यक्रम सुरु गरेपछि विद्यार्थी बढ्न थालेका छन्,’ उनले भने, ‘अहिले निजी विद्यालय जाने क्रम धेरै घटेको छ ।’ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण थालेपछि विद्यालयको अनुगमन पनि नियमित गर्ने गरिएको अध्यक्ष कामतले बताए । उनले भने, ‘सामुदायिक विद्यालयका शिक्षकले जागिर मात्रै खाने होइन कि आफ्नो कर्तव्य सम्झेर व्यवहारमा लागू गर्नुपर्छ ।’ 

गाउँपालिकाले चालु आर्थिक वर्षका ३४ करोड ६५ लाख १५ हजारको बजेट ल्याएको छ । विनियोजित बजेटमध्ये शिक्षामा १ करोड ३० लाख छुट्याएको छ । 

A Levels MA
Thuprai - Books and E-books