माघ मसान्तसम्म शिक्षण संस्था नखुल्ने

कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रण गर्ने उद्देश्यले काठमाडौँका शिक्षण संस्थामा माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठनपाठन नहुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज आदेश जारी गरी विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने, नगराउने स्पष्ट पारेको छ । यो आदेश आज राती १२ बजेदेखि अर्काे सूचना नभएसम्मका लागि लागू गरिएको छ ।

शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधिमा सञ्चालन गर्ने आदेश दिँदै जिप्रकाले कोभिड–१९ विरुद्धको खोप लगाउन तोकिएको दिन विद्यार्थीलाई विद्यालय वा शैक्षिक संस्थामा बोलाउन सकिने स्पष्ट पारेको छ ।