After SEE Portal

अण्डा र तरकारीको पैसाले शिक्षिकलाई पारिश्रमिक

Bridge Course

श्रीमानबाट पैसा लुकाएर, अंण्डा बेचेर बचत गरेको पैसा र तरकारी बेचेर आएको पैसा शिक्षिकालाई दिने गरेका छौँ । यो सबै महिलाको निर्णय हो ।

हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ७ रोडिकोट पानीमूल गाउँका महिलाले आफ्नो पढाइ खर्च अण्डा र तरकारी बिक्रि गरेर जुटाउँदै आएका छन् । निरक्षर २५ जनाको समूहले आफ्नै करेसाबारी र घरमा पालेका कुखुराको अण्डा बिक्रि गरी आफ्नो शिक्षकलाई पारिश्रमिकको व्यवस्था गर्दै आएका हुन् ।

महिलाको समूहले साक्षरता कक्षाका लागि आफैंले आर्जन गरेको पैसाले शिक्षकको पारिश्रमिक दिँदै आएका छन् । सो समूहका महिलाले शिक्षक पनि आफैं व्यवस्थापन गरेका छन् ।

गत साउन २ गतेदेखि सञ्चालन भएको साक्षरता कक्षामा सहभागी महिलाहरुले अहिले कहिँ कतै आफ्नो हस्ताक्षर गर्नु पर्यो भने ल्याप्चे होइन लेखेर नै हस्ताक्षर गर्ने भइसकेको सहभागी महिलाहरु बताउँछन् ।

सो साक्षरता कक्षामा सहभागी देवीसरा जैसीले सबैतिर विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था साक्षर कक्षा सञ्चालन गरेको देखेपछि आफूहरुले समूह बनाएर लपढ्न थालेको बताइन् । ‘हामीहरुले बाल्यकालमा विभिन्न कारणले पढ्न पाएनौं, कसैको घरको आर्थिक अवस्था कमजोर थियो त कसैको घरमा छोरीलाई पढाउनु हुन्न भन्ने भावना व्याप्त थियो, मनमा पढ्ने उच्च इच्छा शक्ति हुँदा हुँदै पढ्न पाइएन ।’ उनले भनिन्, ‘पढ्नका लागि अरुको मुख ताक्नुभन्दा आपैले योजना बनायौं र गाउँकै एक बहिनीलाई शिक्षक बनाइ पढ्न सुरु गर्यौं, अहिले हामी सबै सग्ला अक्षर चिन्न र लेख्न सक्ने भएको छौं ।’

सो समूहका महिलाहरु अहिले बिहान, बेलुकी समय मिलाएर पढ्ने गरेका छन् । ‘नाम लेख्न, पढ्न र सामान्य हिसाब गर्न सक्ने भएको अर्का सहभागी देउरुपा जैसी बताउछिन् । उनी भन्छिन्, ‘श्रीमानबाट पैसा लुकाएर, अंण्डा बेचेर बचत गरेको पैसा र तरकारी बेचेर आएको पैसा शिक्षिकालाई दिने गरेका छौँ । यो सबै महिलाको निर्णय हो ।’

सभा, भेलामा अगाडि जाँदा पनि अनपढ भनी हेलाँ गरेपछि पढ्ने निधो गरेको उनीहरुको भनाइ छ । उनले थपिन्, ‘आमाबुबा शिक्षित भएको भए हामीलाई पनि पढाउँथे होला, नभएकाले आज दुःख भोगेका छौं ।’

महिलाहरुले प्रतिसदस्य पहिलो महिना रु २५ र अहिले रु ५० उठाएर शिक्षकलाई पारिश्रमिक दिने गरेका छन् । आगामी दिनमा गाउँँका अन्य महिलालाई पनि समेट्ने र गाउँ नै साक्षर बनाउने उनीहरुको लक्ष्य छ ।

कक्षा सञ्चालनको जानकारीपछि अहिले गाउँपालिका र सामाजिक संघसंस्थाले केही सहयोग गर्ने आश्वासन दिएको समूहले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books