After SEE Portal

शिक्षा प्रणाली बदल्नुपर्छ– पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ

Bridge Course

बागलुङ, २६ वैशाख (रासस) : पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले देशको शिक्षा प्रणाली बदल्नुपर्ने बताउनुभएको छ । बागलुङ नगरपालिका–३ स्थित विद्यामन्दिर माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बुधबार उहाँले जीवनपयोगी शिक्षामा जोड दिनुभयो ।

वैज्ञानिक, व्यावहारिक र सीपयुक्त शिक्षा दिन नसके सक्षम जनशक्ति तयार नहुने उहाँको धारणा छ । “मुलुकलाई गतिलो शिक्षा प्रणाली चाहिन्छ”, उहाँले भन्नुभयो, “अप्रगतिशील र हिजोकै थोत्रो पाठ्यक्रमले आजको समस्या समाधान हुँदैन ।”

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले बदलिँदो परिवेशअनुसार शिक्षा प्रणालीलाई सुधार गर्दै लैजानुपर्ने उल्लेख गर्नुभयो । “हामीले विद्यार्थीलाई जिज्ञासु, अन्वेषण गर्न सक्ने, आलोचनात्मक दृष्टिकोण भएको र समस्या समाधान गर्न सक्ने बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “ज्ञान, सीप, प्रवृत्ति र मूल्य, मान्यतामा ध्यान दिनुपर्छ ।”

नवीन सोच र चिन्तनविना पढाइको प्रमाणपत्रले मात्र कुनै योग्यता नराख्ने भन्दै उहाँले शिक्षालाई समाज, उत्पादन र जीवन पद्धतिसँग जोड्नुपर्ने उल्लेख गर्नुभयो । ज्ञानको पूर्णताको माध्यम शिक्षा भएको भन्दै सबैलाई शिक्षाको समान अवसर दिइनुपर्ने उहाँको भनाइ छ ।

“लगानीको सबभन्दा उपयुक्त क्षेत्र शिक्षा हो”, उहाँले भन्नुभयो, “शिक्षा समाजको वर्तमान र भविष्य हो ।” पूर्वप्रधानन्यायाधीश श्रेष्ठ विद्यामन्दिर माविको पूर्वविद्यार्थीसमेत हुनुहुन्छ । विसं २०७२ को भूकम्पले विद्यालय भवनमा क्षति पु¥याएपछि विसं २०७३ असारदेखि विद्यालयको पुनःनिर्माण शुरु गरिएको थियो ।

२६ कोठे नयाँ भवन विद्यालयका पूर्वविद्यार्थीलगायत दाताको सहयोगमा निर्माण भएको हो । रु चार करोड ३७ लाखको लागतमा भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताउनुभयो ।

भौतिकरूपमा विद्यालय सम्पन्न भएको भन्दै शैक्षिक गुणस्तर सुधारमा विद्यालय लागिपरेको विद्यालयका प्रधानध्यापक जगन्ननाथ आचार्यले बताउनुभयो । विसं १९९७ मा खुलेको विद्यालयमा अहिले एक हजार ३०० विद्यार्थी अध्ययनरत छन् ।

कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायको पढाइ हुन्छ । विद्यामन्दिरलाई नमूना विद्यालयको रूपमा विकास गर्ने विद्यालय व्यवस्थापनको योजना छ । नवनिर्मित भवनसँगै विद्यालयका भवन छ र कोठा सङ्ख्या ५२ पुगेका छन् । भवन निर्माणमा सहयोग गर्ने दातालाई विद्यालयले सम्मान गरेको थियो ।

A Levels MA