A Levels MA

सम्पादकीय : कोरोना र परीक्षा विधि

कोरोना कहरका कारण विश्व स्थिर छ । घरभित्र कोलाहल छ । घर बाहिर सुनसान छ । भय छ । आतङ्क छ । मानव जाति नै संकटमा छ । दैनिकी ठ्याक्कै परिवर्तन भएको छ । पाइला घर बाहिर निस्किन चाहदैन । मुखमा मास्क, हातमा पञ्जा र मिनेट मिनेटमा हात धोएर सेनिटाइजर लगाउनुपर्ने स्थितिमा पुगेका छौँ । चीनबाट सुरु भएको कोरोना भाइरसले विश्व परिक्रमा गर्ला भनेर कल्पना नगरिएकै विषय थियो । नेपालभित्र प्रवेश गर्ला भनेर पनि सोचिएको थिएन । अझै स्थिति  गम्भीर छ । कारण– स्वदेश भित्रिएकाहरुसँग भाइरस छ वा छैन भनेर भन्न सकिने अवस्था छैन । न परीक्षण छ, नत भाइरस साथमा ल्याउनेहरु संवेदनशील बनेका छन् ।

आज १६ औँ दिन भयो बन्दाबन्दी (लकडाउन) को जीवन जिउनु परेको । यो बन्दी जीवन अझै कतिञ्जेल लम्बिने हो भनी यसै भन्न सकिने अवस्था छैन । अन्योल छ । घरमा भएका खाद्यान्न सकिँदैछ । पहिलेका उब्जनीले हामीलाई जोगाइरहेको छ । नयाँ खेती सुरु भएकै छैन । खेतमा जान सक्ने अवस्था पनि छैन । स्थितिलाई कल्पना गर्दा नै भयाभह दृश्य आँखा सामु आइपुग्छ । अब जीवन सकियो कि भन्ने कल्पना गर्न थालिन्छ । ३० डिग्री सेल्सियस तापक्रममा विषाणु मर्छ भनियो तर तापक्रम त्योभन्दा माथि पुगिसकेको छ । जीवाणु जीवित छैन भनेर ठोकुवा गर्न सकिने अवस्था पनि छैन । दिनदिनै वैज्ञानिकहरुले भाइरस मार्ने औषधि पत्ता लगाएका समाचार अनलाइनहरुमा बेग्रल्ती देखिन्छ तर ती कुनै पनि भरपर्दा छैनन् । मर्नुभन्दा बहुलाउनु निको भने जस्तै यो बन्दी जीवन कहाँसम्म पुग्छ जिउँदै जाँउ भन्ने हो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण प्रवेशिका (एसईई) परीक्षा स्थगित भयो । कक्षा ११ र १२ को वार्षिक परीक्षा पनि स्थगित भयो । विश्वविद्यालयदेखि लोक सेवा आयोगका सबै परीक्षा स्थगित भए । शिक्षामा निकै ठूलो धक्का दिएको छ । पठनपाठन पूर्ण बन्द छ । चैत ५ गतेभित्र लिइएका परीक्षाको नतिजा सार्वजनिक गर्न बाँकी छ । नयाँ भर्ना पनि बाँकी छ । धेरै काम बाँकी छन् । शैक्षिक सत्रलाई नै असर पुर्‍याउनेछ भन्ने विश्लेषण गर्न नसकिने पनि होइन । आगामी वैशाख ३ गतेपछि जनजीवन सामान्य हुनेछ भन्ने अनुमान गर्ने हो भने पनि नयाँ शैक्षिक सत्रको पठनपाठन हुन कम्तीमा अर्को २० दिन लाग्नेछ । किनकी नतिजा सार्वजनिक गर्नेदेखि नयाँ भर्नाका कुरा पनि पूरा गर्नुपर्ने हुन्छ । भर्च्युअल कक्षा सञ्चालन गर्नेदेखि अनलाइनबाट पठनपाठन गर्ने भन्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको योजना हल्लामा मात्र सीमित बन्न पुगेको छ । सबैका हातमा सूचना प्रविधिको पहुँच पुगेको छैन । सबै शिक्षक सूचना प्रविधिको प्रयोग गरेर अध्यापनलाई निरन्तरता दिन सक्छन् भन्न सकिदैन । 

