CMAT

यज्ञराज ढुङ्गेलको ‘हेड सर’मा शैक्षिक सन्देश

यज्ञराज ढुङ्गेल म दोलखा जिल्लाको जिल्ला शिक्षा अधिकारी रहँदा निकै सुनेको नाम । हनुमन्तेश्वर माध्यमिक विद्यालयको शैक्षिक विकासका उहाँको महत्वपूर्ण र नेतृत्वदायी योगदान रहेको चर्चा सुनेको थिएँ । मैले सो विद्यालयको प्रत्यक्ष अवलोकन गर्ने समय दुइ तीन पटक  नै निकालेको थिएँ । विद्यालयको शैक्षिकस्तर जिल्लामात्र नभई छिमेकी जिल्लाहरूमा पनि चर्चायोग्य बनेको थियो । त्यस समयमा यज्ञराज ढुङ्गेलसँग भेट भएको सम्झना छैन । तर जिल्लामा प्रधानाध्यापक समूहबाट एकीकृत परीक्षा समितिको अभ्याससँगै शिक्षकहरू बीचमा मात्र शिक्षक सहकारीको व्यवस्था पनि रहेको र यसका गतिविधिह हुने गरेको जानकारी पाएको थिएँ । मैले जिल्लामा रहँदा एकीकृत परीक्षा समितिको अभ्यास कहिलेबाट प्रारम्भ भएछ भनी खोजी गर्दा त्यको थालनीको श्रेय पनि तत्कालीन प्रधानाध्यापक यज्ञराज ढुङ्गेलको नाम जोडिएको थियो । यद्यपि विद्यालयमा आधारित परीक्षामा एकीकृत परीक्षा पद्धतिप्रति भने मेरो असहमति कायमै छ ।

उल्लिखित सन्दर्भको पृष्ठभूमि रहेको मलाई यज्ञराज ढुङ्गेल सरको हेडसर (शिक्षा र सहकारीका एक प्रतिनिधि पात्रको अनुभव) कृति मित्र विनोद ढुङ्गेलजी मार्फत हात लागे पछि अध्ययन गर्ने अवसर प्राप्त भयो ।

२०७७ भदौमा घोष्ट राइटिङ नेपालबाट प्रकाशन गरिएको यस कृतिको अध्ययन गर्दा सफलताका लागि गर्न सकिने सङ्घर्षका विविध पक्ष उजागर भएको पाइयो । शिक्षाको जागरणमा योगदान गर्ने अभिलाषासहित राजधानीमा उपलब्ध निक्कै आकर्षक जागिर र अन्य अवसरहरूलाई त्यागेर गाउँमा फर्किएका ढुङ्गेल सरको त्यागलाई आदर्शवादी, सामाजिक, जोखिमयुक्त र हठी निर्णयका रूपमा लिन सकिन्छ ।  गाउँमै संघर्ष गर्ने र आफ्नै थातथलोको उत्थानमा इमान्दारीपूर्वक दु:ख सहन गर्ने उहाँको जस्तै सोच सबै नेपालीमा आउने हो भने भूस्वर्ग नेपाल विश्वका प्रतिष्ठित मुलुकको सूचीमा पर्न समय नलाग्ने रहेछ भन्ने लाग्दछ । नयाँपुस्ताले अग्रजका अनुभवबाट सिक्ने परिपाटी विकास गर्न आवश्यक छ । उहाँको जीवनलाई मूलत: शिक्षाकर्मी, सहकारीकर्मी र राजनीतिकर्मी गरी तीन पक्षबाट हेर्न सकिन्छ । यहाँ उहाँको शैक्षिक पक्षका विषयहरू मात्र उल्लेख गर्न खोजिएको छ ।

विर्ता पाएको स्थान पकरवास (रामेछाप) छोडेर काव्रे (दोलखा) पुगेको ढुङ्गेल परिवारको नालीवेली, आफ्नो बाल्यकाल, व्यक्तित्व निर्माणका लागि काठमाडौमा भान्से बसेर पढेको, पसलमा र ट्रलीबसमा काम गरेको, लोक सेवा आयोगबाट विद्युत कर्पोरेसनको क्लर्क हुँदै अन्तमा राष्ट् बैँकको सहायक पदमा जागिर प्राप्तिसँगै वाणिज्य विषयमा स्नातक पूरा गर्दासम्मका संघर्षमय जीवनकथा गाउँबाट दु:खका साथ हुर्किएका हामीजस्ता पुस्ताका आपनै कथा झैँ लाग्ने सन्दर्भ रहेका छन् । बाल्यकालमा अग्रजबाट हुने पिटाइ र दण्डमूलक अभ्यासबाट हामी धेरै पीडित हुँदै आएका छौँ नै ।

