CMAT

अन्तर्राष्ट्रिय शिक्षाबारे शैक्षिक मेला

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी जानकारी गराउने उद्देश्यले ‘१३ औँ शैक्षिक मेला’ आयोजना गर्ने भएको छ ।

सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विष्णुहरि पाण्डेले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई त्यहाँको शिक्षाबारे जानकारी गराउन मेला आयोजना गरिएको बताउनुभयो । “यहाँबाट विदेशमा पढ्न जाँदा धेरै विद्यार्थी कुन विषय कहाँ पढ्ने भनेर अलमलमा पर्ने गर्दछन्”, उहाँले भन्नुभयो, “त्यसैले विदेशको शिक्षाबारे यहीँ जानकारी गराउन मेला आयोजना गरिएको हो ।”

मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालय र त्यहाँबाट प्राप्त हुने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षाका बारेमा समेत जानकारी गराइनेछ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा यही असार २६ देखि २९ गतेसम्म सञ्चालन हुने मेलामा करीब चार सय शैक्षिक संस्थाका स्टल राखिनेछ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा उपत्यकाबाट आउने विद्यार्थीलाई लक्षित गरी निश्चित रुटमा निःशुल्क यातायातको व्यवस्थासमेत गरिएको सङ्घका अध्यक्ष पाण्डेले बताउनुभयो । मेलामा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनलगायत देशका विश्वविद्यालय तथा कलेजको समेत सहभागित हुनेछ ।

Thuprai - Books and E-books