विद्यालय तहमा एसईई, कक्षा ११ र १२ को परीक्षा प्रमुख हुन् । समय छैन । तिनलाई कसरी छिटो र सरलरुपमा सम्पन्न गर्न सकिन्छ भन्ने अबको चासो र चिन्ताको विषय बन्नुपर्दछ । नियमअनुसार एसईई परीक्षाको सञ्चालन प्रादेशिक स्तरमा गर्नुपर्नेछ । तर विविध कारणले प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्मको कार्य केन्द्रीयस्तरबाट हुँदै आएको छ । प्रदेशलाई त उत्तरपुस्तिका छपाइ र परीक्षा सञ्चालनको मात्र जिम्मेवारी दिइएको छ । कोरोना कारण बन्न सक्ला छुट्टै कुरा तर अब यसलाई केन्द्रीय तहबाट बाहिर निकाल्नुपर्ने बारेमा निर्णय लिनुपर्ने देखिन्छ । महत्व घटेकाले तल जिम्मेवारी दिइनुपर्दछ भन्ने होइन, नियमको पालना गर्न जिम्मेवारी हस्तान्तरण गर्नुपर्दछ भन्ने हो । मुख्य कुरा विश्वासको हो । कक्षा ८ को परीक्षा स्थानीय तहले सञ्चालन गर्दै आएका छन् । त्यहाँ त विश्वास मानिएकै छ । स्थानीय तहले सञ्चालन गर्ने हैसियत राख्दछ भने प्रदेशले राख्न सक्दैन भन्ने हुँदै होइन । निगरानी र नियन्त्रण राष्ट्रिय परीक्षा बोर्डको हुनुपर्दछ । बद्माशी गर्नेलाई कानुनअनुरुप कारवाहीको व्यवस्था रहन्छ नै । यसपटक कम्तीमा एक महिना ढिला भइसक्ने भएकाले एसईई परीक्षा जिल्लास्तरमा सञ्चालन गरे हुन्छ भन्ने वहस पनि सुरु भएको छ । यस कुरालाई प्रयोग गर्न नसकिने होइन । विद्यालयले नै सञ्चालन गरे हुन्छ । प्रश्नपत्र प्रहरीको सुरक्षामा छ । लकडाउनको अवस्था सकिएपछि प्रश्नपत्र सम्बन्धित विद्यालयलाई जिम्मा दिन समस्या छैन । विश्वसनीयताको कुरा हो । प्रहरी सुरक्षामा परीक्षा सञ्चालन गर्ने बुद्धि त्याग्न सकिएमा एसईई वा कक्षा ११ र १२ को परीक्षा पनि अन्य तहको जस्तै स्वभाविक परीक्षा बन्न सक्नेछ । त्यसको सुनिश्चितता गर्न सकिन्छ । त्यसका लागि संयन्त्र बनाउन माथापच्चिसी गरिरहनुपर्दैन । नियमअनुसार त कक्षा ११ को परीक्षाको कुनै अर्थ छैन । किनकी एसईई परीक्षा प्रदेश तहमा र कक्षा १२ को परीक्षा केन्द्रीय तहमा सञ्चालन गर्ने व्यवस्था छ । कक्षा ११ को परीक्षा र कक्षा ९ को परीक्षाबीच तात्विक अन्तर छैन । विद्यार्थीलाई परीक्षाप्रति संवेदनशील बनाउन विद्यालय आफैले कक्षा ११ को परीक्षा सञ्चालन गरे पुग्छ बरु त्यसको निश्चित अङ्क कक्षा १२ मा जोडिने व्यवस्था गर्न ढिलाइ भयो कि भन्ने शिक्षा विश्लेषकहरुले धेरैअघि नै भन्दै आएका हुन् । माध्यमिक तहको परीक्षालाई हाउगुजी बनाइरहनुपर्दैन । कोरोना कारक बन्यो तर यो घटनाले परीक्षा प्रणालीमा सुधार गर्ने अवसर मिलेको छ । वहस त्यसतर्फ चलाउँदा अनर्थ पक्कै पनि नहोला ।

Thuprai - Books and E-books