आफना दाजु चन्द्रराजले एम.ए. पास गरेपछि नाम्दुमा वैतेश्वर हाइस्कुलको थालनी गरेको र राजनीतिक कारणबाट त्यहाँ छोड्नु पर्ने अवस्था आएपछि यज्ञ सरले राष्ट् बैँकको लोभलाग्दो जागिर छाडेर गाउँ फर्किन गरेकै निर्णय व्यक्तिका लागि आत्मघाती जस्तो तर समाजका लागि क्रान्तिकारी देखिन्छ ।

विद्यालयमा तलबको ठेगान नभई प्रवेश र विस्तारै स्थायी प्रधानाध्यापक तथा दोलखा जिल्लाकै पहिलो माध्यमिक तह प्रथम श्रेणीको प्रधानाध्यापक भएको सफलता भने लोभ लाग्दो छ । यस बीचमा नाम्दुको वैतेश्वर मावि र काव्रेको हनुमन्तेश्वर माविको सुधार, हनुमन्तेश्वर माविसँगै क्याम्पस स्थापना, दलित वस्तीमै विद्यालयको प्राथमिक तह स्थानान्तरण तथा तल्ला कक्षाको शैक्षिकस्तर वृध्दिका लागि प्राथमिक तहसम्मका लागि निजी लगानीको विद्यालय नै स्थापना जस्ता शैक्षिक अभियानको श्रेय उहाँको जीवनमा शैक्षिक उपलब्धिका कोशेढुङ्गा रहेका छन् । यससँगै सामाजिक र सामुहिक जीवनका रूपमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन स्थापना, जिल्ला अध्यक्ष र केन्द्रीय प्रतिनिधिको जिम्मेवारीवहन, जिल्लाभर संयुक्त परीक्षा सञ्चालनको थालनी र नेतृत्व तथा शिक्षकहरू बीचमा मात्र शिक्षक सहकारीको स्थापना उहाँका सम्झनयोग्य कर्म रहेका देखिन्छन् ।

यज्ञराज सरका शिक्षा क्षेत्रका व्यक्तिगत तथा सामूहिक संघर्ष र अनुभूति अहिले पनि प्रेरणादायी र सान्दर्भिक रहेका छन् । पुस्तकमा राष्ट्र बैँकको जागिर त्याग्ने क्रममा 'मैले आफ्नो परिवार र समाजलाई भुल्न सकिन‘ स्कुलको सञ्चालनका लागि ‘काँधमा बोरा बोकेर प्रत्येक घर घर धान उठाउन गयौँ‘ ‘भूईँमा ढलान गर्न गिट्टीको व्यवस्था गर्न प्रत्येक दिन स्कुल आउँदा विद्यार्थी र शिक्षकले एकएक वटा ढुङ्गा लिएर आउने नियम बनायौँ‘ तत्कालीन जिशिअ जनार्दन नेपालको ‘   कि शिक्षण पेशा छोड्नु कि त स्थायी भएर बस्नु‘ भन्ने आग्रहपछि मात्र स्थायी बन्न स्वीकार तथा ‘कुनै तालिम नपाएका दुई तीन हजारमात्र तलब पाउने शिक्षकले पढाएका विद्यार्थीले हाइस्कुलमा पढेका विद्यार्थीलाई उछिनेर उत्कृष्ट नतिजा ल्याउन सफल हुने तर सरकारी तलब सुविधा र तालिम पाएका शिक्षकले पढाएका विद्यार्थी भने कक्षा उकाल्न पनि हम्मेहम्मे पर्ने, यसको उत्तर  मैले  पाउन सकेको छैन‘ जस्ता मननीय सन्दर्भ रहेका छन्।

लेखकले आफ्नो इच्छाअनुसार चल्न नपाउँदा वैतेश्वर माविको प्रधानाध्यापक पदबाट सहजै राजिनामा दिनु भएको छ । तत्कालीन सशस्त्र द्वन्द्वको छिटामा हेलिदै उच्च शिक्षाको अवसर बढाउन सफल हुनु भएको छ । आफैँभित्र मौलाएको तास र सुर्तीको कुलतलाई चटक्कै छोडेर सही मार्ग चयन गर्नु भएको छ । वि. सं. २०५२ मा बनेको नेकपा एमालेको सरकारबाट द्वीतीय श्रेणीको प्रधानाध्यापक पदमा पुनरवहाली भएपछि २०५५ मा जिल्लाकै पहिलो माध्यमिक तह प्रथम श्रेणीको प्रधानाध्यापक बनेर वि. सं. २०५९ बाट ६ वर्ष समय बाँकि छँदै अरुका लागि स्थान खालि गर्नका लागि पनि राजिनामा दिएको सन्दर्भ रहेको छ । यो राजिनामा पछाडि आफ्नो स्नातकमात्र योग्यता रहेकोले माथिल्लो योग्यता भएका साथीलाई अवसर दिनुपर्ने अवस्था, माथिल्लो योग्यता भएका साथीबाट बढी योगदानको अपेक्षा, काठमाडौँमा रहेका परिवारको चाहना र सहकारी अभियानमा सहजकर्ता भई हिड्नु पर्ने अवस्थालाई कारण बताएर उहाँले धेरै तिर संलग्न रहेर समय दिन नसके पनि जवर्जस्त पदमा रहन मरिहत्ते गर्ने बहु जागिरे जो कसैलाई पनि गहकिलो सन्देश दिनु भएको छ ।

शिक्षाको अनुभव र अनुभूति उपशीर्षकमा उहाँका आत्माभिव्यक्ति रहेका छन् । शिक्षकलाई माझीसँग तुलना, आफ्ना विद्यार्थीहरू विभिन्न ओहोदामा पुगेको र भेट हुँदा आफ्नो कदर गर्दाको खुशी, शिक्षकलाई सूर्यसँग तुलना र शिक्षक आफू र विद्यार्थीमार्फत सबैतिर पुगेको विश्वास रहेको छ । यसैगरी सचेत, सभ्य र अनुशासित समाज निर्माण गर्न शिक्षकको महत्वलाई तरकारी स्वादिष्ट बनाउन नुन, भुटुन, पिरो र मसलाको संयोजनसँग तुलना, अरूको प्रगतिमा रमाउने पवित्र भावना शिक्षकमा मात्र पाइने, मैले पढाएको शिक्षा प्रणालीले काम गर्ने साना र पढेलेखेका ठुला भन्ने सिकाए झैँ लाग्दछ भन्ने अनुभूति वर्तमानको सटीक चित्रण र मननीय पनि छ ।

‘शिक्षकको मृत्युपछि चित्रगुप्तले पनि भ्रष्टाचारी र बदमास उत्पादन गरेको आरोपमा शिक्षाकलाई नरकतिर धकेली दिन्छ अरे । भ्रष्टाचारीहरूले बाँचुन्जेल त दु:ख दिएदिए मरेपछि पनि सुख दिने रहेनछन् । मेरा विद्यार्थी त्यस्ता नहुन् भनेर मैले जीवनभर प्रयास गरेँ‘ यो सन्देशभूलक भावना हरेक शिक्षक र अशल छात्रछात्रामा रहने हो भने हाम्रो समाजका हर क्षेत्रमा मा सदाचार, निष्ठा, सहकार्य र सामूहिक भावनाको उजागर हुनसक्दछ ।

जबसम्म शिक्षकलाई प्राज्ञिक बनाइँदैन र स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाइँदैन र दण्ड तथा पुरस्कारको उचित व्यववस्था हुँदैन तबसम्म सरकारी स्कुलका शिक्षाकको हालत कमजोर भइरहने उहाँको निश्कर्ष छ । पुस्तकले नयाँ शिक्षा योजनाको महत्वसहित शिक्षा विकासका तत्कालीन ग्रामीण अभ्यासको अभिलेखन तथा शिक्षकको खस्कँदो कीर्ति र अनुशासनहिन वातावरणप्रति चिन्ता समेत व्यक्त गरेको छ । यस्तो हुनुमा समाज र विद्यार्थीलाई पनि केही जिम्मेवार मान्न सकिएला तर शिक्षकहरूले नै आफ्नो स्थान ओगट्न नसकेर पनि यो अवस्था आएको हो भन्ने उच्च तहबाट सेवा निवृत्त एकजना प्रतिष्ठित हेडसरको आत्मस्वीकृत हामी सबैका लागि मननीय छ भन्ने लाग्दछ । हेडसर यज्ञराज ढुङ्गेलबाट नयाँ पुस्ताका लागि पस्कनु भएको यो पुस्तक पठनीय रहेको छ । अन्तमा शिक्षा क्षेत्रमा उहाँका सुकर्म, त्याग, अडान र निष्ठाप्रति सम्मान व्यक्त गर्दछु ।

(लेखक शिक्षा सेवाका उपसचिव हुन् )

 

 

 

I Tech store